राजनीति

सत्ता बचाउन जसपा फकाउँदै ओली

जसपा नेतासँग वार्ता गर्न नेम्वाङ नेतृत्वमा टोली

मधुसुधन भट्टराई |
फागुन २५, २०७७ मंगलबार १७:५५ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेपछि सत्ता टिकाउन जनता समाजवादी पार्टीसँग नजिकिने प्रयास गरेका छन् । ओलीले जनता समाजवादी पार्टीले उठाउँदै आएका मुद्दा सम्बोधन गर्न भन्दै छलफलका लागि नेताहरू खटाएका छन् ।

गत आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच प्रधानमन्त्री निवास बालुवाटारमा तत्कालीन राष्ट्रिय जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीको रिहाइ, जसपाले उठाएको नागरिकताको मुद्दा र जलेश्‍वर घटनाका सम्बन्धमा छलफल भएको थियो । दुई जनाबीचको छलफलले यी विषय टुंग्याउन दुवै पक्षका नेताहरूलाई जिम्मेवारी दिने सहमति बनेको थियो ।
 
प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलाई छलफलको जिम्मेवारी दिएका थिए । ठाकुरले पार्टीका नेताद्वय शर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएका थिए ।


दुवै पक्षका वार्ता टोलीबीच सोमबार यी विषय कसरी सल्टाउने भन्ने विषयमा छलफल भएको छ । जसपातर्फबाट वार्ता टोलीमा रहेका शुक्लले तीन विषयमा केन्द्रित रहेर सरकारी वार्ता टोलीसँग छलफल भएको स्वीकारे । ‘हामीलाई पार्टीले दिएको जिम्मेवारी अनुरुप पार्टीका सांसद रेशम चौधरीको रिहाइ, नागरिकताको मुद्दा र जलेश्वर घटनासम्बन्धमा छलफल भएको हो,’ शुक्लले इकागजसँग भने, ‘वार्ता सरकारात्मक भएको छ । फेरि छलफल गरेर टुंग्याउने कुरा छ । छलफलको मिति तय भएको छैन ।’

कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित चौधरीलाई ज्यान मुद्दामा अदालतले आजीवन कारावासको सजाय सुनाएको छ । २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा प्रहरी वरिष्ठ उपरिक्षक एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५, सशस्त्रका २ र १ बालकसहित ८ जनाको मृत्यु भएको घटनाका मुख्य योजनाकार चौधरी भएको आरोप छ । 

जसपाले २०४८ सालको मतदाना नामावलीमा नाम भएका व्यक्ति र उनीहरूका सबै सन्ततीलाई नागरिकता दिइनु पर्ने माग गर्दै आएको छ । त्यस्तै पछिल्लो समय भएको मधेश आन्दोदनमा प्रहरी जवान थम्मन बिकको हत्या भएको घटनामा पार्टीका नेता कार्यकर्तामाथि लगाइएको मुद्दा फिर्ताको माग राखेको छ । 

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले सत्तारुढ नेकपालाई अवैधानिक ठहर्‍याएपछि पूर्वएमालेका सांसदहरूले मात्रै आफू अल्पमतमा पर्ने भएपछि जसपासँग सत्ता सहकार्यका लागि प्रयास गरिरहेका छन् । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आफूसँग सकारात्मक नभएकाले ठाकुरसँग कुराकानी गरेका हुन् ।

नेता शुक्लले महिनामा चार पटक जति प्रधानमन्त्रीसँग अध्यक्ष ठाकुरको भेट हुने गरेको बताए । ‘प्रधानमन्त्रीज्यूले बेला बेलामा बोलाइरहनु हुन्छ । अध्यक्षज्यू जानुहुन्छ । अहिले हामीले उठाएका मुद्दा सम्बोधन गर्ने चासो देखाएको भएर हामीलाई जिम्मेवारी दिनुभएको हो ।’

सत्ता सहकार्यका विषयमा भने कुरा नभएको उनले बताए । ‘यस्तो अवस्थामा सत्ता सहकार्यको कुरा हुने कुरै भएन । हाम्रा मुद्दा समाधानका लागि मात्रै छलफल गरेका हौं ।’ तर, केही नेताहरूले भने ओलीले जसपा फुटाएर भए पनि आफ्नो सत्ता टिकाउने प्रयासमा लागेको बताएका छन् ।
 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x