राजनीति

कांग्रेस केन्द्रीय समिति

यस्ता छन् मुख्य तीन एजेण्डा

मधुसुधन भट्टराई |
माघ ५, २०७७ सोमबार १७:१० बजे

काठमाडौं : नेपाली कांग्रेसको मंगलबार सुरु हुने केन्द्रीय समिति संगठन समायोजनमा देखिएको विवादबारे छलफल हुने भएको छ । पार्टीको निर्वाचन समितिले बारा, सिन्धुपाल्चोक र सप्तरीको संगठन समायोजनमा विवाद देखिएपछि केही दिन अघि केन्द्रीय कार्यसमितिमा फिर्ता पठाएको थियो । 

फिर्ता पठाइएका तीन जिल्लाका कागजात, केही समयअघि राप्रपाबाट कांग्रेस प्रवेश गरेको सुनिल थापा नेतृत्वको समूह, अखण्ड नेपाल पार्टी र नेकपाबाट प्रवेश गरेकालाई कसरी संगठनमा समायोजन गर्ने भन्‍नेबारेमा बैठकमा छलफल गर्ने तय भएको केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेसले अन्य पार्टीबाट आएकाहरूलाई पार्टी संगठनमा कसरी समायोजन गर्ने भन्‍नेबारेमा उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको छ । समितिका तर्फबाट संयोजक निधिले प्रस्ताव केन्द्रीय समितिमा पेस गर्ने तयारी छ । 


बैठकमा पार्टीको १४ औं महाधिवेशनबारे पनि छलफल गर्ने एजेण्डा छ । आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने मिति निर्धारण गर्दै कार्यतालिका सार्वजनिक गरेको थियो । तर, कोभिड-१९ महामारीका कारण कार्यतालिका अनुरुप काम हुन सकेको छैन । केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले महाधिवेशनको विषयमा छलफल हुने बताए । ‘प्रतिनिधि सभा विघटनविरुध्द कसरी अगाडि बढ्ने र महाधिवेशन तयारी बैठकका मुख्य एजेण्डा हुन्छन्,’ डा. रिजालले भने ।
 
बैठकमा ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनबारे छलफल हुनेछ । पुस ७ गतेबाट सुरु केन्द्रीय समिति बैठकले विघटन लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल भएको निर्णय गरिसकेको छ । 

विघटन असंवैधानिक भने पनि पुनर्स्थापना हुनुपर्छ भनेको छैन । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले मंगलबारको बैठकले प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्छ भन्‍ने विषयमा छलफल हुने बताए । ‘सरकारको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनेपछि अबको केन्द्रीय समितिबाट पुनर्स्थापना हुनुपर्छ भन्‍ने निर्णय गर्नुपर्छ,’ डा. कोइरालाले भने । 

७ पुसमा सुरु भएको बैठकमा प्रतिनिधि सभा विघटनको विषयमा अहिलेसम्म नेता रामचन्द्र पौडेल, उपसभापति निधि पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला तथा केन्द्रीय सदस्यहरू महेश आचार्य, डा.नारायण खड्का, एनपी साउद, डा.रामशरण महत, आनन्द ढुंगाना, बलबहादुर केसी, गगन थापा, अर्जुननरसिंह केसी, ज्ञानेन्द्रबहादुर कार्की, डा. रिजाल, शंकर भण्डारी, देवेन्द्रराज कँडेल, रमेश लेखक, सरिता प्रसाई, र कल्पना चौधरी धारणा राखेका छन् । 

अझै तीन दर्जनबढी केन्द्रीय सदस्यले बोल्न नाम टिपाएकाले धेरै दिन चल्ने केन्द्रीय कार्यालयले जनाएको छ ।  उपसभापति निधिले माघ ६ गते बस्‍ने बैठकमा दोस्रो चरणमा जारी आन्दोलनको समिक्षा र मुलुकको राजनीतिक अवस्थाबारे बैठकमा छलफल हुने बताए । 

अहिलेसम्म जारी केन्द्रीय समिति ५ दिन बैठक बस्यो । २७ पुसमा तय भएको बैठक २४ पुसमा विज्ञप्ति जारी गरेर मंगलबारका लागि सारिएको थियो । 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x