राजनीति

‘कम्युनिस्ट’ नेता त बोल्दैनन्, गीतले पनि बोलेन सर्वहाराको व्यथा

अनिष भट्टराई |
मंसिर १०, २०७८ शुक्रबार २०:५६ बजे

चितवन – नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा १० नेताहरूले सम्बोधन गरे । कार्यक्रमको सुरुआतमा एमाले सचिव प्रदीप ज्ञवालीले आफ्ना कुरा राखेपछि कार्यक्रम सञ्चालन गरे । उद्घाटनमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा अध्यक्ष केपी ओली, प्रदीप ज्ञवाली, रामबहादुर थापा, कमल थापा, महन्थ ठाकुर, उपेन्द्र यादव, लीलामणि पोखरेल, चित्रबहादुर केसी, पार्वती रावलले सम्बोधन गरे । कार्यक्रममा कुनै नेताले पनि गरिब जनताका कुरा गरेनन् । आआफ्नै ‘सेन्टिमेन्ट’ सुनाए । मञ्चअघि बसेका जनताको जीविका दैनिक सुध्रिँदै गएको टिप्पणीका साथ ‘सेफ ल्यान्डिङ’ गरे ।

अरू त अरू कम्युनिस्ट नेताहरूले नै वर्गीय उत्पीडनमा परेकाको चर्चा गरेनन् । पिछडिएका समुदायको बखान गरिएन । बरू उल्टै सबै नेताहरू विकासको नाममा जस लिने र विपक्षीको आलोचनामा खर्च गरे । सम्बोधनका क्रममा पूर्वमाओवादी नेता रामबहादुर थापाले नेपाली राजनीति दुई ध्रूवमा बाँडिएको बताए । अग्रगमन र समाजवाद पक्षधर एकतर्फ हुँदा पश्चगमन, दक्षिणपन्थी अवसरवादका दलालहरू भएको बताए । अदालतको जनादेशबाट बनेको सरकारले देशलाई अस्थिरतातर्फ धकेलेको उनको आरोप थियो । एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको आलोचना गरे । माधव नेपालले अब एमाले गैंडाझैं लोप हुने भन्दै दिएको टिप्पणीमा ज्ञवालीले महाधिवेशन मञ्चबाट जवाफ फर्काए ।


‘नारायणी नदी अविरल बगेझैं एमाले पनि अविरल बगिरहन्छ । जति आलोचना गर्नुहुन्छ, एमाले उति नै बलियो हुन्छ,’ ज्ञवालीले भने । पुष्पकमल दाहालको दूत बनेर महाधिवेशन आएका माओवादी नेता लीलामणि पोखरेलले माक्र्सवादी सिद्धान्त अनुसार द्वन्द्व, एकता, द्वन्द्व, एकतापछि रूपान्तरण भएझैं नेपाली कम्युनिस्ट आन्दोलन पनि द्वन्द्व, एकता र रूपान्तरणबाट गुज्रिएको बताए । उनले सामाजिक न्याय, लोकतन्त्रको सुदृढीकरण आवश्यक रहेको पनि बताए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाली कम्युनिस्ट आन्दोलनमा वैदेशिक हस्तक्षेप भएको र अन्तरकलहले हस्तक्षेप निम्त्याएको बताए । विश्वमै कम्युनिस्ट आन्दोलन ओझेलमा परेका बेला कम्युनिस्ट पार्टीहरूबीच लगातार आरोपप्रत्यारोप भइरहेको र राम्रो कामको जश लिने होड चलेको केसीको आपत्ति थियो ।

‘वाम आन्दोलनमा सुरुबाट नै अन्रविरोध एकता चल्दै आएको छ । अहिले देशमा देखिएको अराजकता, अन्योलता हाम्रै कारण हो,’ केसीले भने । नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नो सम्बोधनमा समुद्र, अन्तरिक्षमा नेपालले दाबी गरिसकेको देखि पूर्व माओवादी लडाकूहरूलाई हजारौंको संख्यामा पार्टी प्रवेश गराइने बताए । उनले चितवनमा अयोध्यापुरीस्थित सलेस नदी र कालीगण्डकीमा मात्रै पाइने शालीग्रामको पनि बखान गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत विपक्षी नेताहरूलाई घोचपेच गरे । एमालेले सामाजिक न्याय, समानताका लागि योजना बनाएको बताए, तर कस्ता योजना भने मूर्त रूपमा भन्न सकेनन् । कोही पनि कठ्याङग्रिएर मर्नु नपर्ने, भोकले मर्नु नपर्ने अवस्थाको सिर्जना गर्नु सबैको साझा कर्तव्य भएको बताए ।

नेकपा एमालेले पार्टीको नयाँ गीत पनि शुक्रबार नै सार्वजनिक गर्यो । एकनारायण भण्डारीले लेखेको गीत शुक्रबार पार्टी अध्यक्ष ओलीले सार्वजनिक गरेका हुन् । यसअघिको ‘मै पनि एमाले, सइ पनि एमाले’भन्दा बढी ‘भाइरल’ हुने आश गरिएको यो गीतले भने सर्वहारा वर्गबारे बोलेको छैन । 
गीतमा भनिएको छ, ‘सबको घरघरमा पुग्यौं आकाशको घामजस्तै, समृद्धिको बाटो कुन हो रू एमालेले चिन्छ ।’ यसबाहेक गीतमा एमाले राम्रो भन्ने बाहेक अरू केही छैन । बीचमा धरहरा उठेझैं एमाले उठ्ने सन्देश दिइएको छ । 

सर्वहारामाथि अट्टहास !

५५ लाख रूपैयाँ दिएर बनाइएको भव्य मञ्चमा विभिन्न दलका नेताहरू आसिन थिए । न घाम, न भुइँको फाहोर, कुनै चिजको पर्वाह बिना । ठीक त्यही अगाडि लाखौं कार्यकर्ता बालुवाकै कार्पेटमा थिए । नेताहरूअगाडि मञ्चमा शानसहित बसिरहे । उनै नेताहरूका लागि फोहोरमै बसिरहेका ‘नादान’ जनता ताली पिटिरहे, नारा लगाइरहे ।

कार्यकर्ताहरू दिनभर घाममा सेकिएर ‘आफ्ना’ नेताका लागि गडगडाइरहँदा नेताहरूबाट ती जनताको पक्षमा बोली फुटेन । ओलीलाई रूचाउने नेताहरूले ओलीको चर्चा गरिदिए, बाँकीले मनका केही बह पोखेर गए । मञ्चमा बसेर एमाले अध्यक्ष केपी ओलीले अन्तरिक्षदेखि समुद्रमा नेपालले हक जमाएको दाबी गरिरहँदा भुइँमा आफ्नो छोराको प्राण बचाइदिन एउटा बुबाले गरेको याचना कारूणिक थियो ।

ओलीले आफू नेतृत्वको सरकारले गरिबी, पछौटेपन हटाएको बताइरहँदा त्यही भिडमा थिए, सडक मान्छे । जसलाई आशा थियो, ‘लाखौंको भिडमा दुईचार जनाले केही पैसा दिए बेलुकको छाक टर्छ ।’ कम्युनिस्ट आन्दोलनको सबैभन्दा ठूलो जनमानस उपस्थिति भएको दाबी गरिएको यो कार्यक्रम सर्वहारा, उत्पीडित वर्गमाथिको अट्टहासजस्तो बनेको छ ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x