राजनीति

एमाले महाधिवेशन

नारायणी किनारमा ओली : देउवाप्रति नरम, दाहालप्रति गरम

अनिष भट्टराई | विनोद देवकोटा |
मंसिर १०, २०७८ शुक्रबार १८:२९ बजे

चितवन – नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशन चितवनमा शुक्रबार भव्य उद्घाटन भयो । नारायणी किनारमा लाखौं मानिसहरूको उपस्थितिमा अध्यक्ष केपी शर्मा ओलीले महाधिवशनको उद्घाटन गरे । एमालेले १०औं महाधिवेशन गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहालको गृहजिल्ला(निर्वाचन क्षेत्र) ताक्नुलाई कतिपयले विभिन्न कोणले अर्थ्याए । एमाले नेताहरूले जेसुकै तर्क गरे पनि महाधिवेशनका लागि दाहालको निर्वाचन क्षेत्रमा ताक्नु आफैँमा अर्थपूर्ण छ । अरु जेसुकै कारण भए पनि दाहाललाई उनकै गृहजिल्लामा देखाउनकै लागि एमालेले महाधिवेशन गरेको तथ्य लुक्दैन ।

यसलाई उद्घाटन सत्रमा ओलीले दिएको मन्तव्यले पनि पुष्टि गर्छ । झण्डै एक घण्टा भाषण गरेका ओलीले सरकारमा हुँदा गरेको कामका फेहरिस्त लाउनेदेखि आगामी योजनासम्म सुनाए । सम्बोधनका क्रममा वर्तमान सरकारलाई परमादेशको सरकारको संज्ञा दिए पनि त्यसबारे धेरै टिप्पणी गरेनन् । सम्बोधनका क्रममा उनले कांग्रेसको त नामै लिएनन् । प्रधानमन्त्री देउवाप्रति पनि नरम अभिव्यक्ति दिए । बरु प्रधानमन्त्री शेरबहादुर देउवाले काम गर्न नपाएका-नदिइएकोे भनेर टिप्पणी गरे । प्रधानमन्त्री देउवालाई माओवादी अध्यक्ष दाहालले काम गर्न नदिएको ओलीको दाबी थियो । 


देउवा काम गर्न चाहे पनि सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र जनता समाजवादी पार्टीले काम गर्न नदिने दाबी गरे । यो भनिरहँदा देउवा मञ्चमै थिए । अतिथि बनाएर आलोचना गर्नु बान्छनीय नहुने बताए । ‘प्रधानमन्त्रीलाई अतिथि बनाएर आलोचना गर्नु बाञ्छनीय नहोला । सरकारका बारेमा म केही भन्‍न चाहन्नँ । ओलीले प्रधानमन्त्री केही गर्न चाहनुहुन्थ्यो सायद,’ ओलीले भने, ‘तर, उहाँसँग भएकाहरूले काम गर्न दिदैनन् । एमालेको सरकारलाई काम गर्न नदिएकाहरू म प्रधानमन्त्रीभन्दा ठूलो, कम छैन भनिरहका छन् । प्रधानमन्त्रीजीलाई पनि गाह्रो छ कि ? मलाई अप्ठेरो पार्ने र खुट्टा तान्नेहरू आज उहाँको खुट्टा सामातिराख्या छन् ।’

देउवाप्रति यसरी नरम भएर प्रस्तुत भएका ओली माओवादी र अध्यक्ष दाहालविरुद्ध भने खनिए । ओलीले माओवादी अध्यक्ष दाहाललाई हँसिया हथौडा चुनाव चिन्ह छोड्नसमेत सुझाव दिए । दाहालले बामपन्थी सरकार ढालेको भन्दै हसिया हथौडा बोक्न उचित नहुँने बताए । ‘तीनले छोडे हुन्थ्यो, दुनियाँमा धेरैले छोडे यिनले किन छोड्न हुन्नँ हसिया हथौडा ?’ ओलीले भने ।

ओली यतिमै रोकिएनन् । सरकारले गरिबका लागि दिने भनेको १० हजारबार पनि उनले टिप्पणी गरे । १०औं हजार पूर्वलडाकुहरू एमालेमा प्रवेश गर्ने तयारीमा रहेको उनले दाबी गरे । आफ्ना लडाकूहरूको व्यवस्थापन गर्न नसकेको भन्दै उनले दाहालेको आलोचना गरे । ‘अहिलेसम्म पनि शान्ति प्रक्रिया टुंगिएको छैन । प्रचण्डजीहरू अहिलेसम्म पनि शान्ति प्रक्रिया किन टुंगो लगाउनुहुन्न ? किन घाइतेहरूको उपचार हुँदैन ?’ ओलीले प्रश्न गरे, ‘किन झूटा मुद्दा खारेज हुँदैन ? किन बहिर्गमित लडाकूको व्यवस्थापन हुँदैन ? मन परेका मान्छेलाई १०/१० हजार बाँडेर यो समस्या समाधान हुन्छ ?’

महाधिवेशनपछि आफ्नो पार्टीले माओवादीका पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने ओलीको दाबी थियो । महाधिवेशन सकिनेबित्तिकै पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने भन्दै अलमलमा परेर माओवादीमा लागेकाहरूलाई एमालेमा आउन आह्वान गरे । ‘हिजो केका लागि बलिदान दिनुभयो ? कसलाई मेयर बनाउन रहेछ देखिहाल्नुभयो, ’ ओलीले भने, ‘कसलाई मन्त्री बनाउन रहेछ देख्नुभयो । एउटा गीत छ नि ‘कुल्ली दाइले बाटो बनायो, तर गाडी अर्कैंले कुदायो’ भनेजस्तो । एमाले तपाईंहरूको पार्टी हो । एमाले द्वन्द्वका घाउहरू समाप्त पार्न चाहन्छ । शान्ति प्रक्रिया टुंग्याउन चाहन्छ । यो हामी गर्नेछौं । महाधिवेशनपछि आफ्नो पार्टीले माओवादीका पूर्वलडाकुहरूको व्यवस्थापन गर्ने ओलीको दाबी थियो । नपर्नुस् । आउनुस् एमालेमा ।’

माओवादीविरुद्ध खनिएका ओलीले पार्टी तीन तहको चुनावको तयारीमा लागेको बताए । उनले आसन्न चुनावबाट देशका लागि र देश बनाउनका लागि एकल बहुमत ल्याउनदाबीसमेत गरे । उसो त देउवाले पनि एमालेको खासै आलोचना गरेनन् । प्रधानमन्त्री देउवाले राजनीतिक परिवर्तनको आन्दोलनमा ओली र आफूलेसमेत दुःख पाएको स्मरण गरे । आफूहरूले जेल जीवनमा भोगेको जस्तो दुःख कसैले पनि भोग्न नपरोस् भन्दै देउवाले कामना गरे ।

‘नेपालको लोकतान्त्रिक आन्दोलन विभिन्न चरण पार गर्दै लोकतान्त्रिक गणतन्त्र ल्याउन हामी सफल भएका छौँ । संविधान जारी गरेका छौँ । यसलाई संस्थागन गर्ने जिम्मा पनि हाम्रै काँधमा छ,’ उनले भने, ‘हामी विभिन्न दलमा आवद्ध छौँ, तर, राष्ट्रिय स्वाधीनता र सुदृढीकरण गर्न हामी एकजुट छौँ । बामपन्थी साथीहरू र हामी जेलका साथीहरू हौँ । विगतमा भोगेको दुखलाई ध्यान राख्दै विगतका दिनमा कसैले पनि यस्तो दुःख भोग्न नपरोस् भन्‍नेमा दृढ होऔँ ।’  

महाधिवेशनमा माओवादी अध्यक्ष दाहाललाई पनि निमन्त्रण पठाइएको थियो, तर, उनी गएनन् । माओवादीका तर्फबाट स्थायी समिति सदस्य लिलामणि पोखरेल सहभागी थिए । उनले आ–आफ्नो मूल्य/मान्यता र विषम परिस्थितीका कारण एमाले–माओवादी अलग भएको बताए । ७ दशक लामो राजनीतिक इतिहासमा कम्युनिष्ट पार्टीहरू बन्ने, एक हुने परम्परा चलेको उनले स्मरण गरे ।  जतिसुकै मतभेद र तिक्तता भए पनि राष्ट्र निर्माणमा सहकार्य र समहमति आवश्यक भएको उनको भनाइ थियो ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x