राजनीति

कांग्रेस १४ औँ महाधिवेशन

हजुरबा पुस्ता हाबी रहेको कांग्रेसमा नाति-नातिना पुस्ता महाधिवेशन प्रतिनिधि

अनिष भट्टराई |
मंसिर ६, २०७८ सोमबार १७:३२ बजे

काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आसन्न १४ औं महाधिवेशनमा पुनः सभापतिमा उठ्दैछन् । सभापतिका आकांक्षी देउवा आफ्नो निर्वाचन क्षेत्र डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा चुनाव उठ्ने भएका छन् । २०७२ फागुनमा सम्पन्न अघिल्लो महाधिवेशनबाट सभापति निर्वाचित भएका देउवाले पार्टीको विधानले दिएको सुविधा प्रयोग गरेर दुई कार्यकाल सभापति बन्ने आकांक्षा पालेका छन् ।

देउवा पार्टीमा सभापतिको लागि प्रतिस्पर्धा गर्न लागेको दुई दशक पुगिसक्यो । पार्टीको दशौं महाधिवेशनमा पहिलो पटक सभापति चुनाव लडेका देउवा १३औं महाधिवेशनमा एकीकृत पार्टीको सभापति बने । नेपाली कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएपछि उनी नै अविछिन्न सभापति रहे । एकीकृत पार्टीको पनि सभापति बन्ने आकांक्षा पालेका देउवालाई अहिले पुनः अर्कोपटक पार्टीको नेतृत्वमा रहने भोक कायमै छ ।


दशौं महाधिवेशनमा लड्दा देउवालाई गिरिजाप्रसाद कोइरालाले पराजित गरेका थिए । उक्त महाधिवेशनमा देउवा कोइरालासँग ४ सय २९ मतले पराजित भएका थिए । देउवाले ५ सय ७ मत प्राप्त गर्दा कोइरालाले ९ सय ३६ मत ल्याएका थिए ।

देउवाले २०५७ यता देउवा दलको नेतृत्वका लागि सधैं स्पर्धा गरिरहेकै छन् । ११ औं महाधिवेशनका बेला उनी आफैंले पार्टी फुटाएर कांग्रेस प्रजातान्त्रिक पार्टीको सभापति बनेकाले उक्त पार्टीमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्नु परेन । त्यसपछि १२ औं महाधिवेशनमा पनि सभापति लडेका देउवा सुशील कोइरालासँग पराजित भए । 
१३ औं महाधिवेशनमा भने २ पटकको हार बिर्साउँदै देउवाले सभापति पद जिते । अर्का उम्मेदवार रामचन्द्र पौडेललाई हराउँदै देउवा पहिलो पटक एकीकृत पार्टीको सभापति बने । आसन्न १४ औं महाधिवेशनमा पनि ७६ वर्षीय देउवा सभापति पदका उम्मेदवार हुन् ।

पाँच पटक प्रधानमन्त्री भइसकेका देउवा अझै पनि सभापतिको उम्मेदवार बन्न चाहनुले कांग्रेससँगै नेपाली राजनीतिमा पुस्तान्तरणको मुद्दालाई अझै पेचिलो बनाएको छ । यद्यपि, कांग्रेसमा १८ वर्षकी प्रदेश प्रतिनिधिदेखि २१ वर्षकी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । नेपाली कांग्रेसमा भविष्य खोजिरहेका यी युवाहरूभन्दा अघिल्लो पुस्ता कांग्रेसमा ‘मिसिङ मिडल’ जस्तो भएको छ । किनकी नेतृत्व पंक्तिमा हजुरबुवा पुस्ता हावी छ ।

नेपाली कांग्रेसमा भविष्य खोजिरहेका यी युवाहरूभन्दा अघिल्लो पुस्ता कांग्रेसमा ‘मिसिङ मिडल’ जस्तो भएको छ । किनकी नेतृत्व पंक्तिमा हजुरबुवा पुस्ता हावी छ । 

अहिले देउवासँग प्रतिस्पर्धा गर्न पनि पुरानै नेताहरू आकांक्षी छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिजस्ता उमेर पुगेका नेताहरू नै अघि सरेका छन् । यसले गर्दा कांग्रेसवृत्तमै ‘आशा लाग्दा’ मानिएका नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेललगायतले अझै पनि पालो पाउन सकेका छैनन् ।

युवा कहलिएका ५० काटिसकेका नेताहरू पुस्तान्तरणको अभावमा अझै पनि पार्टीको प्रमुख पदमा नपुग्दै नयाँ पुस्ताका नेताहरू कांग्रेस राजनीतिमा आएका छन् । ५० कटिसकेका नेताका लागि छोरा-छोरी पुस्ताका यी नेता अहिलेका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता पौडेलहरूका नाति-नातिना पुस्ताका हुन् ।

पार्टीमा अहिले क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन प्रतिनिधिमा छनौट भएका नेताहरूको उमेर १८ वर्षदेखि सुरू छ । क्षेत्रीय प्रतिनिधिमा छनौट भएकी सम्भवत् सबैभन्दा कान्छी प्रतिनिधि बागलुङकी उषा सापकोटा अहिले नेपाली कांग्रेसमा पुस्तान्तरण आवश्यक रहेको बताउँछिन् । ‘पार्टीमा साँच्चिकै युथहरूको विचारको खडेरी छ ।हजुरबुबा पुस्ताका नेताहरू पार्टी हाँकिरहनुभएको छ । पार्टीमा पोजेटिभ इनर्जि थप्न म पनि राजनीतिमा आएकी हुँ,’ गण्डकीको क्षेत्रीय प्रतिनिधि छनौट भएकी उषाले भनिन् ।

खसआर्य महिलाको कोटामा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’बाट लडेकी बागलुङको काठेखोला गाउँपालिका-५ की उषाले २ सय ८६ मत ल्याएर विजयी भएकी हुन् । प्लस टुमा कानुन संकाय पढेर १२ सकाएकी उषा क्षेत्रीय प्रतिनिधि छनौट भएपछि राजनीतिमा युवा जोश थप्ने बताउँछिन् । ‘पढाइसँगै राजनीतिलाई बढाउँछु, युवा जोशले पार्टीलाई सहयोग गर्ने चाहना छ,’ उषाले भनिन् ।

‘डर्टी गेम’ भनेर नयाँ पुस्ताले राजनीतिलाई व्याख्या गर्ने गरेको पाइन्छ । युवालाई आन्दोलनको अग्रपंक्तिमा अघि सार्ने बूढापुस्ताका नेताहरू पद र अवसर भने आफैंमात्र छोप्न हस्याङफस्याङ गर्छन् । बुढा नेताहरूको सोच समयसान्दर्भिक नभएकाले अहिलेका नयाँ पुस्ता राजनीतिसँग विक्षिप्त पनि छन् । तर उषा भने बुढा नेताहरूले स्थापित गरेको यो भाष्य आफ्नालागि अवसर मान्छिन् । ‘सबैको आआफ्नो सोच हो । बाहिरबाट हेर्दा राजनीति फोहोरी खेल देखिन्छ, हुन पनि हो । अब यसलाई मौकामा बदल्नुपर्छ,’ उषाले भनिन् ।

आफू अब योभन्दा माथिल्ला चुनावमा अहिले नै नलड्ने र पहिला पढाइ सकाउने योजना उषाको छ । पहिला पढाइ सकाएपछिमात्र यसभन्दा ठूला चुनावमा लड्ने उनको प्रतिबद्धता छ । आफ्नालागि अवस्था अनुकुल नै रहे कुनै दिन देश ‘हाँक्ने’ उनले बताइन् । ‘अवस्था राम्रो रहे त एकदिन देश हाँक्ने हो, पहिला पढाइ सकाउँछु अनि बल्ल अरू चुनाव लड्छु,’ उषाले योजना सुनाइन् ।

उषालाई पारिवारिक पृष्ठभूमिका कारण पनि राजनीतिमा लाग्न प्रेरित गर्‍यो । उनका बुबा राजु सापकोटा पनि नेपाल विद्यार्थी संघ (नेविसंघ)का बागलुङ जिल्ला उप-सभापति भएका थिए । काका हरि सापकोटा काठेखोला गाउँपालिका-५ का वडासभापति हुन् । ‘हाम्रो घरमा राजनीतिक गफगाफ बढी हुन्थ्यो । सानैबाट रूची बढी थियो,’ उषाले सुनाइन् ।

उषाका बुबा राजु भने छोरी क्षेत्रीय प्रतिनिधि छनौट भएपछि हर्षित छन् । ‘अरूले टिकटक बनाएर बस्ने बेला छोरी समाचार पढ्थी/सुन्थी । न्यूयोर्क टाइम्स पढ्छे, विदेशी पत्रिकाहरू हेर्छे, यस्तै रहे ठूलो ठाउँ पुग्छे,’ राजुले भने । अरूले ‘छोरी राजनीतिमा लगाइस्’ भनेको सुन्दा उनी आफ्नो असहमति जनाउँछन् । भन्छन्, ‘राजनीति पेसा होइन, लाग्न/लगाउनलाई । राजनीतिलाई पेसा बनाएर नै देश बिग्रेको हो, छोरी स्वतस्फूर्त राजनीतिमा विचार लिएर बढेकी हो ।’


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x