राजनीति

एमालेकाे दशाैं राष्ट्रिय महाधिवेशन

महाधिवेशन कि ओली निर्देशित भेला ?

अध्यक्षबाहेकका पदमामात्र प्रतिस्पर्धा

अनिष भट्टराई |
मंसिर २, २०७८ बिहीबार १७:५० बजे

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशाैं महाधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरूले पार्टीभित्र छलफल र भेटघाट तीव्र पारेका छन् । नेतृत्वका लागि सर्वसम्मत गर्ने प्रयास पनि एमालेभित्र भइरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमात्र होइन, अन्य पदमा पनि सहमति गराउन सके पार्टीभित्र विग्रह रोकिने र एमाले एकतावद्ध भएर निर्वाचनमा जाँदा लाभ हुने निष्कर्षसहित पार्टीपंक्तिलाई सहमतितर्फ मुखरित गर्न खोजेका छन् ।

फलस्वरूप महाधिवेशन नजिकै आउँदा पनि एमालेमा कुनै पनि नेताले पदाधिकारीमा उम्मेद्वारी घोषणा गरिसकेका छैनन् । चितवनमा आगामी साता महाधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भएको छ । तर अघिल्ला महाधिवेशनहरूमा नेतृत्वका लागि तँछाड–मछाड हुने गरेकोमा यसपटक भने सन्नाटा छाएको छ । एमालेको महाधिवेशन मंसिर १०-१२ मा चितवन, भरतपुर नारायणी किनारमा पाँच लाख कार्यकर्ताको उपस्थितिमा गराउने घोषणा गरिएको छ । एमालेलाई जुन रूपमा एकतावद्ध देखाउन खोजिएको छ, पार्टीभित्र भने त्यस्तो सौहार्दपूर्ण एकता छैन ।


एमालेमा अन्तरपार्टी संघर्ष तीव्र छ । उपाध्यक्ष भीम रावलले सुदूरपश्चिममा समानान्तर महाधिवेशन प्रतिनिधि छनौट गरेर अध्यक्ष ओलीले तोकेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टको नेतृत्वलाई अस्वीकार गरेका छन् । पूर्वमाओवादी नेताहरू, १० बुँदे सहमतिका पक्षधर तथा पार्टी विग्रहका बेला ओलीको साथ नछाडेका नेताहरूको व्यवस्थापन गर्नुपर्ने चुनौती अहिले पार्टी नेतृत्वलाई छ । नेताहरूलाई सहमतिकै आधारमा व्यवस्थापन गरिनेभन्दै कुनै सूची बनाएर, प्यानल बनाएर नलडिने पार्टी महासचिव ईश्वर पोखरेलले बताइसकेका छन् । उनले बागमती प्रदेश कमिटीको एक कार्यक्रममा बोल्दै सर्वसम्मत नेतृत्व चयन गरिने बताएका थिए । 

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजाल भने अहिले महाधिवेशनको तयारी चलिरहेकाले उम्मेदवारी घोषणा नभएको र प्रक्रियागत ढंगले चलिने बताउँछन् । एमालेमा अहिले सन्नाटा छायो, विचार निषेध गरियो भन्दै अरू पार्टीले बताए पनि त्यस्तो नरहेको रिजालको भनाइ छ । ‘एमालेमा सन्नाटा छायो भनेर गलत कथन निर्माण गरियो । अराजक ढंगले भनाइ आएका छन्, यो सन्नाटा, मौनता केही होइन महाधिवेशनको तयारीमात्र हो,’ रिजालले भने । 

राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर भने एमालेले महाधिवेशन नभई निर्देशित भेला आयोजना गर्न लागेको बताउँछन् । राजनीतिक विचारको थलो नबनाई आस र त्रास देखाएर महाधिवेशनलाई निर्देशित भेलामा परिणत गरिएको उनको विश्लेषण छ । ‘पार्टी अध्यक्षले निर्देशन गरेको यो निर्देशित भेला हो, आस र त्रास देखाएर नेताहरूलाई चुप बनाइएको छ । कोही बोले राजनीति खतम् हुने डर नेतामा परेको छ,’ पिटर भन्छन् । 

पदाधिकारीमा काे-काे आकांक्षी ? 

नेकपा एमाले फुटेर माधव नेपाल, झलनाथ खनालले नेतृत्व गर्दै एकीकृत समाजवादी पार्टी दर्ता गरिसकेका छन् । यस्तै एमालेका उपाध्यक्षसमेत रहेका वामदेव गौतमले पनि एमालेबाट राजीनामा दिइसकेकाले अहिले एमालेमा ओलीलाई टक्कर दिने हैसियतका नेताको खडेरी छ ।

पार्टी फुटका बेला ओलीकै पक्षमा रहेका नेता तथा पूर्वमाओवादी नेताहरू जो एमालेमै बसे, उनीहरूको पनि समर्थन ओलीलाई नै छ । १० बुँदे सहमति पक्षधर नेतामध्ये भीम रावलले ओलीलाई चुनौती दिनसक्ने भए पनि अरू नेताहरू ओलीकै पक्षमा देखिएकाले रावललाई अध्यक्षका लागि पर्याप्त समर्थन नपुग्ने देखिन्छ । 
२३ कात्तिकमा गृह जिल्ला पुगेका रावलले साँफेबगर नगर कमिटीको प्रथम बैठकमा बोल्दै आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरे पनि त्यसबारे आन्तरिक तयारी गर्न सकेका छैनन् ।

रावलले पार्टीमा संस्थागत छलफल कुरिरहेकाले केही निर्णय नलिएको इकागजसँगको कुराकानीमा बताएका छन् । उनले अहिलेसम्म पनि आफ्नो निर्णय के हो सार्वजनिक गरेका छैनन् । बरु महाधिवेशन प्रतिनिधि छनौटमा स्वेच्छाचारी व्यवहार गरिएको भन्दै विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् । ‘कतिपय स्थानमा पार्टी सदस्यता वितरण, नवीकरण तथा प्रतिनिधि चयनमा पार्टीको विधि, पद्धति र निर्णय विपरीतका क्रियाकलाप भएका छन्,’ बुधबार एक विज्ञप्ति जारी गर्दै रावलले महाधिवेशन प्रतिनिधि छनौटमा स्वेच्छारिता देखाइएको भन्दै विरोध गरेका छन् । ‘कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर २, लम्की चुहा नगरपालिकामा प्रतिनिधि चयनमा भएको चरम स्वेच्छाचारी कार्यलाई लिन सकिन्छ,’ उनले भनेका छन् ।

एमालेका सचिव पृथ्वीसुब्बा गुरुङ ओली अध्यक्षमा दोहोरिने निश्चित भएको बताउँछन् । ‘ओली नै अबको अध्यक्ष हुने १०० प्रतिशत छ । अहिले नै सर्वसम्मत चाहिँ भनी नहालौं किनकी, कुनै व्यक्तिलाई चित्त बुझेन भने उठ्न त पाउँछ नि,’ गुरुङ भन्छन् ।

वरिष्ठ उपाध्यक्षमा भने ईश्वर पोखरेल सर्वसम्मत हुने देखिन्छ । दुई कार्यकाल महासचिव बनेका पोखरेललाई तेस्रो कार्यकाल पनि महासचिव बन्न विधानले रोकेको छ । हालका उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली पनि वरिष्ठ उपाध्यक्ष बन्न चाहेको बुझिन्छ । ‘कार्यकर्ताको माग’ भन्दै अध्यक्षमा उम्मेदवारी दिने इच्छा गरेका रावलले सर्वसम्मत पदाधिकारी छनौट भयो भने वरिष्ठ उपाध्यक्ष पद माग्न सक्छन् ।

महासचिवमा भने तत्कालीन नेकपा महासचिव बनेका विष्णु पौडेल, हालका सचिव पृथ्वीसुब्बा गुरुङ, अघिल्लो महाधिवेशनमा महासचिवमा हारेका सुरेन्द्र पौडेल र लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेल आकांक्षी रहेको चर्चा छ । प्रदीप ज्ञवाली, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यमध्ये एक नेता उपमहासचिव बन्न सक्छन् । यी नेताहरू हाल एमालेमा सचिव छन् । 

केन्द्रीय कमिटीमा ५० प्रतिशत नयाँ अनुहार आउने

नेकपा एमालेको विधानले २ सय २५ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको छ । नवौं महाधिवेशनबाट नेकपा एमालेमा १ सय ६७ सहित त्यसपछि ३ चरणको मनोनयनमा ८९ जना सदस्य थपिएका थिए ।

एमालेमा विग्रहपश्चात् ९ भदौमा माधव नेपालले नयाँ पार्टी दर्ता गरेपछि ५८ जना केन्द्रीय सदस्य नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका छन् । यस्तै विद्यादेवी भण्डारी राष्ट्रपति, गणेश तिमिल्सिना राष्ट्रिय सभा अध्यक्ष, सानुकुमार श्रेष्ठ बागमती प्रदेश सभामुख भएकाले एमालेमा उनीहरूको पद रिक्त छ । यसअघिका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिएको र नवौं महाधिवेशनबाट यता आइसक्दा रवीन्द्र अधिकारी (कास्की)सहित ५ नेताको मृत्यु भएकाले उनीहरूको पनि पद खाली छ । एमालेका पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अहिले एमालेमा १ सय ९६ जना केन्द्रीय कमिटी सदस्य छन् । अहिलेकै अवस्थामा महाधिवेशनबाट २९ नयाँ अनुहार केन्द्रीय कमिटीमा आउने छन् ।

तामाङ भने केन्द्रीय कमिटीमा ५० प्रतिशतसम्म नयाँ अनुहार आउने आकलन गर्छन् । ‘१९६ मा सबै साथीहरू दोहोरिनुहुन्छ भन्ने छैन । पराजित हुन सक्नुहुन्छ । त्यसैले अहिलेको अनुमान अनुसार ५० प्रतिशतसम्म नयाँ अनुहार आउँछन् होला,’ तामाङले भने ।


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x