राजनीति

नेपाली राजदूत र चिनियाँ परराष्ट्र मन्त्रालयका अधिकारीबीच छलफल

अजय अलौकिक |
साउन २९, २०७८ शुक्रबार १७:२५ बजे

बेइजिङ : चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र चीनको परराष्ट्र मन्त्रालयअन्तर्गत एसियाली विभागका महानिर्देशक लिऊ चिनसोङबीच कोभिड कालको अवस्थामा नेपाल र चीनबीचको आपसी सम्बन्धका विषयमा छलफल भएको छ । सो अवसरमा राजदूत पाण्डेले चीनमा आफ्नो अध्ययन पूरा गर्न आउन खोजिरहेका नेपाली विद्यार्थीको समस्या समाधानका लागि पहल गर्न पनि अनुरोध गरेका छन् । 

बुधबार भएको भेटमा राजदूत पाण्डेले ऐतिहासिक कालदेखिको दुई देशबीचको मित्रवत् सम्बन्ध अझै कसिलो र प्रगाढ रहने विश्वास व्यक्त गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपालको भूमि कुनै पनि मित्रराष्ट्रविरूद्ध प्रयोग हुन नदिने नेपालको नीति रहेको उल्लेख गरेका छन् । उनले नेपालमा कोभिड-१९ को सङ्क्रमण २० प्रतिशतभन्दा माथि रहेको जानकारी गराउँदै नेपाललाई अत्यावश्यक रहेको कोभिड-१९ विरूद्धको खोप तथा स्वास्थ्य उपकरण उपलब्ध गराउन पनि अनुरोध गरेका छन् ।


भेटको क्रममा राजदूत पाण्डेले चीनमा अध्ययनका लागि नेपाली विद्यार्थीहरूलाई थप छात्रवृत्ति उपलब्ध गराउन तथा आफ्नो अध्ययन पूरा गर्न चीन आउन खोजिरहेका विद्यार्थीको समस्या समाधानका लागि पहल गर्न पनि अनुरोध गरेका छन् ।

चीनमा अध्ययनरत् तर हाल नेपालमा रहेका नेपाली विद्यार्थीहरू जो, जसको प्र्याक्टिकल इन्टर्नसिप बाँकी छन्, उनीहरूको समस्या समाधानका लागि अनुरोध गरेको छु, राजदूत पाण्डेले बताए । कोभिड-१९ को फैलावटसँगै त्यस बेला चीनका विभिन्न सहरमा अध्ययनरत् नेपाली विद्यार्थीहरू नेपाल फर्केका थिए । यस अवधिबीच धेरै विद्यार्थीको अनलाइन शिक्षामार्फत् ग्र्याजुएसन सकिसके तापनि प्र्याक्टिकल विषय भएको चिकित्सा विषयलगायत विविध विषयका विद्यार्थीको भविष्य भने अन्योलमा रहेको छ ।

यसै गरी उक्त भेटमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण क्रममा भएका महत्त्वपूर्ण सम्झौता तथा समझदारी र बेल्ट एण्ड रोड अन्तर्गतका परियोजनाहरूलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । नेपाल र चीनबीच गठन भएका संयुक्त आयोग तथा समितिहरूका बैठकलाई नियमितता दिने विषयमा दुवै पक्ष सहमत भएका छन् ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेकोमा खुसी व्यक्त गर्दै महानिर्देशक लिऊ चिनसोङले हाल कोभिड-१९ को चुनौती अझै नसकिसकेकोले नेपाल चीनबीच विविध क्षेत्रमा भइरहेका कामहरू केही सुस्त हुन गएको बताए । पूर्वाधार विकास तथा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयलगायत नेपाल र चीनबीच भएका महत्त्वपूर्ण समझदारी तथा सम्झौताहरू तथा बेल्ट एण्ड रोडअन्तर्गतका परियोजनाहरू र नेपाल र चीनबीच गठन भएका संयुक्त आयोग तथा समितिहरूका बैठकलाई आगामी दिनमा नियमितता दिने विषयमा यथाशिघ्र पहल गर्ने व्यक्त गरे ।

यसै गरी, उनले नेपाली विद्यार्थीका समस्यालाई गम्भिर रूपमा लिएको बताउँदै उक्त समस्या समाधानका लागि छिट्टै पहल गर्ने आश्वासन दिएका छन् ।सो वार्तामा नेपालबाट चीनतर्फ हुने निकासीलाई सहज बनाउन तथा निर्यात बढाउने विषयमा पनि छलफल भएको दूतावासका ईकोनोमिक मिनिस्टर छविन्द्र पराजुलीले बताए । चीनले कोभिड-१९ को लडाइँ सकिने बित्तिकै सबै क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता गरेको पराजुलीले भने ।

साथै उक्त भेटको अवसरमा राजदूत पाण्डेले महानिर्देशक चिनसोङलाई एसियाली विभागको महानिर्देशक पदमा वहाली भएकोमा बधाई पनि दिएका थिए ।


Author

थप समाचार
x