राजनीति

गृहमन्त्री रविलाई ज्ञानेन्द्र शाहीले भने- विदेशी राजाको खुट्टा ढोग्‍न जानुभन्दा आफ्नै देशका राजा फर्काउन लाग्‍नुस्‌

इकागज |
बैशाख ११, २०८१ मंगलबार १०:४३ बजे

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न सुझाव दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद शाहीले गृहमन्त्री भएको बेला लामिछानेले विदेशी राजा आउँदा सार्वजनिक बिदा दिएको भन्दै अरूभन्दा उनी पनि फरक नभएको उल्लेख गरेका छन् ।


'तपाईं र अरू नेतामा के फरक छ ?' भन्दै उनले प्रश्न समेत गरेका छन् । शाहीले विदेशीको कति गुलामी गर्छौ हो भन्दै विदेशी राजाका खुट्टा नै ढोक्न जानुभन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस्  सुझाव दिएका छन् ।

'माननीय रवि लामिछानेज्यू  हिजोका दिनहरूमा तपाईंले जनताको आवाज उठाउँदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईं आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्वजनिक बिदा दिनुभएछ अब भन्नुहोस् तपाईं र अरू नेतामा के फरक भो ?' उनले सामाजिक सञ्जालमा लेखेका छन् 'बोल्ने एउटा गर्ने एउटा ? विदेशी राजाका खुट्टा नै ढोक्न जानुभन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस् कति गुलामी गर्छौ हो विदेशीको ?'

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्ने दुई दिने राजकीय भ्रमणका अवसरमा नेपाल सरकारले आज दिएको सार्बजनिक बिदाप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला सांसद शाहीको यस्तो टिप्पणी आएको हो ।

र यो पनि


Author

थप समाचार
x