राजनीति

कसरी हुँदैछ कतारी राजाको सुरक्षा ? सेनाकै तीन घेरा, विमानस्थल आधा घण्टा बन्द हुने

इकागज |
बैशाख ११, २०८१ मंगलबार ७:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज दिउँसो ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन् । उनी नेपालको दुई दिने औपचारिक भ्रमणमा नेपाल आउँदै छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग कतारी विशिष्ट अतिथिले शीतल निवासमा भेटवार्ता गर्नेछन् । साथै उनको सम्मानमा राष्ट्रपतिले राजकीय भोजको आयोजना गर्ने कार्यक्रम छ ।


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारी अमिर नेतृत्वको प्रतिनिधिमण्डलबीच बुधबार द्विपक्षीय वार्ता हुनेछ । त्यसपछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

कतारी अमिरको यो भ्रमणबाट नेपाल र कतारबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

कतारी अमिर फिलिपिन्स र बङ्गलादेशको औपचारिक भ्रमण पूरा गरी यहाँ आउन लागेका हुन् । 

सरकारले कतारी राजाको भ्रमणमा ‘क’ श्रेणीको सुरक्षा दिनेछ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूको बैठकले ‘क’ श्रेणीको सुरक्षा दिने निर्णय गरेका छन् ।

कतारी राजाको सुरक्षा व्यवस्थापनको कमाण्ड नेपाली सेनाका बलाधिकृत रथी अशोकराज सिग्देल, उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापा र सशस्त्र प्रहरी बलको नम्बर–९ पशुपति प्रसाद बाहिनीका बाहिनीपति (एआईजी) पुरुषोत्तम थापाले गर्दैछन् ।

कतारी राजालाई विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि–२०७७ अनुसार सुरक्षा हुनेछ । जसअनुसार भित्री घेरामा नेपाली सेनाकै तीन वटा घेरा हुनेछ ।

त्यस्तै मध्य घेरामा सूचना संकलनको काम गर्ने नेपाल प्रहरीका सुरक्षा अधिकारीहरूलाई सादा पोशाकमा र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरू हुनेछन् । 

त्यसैगरी नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारीहरू बाहिरी घेरामा हुनेछन् ।

त्यस्तै कतारी राजा आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुनेछ ।


Author

थप समाचार
x