राजनीति

सत्ता गठबन्धन : ४० दिनमै विभाजनतर्फ

इकागज |
बैशाख ३, २०८१ सोमबार १३:५२ बजे

काठमाडौँ- केन्द्रमा नयाँ सत्ता समीकरण बनेको ४० दिनमा नै विभाजनको रेखा कोरिएको छ । सुदूरपश्चिममा सरकार बनाउने क्रममा पूर्वसहमति अनुसार नगरेको भन्दै एकीकृत समाजवादीले कांग्रेससँग सहकार्य गरेपछि त्यसको धक्का नयाँ समीकरणलाई पर्ने विश्लेषण गरिएको छ ।

हालको सत्ता समीकरणमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा र एकीकृत समाजवादी रहेका छन् ।


यसअघि केन्द्रमा नयाँ समीकरण बनाउँदा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो तर आइतबार सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई दिने निष्कर्षमा समीकरणका प्रमुख नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पुगेपछि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल झस्किएका छन् । उनले यसअघिको सहमति पालना नगरेको र आफूहरूलाई धोका भएको विश्लेषणसहित सुदूरपश्चिममा कांग्रेससँग सहकार्य गरेका थिए ।

अब सुदूरपश्चिममा कांग्रेस, एकीकृत समाजवादी, नाउपा र राप्रपाको सहकार्य अनुसार सरकार बनेमा यसको असर अन्य प्रदेशमा मात्र होइन केन्द्रको समीकरणमा पनि पर्ने देखिएको छ ।

अहिले एकीकृत समाजवादी मधेश प्रदेश र बागमती प्रदेशमा निर्णायक अवस्थामा रहेको छ । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुश्किलले विश्वासको मत पुर्‍याएका थिए । एकीकृत समाजवादीले सरकार छाडेमा उनी सिधै अल्पमतमा पर्छन् र सरकार ढल्ने अवस्था रहेको छ । त्यस्तै १०७ सदस्यीय मधेश प्रदेशमा पनि एकीकृत समाजवादी निर्णायक अवस्थामा छ । ७ सांसद रहेको एकीकृत समाजवादीले समर्थन फिर्ता लिएमा सरकार अल्पमतमा पर्ने देखिएको छ ।

मधेशमा अहिले जसपाका सरोज यादवको नेतृत्वमा सरकार छ । सरकारलाई एमालेका २५, जसपाका १९, माओवादीका ९, लोसपाको ९ तथा एकीकृत समाजवादीको ७ सांसदको समर्थन रहेको छ । एकीकृत समाजवादीले समर्थन फिर्ता लिएमा लोसपाले पनि सरकार छाड्ने बताइएको छ ।

त्यस्तै एकीकृत समाजवादीले केन्द्रको सरकारलाई समर्थन फिर्ता लिएमा केन्द्रको समीकरणलाई समेत धक्का लाग्न सक्ने देखिएको छ । गत फागुन ३० गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिंदा १५७ मत पाएका थिए । एकीकृत समाजवादीले समर्थन फिर्ता लिंदा सरकार सिधै अल्पमतमा नपरेपनि समीकरण भत्किने भने देखिन्छ । अहिलेको सत्ता समीकरणमा जोडिएको जसपाले मधेसको मुख्यमन्त्रीकै कारणले केन्द्रमा नयाँ समीकरणमा जोडिएको हो । मधेसको मुख्यमन्त्री गुमाउने अवस्थामा जसपा केन्द्रको समीकरणमा रहन्छ या रहँदैन भन्न नसकिने बताइएको छ ।​

सुदूरपश्चिममा सरकार बन्ने क्रममा रहेको र एकीकृत समाजवादीको भूमिका अहिले पनि शंकास्पद रहेकोले नयाँ सत्ता समीकरण भत्कियो भन्न अहिले हतार नै हुन्छ । सुदूरपश्चिममा प्रदेश प्रमुखले मंगलबार सांसदहरूको सनाखत गरेर निर्णय लिने बताएकाले त्यसपछि मात्र एकीकृत समाजवादीको भूमिका स्पष्ट हुनेछ । सनाखतमा पनि एकीकृत समाजवादीले नाउपाका लक्ष्मण किशोर चौधरीको पक्षमा लागेमा यसले केन्द्रको सत्ता समीकरणमा फुटको बिजारोपण भने अवश्य हुने छ ।


Author

थप समाचार
x