राजनीति

नयाँ समीकरण

कांग्रेससँग कसरी चिढियो माओवादी ? सत्ता गठबन्धन फुट्‌नुको ९ कारण

जीवन कुँवर |
फागुन २१, २०८० सोमबार १२:५७ बजे

काठमाडौँ- सत्ता गठबन्धन फुटेको छ । नेपाली कांग्रेस-नेकपा माओवादी केन्द्रको गठबन्धन फुटेसँगै अब नेकपा एमाले-माओवादीको गठबन्धन बनेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जसपा सहभागी हुनेछन् । सरकार सहभागी हुन् अरू दलहरूसँग पनि छलफल जारी छ ।


कांग्रेससँग सत्ता साझेदार टुट्‌नुमा विविध कारणहरू रहेका छन् । माओवादीका सांसदसमेत रहेका प्रचण्ड निकट नेता माधव सापकोटा सुबोधका अनुसार राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा धोका दिएको माओवादीको बुझाई छ । कोशीको चुनावमा गठबन्धन भएको थियो । उक्त चुनावमा गठबन्धनका कांग्रेसका उम्मेदवार कृष्ण सिटौला विजय भए भने गठबन्धनकै माओवादी उम्मेदवार चम्पादेवी कार्कीले हारिन् । कार्कीसँग चुनाव लडेकी एमालेकी रूकमणी कोइरालाले जितेकी थिइन् ।

त्यसोत कोशी प्रदेशमा आफ्‍नो भागमा आएको मुख्यमन्त्री गुम्नुमा पनि कांग्रेसभित्र गुटको खेल भएको प्रचण्डको बुझाई छ । कोशीमा एकातिर सभामुख गुम्नु र अर्कोतिर कांग्रेसकै गुटको सिकारले मुख्यमन्त्री पनि गुम्नुले कांग्रेसप्रति अविश्वास बढाउनु अर्को कारण हो ।

त्यसोत प्रधानमन्त्री प्रचण्डले विवादित मन्त्री हटाउन केहि समयअघिदेखि कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्दै आएका थिए । तर देउवाले मन्त्रिपरिषद्‌ हेरफेरमा असहयोग गरेको प्रचण्डको बुझाई छ । बहालवाल स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत टेरामकक्स प्रकरणमा मुछिएको र झण्डावाला गाडिमा अख्तियारमा बयान दिन गएपछि उनलाई फेर्न चाहन्थे प्रचण्ड । तर देउवाले सहयोग गरेनन् । 

त्यस्तै विवादित मन्त्रीहरू प्रकाशरण महत, प्रकाश ज्वाला र सुदन किरातीलगायतलाई फेर्न चाहन्थे । सडक र सदन विपक्षीहरूले विवादित मन्त्रीहरू हटाउनुपर्ने माग राख्दै चर्काउन थालेपछि प्रचण्ड थप दबाबमा थिए । त्यसबारे जवाफ दिन सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधि सभा बैठकमा आउन निर्देशन दिएका थिए । तर सत्ता साझेदारी देउवाले सहयोग नगरेका कारण मन्त्रिपरिषद्‌ फेर्न नसकेको प्रचण्डले आफू निकटकाहरूलाई बताउँदै आएका थिए ।

त्यसो त कांग्रेस सभापति देउवासँग मात्रै प्रधानमन्त्री प्रचण्ड असन्तुष्ट थिएनन् । कांग्रेसकै अर्को गुट डा.शेखर कोइराला र गगन थापाहरूसँग पनि प्रचण्ड असन्तुष्ट थिए । उक्त समूहले कोशी प्रदेश सरकार गठनमा होस् या सदन/सडकमा पनि सरकारकै आलोचना गर्ने गरेको प्रचण्डको बुझाई थियो ।

त्यस्तै केहि महिनाअघिदेखि नै अर्थमन्त्री प्रकाशशरण महतलाई फेर्न चाहन्थे प्रचण्ड । बजेट र आर्थिक नीति बनाउँदा सल्लाह नगरी जथाभावी गर्ने गरेको प्रचण्डले देउवालाई गुनासो गर्ने गरेका थिए । तर अर्थमन्त्री महतलाई फेर्न चाहेनन् देउवाले । त्यसपछि झन् देउवा-प्रचण्डको सम्बन्धमा फाटो आउन थाल्यो ।

हालेसालैको कांग्रेस महासमिति बैठकमा बहालवाला मन्त्रीहरूकै प्रतिवेदनबाट प्रचण्ड चरम असन्तुष्ट बनेका थिए । आफ्नै नेतृत्वमा सञ्चालन भएको १० वर्षे जनयुद्धलाई गलत व्याख्या गरेको प्रचण्डले आफू निकटकाहरूलाई भन्दै आएका थिए । बहालवाला मन्त्री पूर्णबहादुर खड्‌काले पेश गरेको प्रतिवेदनमा माओवादीको जनयुद्धका कारण पनि अहिले आर्थिक संकट आउनु उल्लेख गरेका थिए । यस बिषयमा प्रचण्डले देउवा र खड्‌कालाई बालुवाटार बोलाएरै सोधेका थिए । 

त्यस्तै कांग्रेस महासमिति बैठकमा कांग्रेस हिन्दु राष्ट्रको पक्षमा रहेको विषय पनि उल्लेख थियो । यसमा पनि देउवाको हात हुन सक्ने प्रचण्डले बताउँदै आएका थिए । कर्मचारी सरूवा बढुवामा समेत हस्तक्षेप गर्ने गरेको प्रचण्डले यसअघि नै गुनासो गर्दै आएका थिए ।


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x