राजनीति

समाजलाई जोड्न धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यम : पूर्वराष्ट्रपति यादव

इकागज |
फागुन २७, २०८० आइतबार १५:३८ बजे

जनकपुरधाम- पूर्वराष्ट्रपति डा रामवरण यादवले समाजलाई जोड्नका लागि धार्मिक, सांस्कृतिक परम्परा महत्वपूर्ण माध्यमका रूपमा रहेका बताएका छन् । 

मिथिला क्षेत्रको महत्वपूर्ण सांस्कृतिक पर्व मिथिला माध्यामिकी परिक्रमाको आज शुभारम्भ गर्दै पूर्वराष्ट्रपति डा यादवले माध्यमिकी परिक्रमा मिथिलाको सांस्कृतिक र ऐतिहासिक पहिचानसँग जोडिएकाले यसले समाजलाई जोड्ने काम गरिरहेको बताए । 


'मिथिलाको सांस्कृतिक इतिहास हजारौँ वर्ष पुरानो छ । यो यहाँको सभ्यता र पहिचान पनि हो । त्यसैले यसको संरक्षणका लागि सबैले भूमिका खेल्न जरुरी छ,' पूर्वराष्ट्रपति डा यादवले भने । 

कार्यक्रममा मधेस-प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री सुनिता यादवले मिथिला माध्यामिकी परिक्रमा क्षेत्रको व्यवस्थित विकासका लागि गुरुयोजना बनाएर काम गर्ने गरी प्रक्रिया अगाडि बढेको बताइन् । उनले परापूर्वकालदेखि चलिआएको माध्यामिकी परिक्रमा संस्कृतिलाई व्यवस्थित बनाउन, परिक्रमा क्षेत्रका ऐतिहासिक स्थललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्पदाका रूपमा विकास गर्नुपर्ने आवश्यकतासमेत औँल्याइन् । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सल्लाहकार नन्दकिशोर यादव, मिथिला बिहारी नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद यादवलगायतले मिथिला मध्यामिकी परिक्रममा स्थल वडा नं ८ कचुरीस्थित मिथिला बिहारी मन्दिरको संरक्षण र विकासका लागि सबै तहका सरकार र निकायलाई आग्रह गरे । 

नेपाल ११ र भारतका चारसहित विभिन्न १५ स्थानमा विश्राम गरी एक सय ३३ किलोमिटर पैदल यात्रा गर्ने यो पर्वलाई यहाँ विशेष महत्वका साथ लिने गरिन्छ । ‘जय सियाराम जय जय सियाराम’ को मन्त्रसहित आज धनुषाको मिथिला विहारी मन्दिरबाट झाँकी, कीर्तनसहित श्रद्धालुहरूले यात्रा प्रारम्भ गरे । 

सहभागीहरूले परम्परागत बाजागाजा, झाँकीसहित मौलिक पहिरनमा सहभागी भएका छन् । अठारौँ शताब्दीदेखि धार्मिक यात्रालाई माध्यामिकी परिक्रमाका रूपमा मनाइँदै आइएको र यो धार्मिक यात्रा १५ दिनभित्र जनकपुरमा होली खेलेर फागु पूर्णिमा तिथि पारेर समापन गर्ने परम्परा रहेको मिथिला विहारी मन्दिरका महन्थ रामनरेश शरणले जानकारी दिए ।


Author

थप समाचार
x