राजनीति

नोटसम्बन्धी छपाइ नेपालमै गर्ने व्यवस्थाका लागि सुरक्षित मुद्रण विधेयक : मन्त्री शर्मा

इकागज |
माघ १८, २०८० बिहीबार १७:२८ बजे

काठमाडौँ- सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सुरक्षित मुद्रणदेखि नोटसम्बन्धी छपाइ नेपालमै गर्ने व्यवस्थाका लागि सुरक्षित मुद्रण विधेयक ल्याइएको बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका छलफलका क्रममा मुलुकभित्रै राहदानी, नोट, सवारी अनुमतिपत्र र राष्ट्रिय परिचयपत्रलगायतका सामग्री सुरक्षित रूपमा छपाइ गर्न उक्त विधेयक ल्याइएको बताएकी हुन् । उनले सुरक्षित मुद्रणको काम नेपालमा नै हुँदा डाटा सुरक्षित रहने र ठूलो राजस्व बाहिर जानबाट जोगिने धारणा राखिन् ।


मन्त्री शर्माले सुरक्षित मुद्रण जस्तो महत्वपूर्ण विषय गठन आदेशको भरमा चलाउँदै आएकोमा कानुन बनेपछि उक्त आदेश खारेज हुने जिकिर गरिन् । उनले राष्ट्रिय सभाको संशोधन र अहिलेको संशोधनलाई ध्यानमा राखेर टुङ्गोमा पुर्याउनुपर्ने बताइन् ।

बैठकमा समिति सदस्यहरूले सुरक्षण मुद्रणको कामलाई सुरक्षित बनाउन आवश्यक व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । समिति सदस्य रघुजी पन्तले सरकारले नै सुरक्षित मुद्रण स्थापना गर्दा खर्चिलो हुने भएकाले यसको जिम्मा निजी क्षेत्रलाई दिनुपर्ने सुझाव दिए । उनले विद्युतीय बैंकिङ कारोबार बढ्दै गएको अवस्थामा बिस्तारै रु एक हजार र ५ सयका नोटहरू बजारबाट खिच्नुपर्ने पनि बताए ।

त्यस्तै समिति सदस्य सुमना श्रेष्ठले सरकारी वेबसाइटहरू सेक्युरिटी अडिट हुन नसक्दा ह्याकिङ बढेको बताइन् । उनले टियुको वेबसाइट ह्याक हुनु गम्भीर विषय भएकाले यसमा सम्बन्धित व्यक्तिलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिइन् ।

त्यस्तै अन्य समिति सदस्यहरूले सुरक्षाको हिसाबले राष्ट्रिय महत्व रहेका विषयमा गम्भीर भएर कानुनलाई अघि बढाउनुपर्ने सुझाव दिएका थिए ।


Author

थप समाचार
x