राजनीति

जाेमसाेम पुगेर प्रचण्डले भने : मुस्ताङलाई ५० करोड उपलब्ध गराउनेछु

धनबहादुर गुरुङ |
कात्तिक १, २०८० बुधबार ११:२६ बजे

जाेमसाेम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लाका लागि करिब ५० करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गरेका छन् । मुस्ताङमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

एक अन्तराष्ट्रिय संस्थाबाट आउन लागेको सहयोग उनले मुस्ताङलाई पठाउने बताए । जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि सो रकम सहयोगबापत उपलब्ध गराउने उनले बताएका हुन् । जलवायू सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० कराेड नेपाललाई प्राप्त हुँदैछ । त्याे सबै मुस्ताङलाई  दिने उनले बताए ।


‘हामीलाई प्राप्त हुने सबै ५० करोड मुस्ताङलाई दिनेछौं,’ उनले भने, ‘नेपाल सरकार मुस्ताङप्रति संवेदनशील छ, जलवायू परिवर्तनले यहाँ पुगेको क्षतिबारे सरकार जानकार छ ।’ उनले यहाँको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको उनले बताए ।

जलवायू परिवर्तनले मुस्ताङमा मात्रै नभई सिंगो देशभर क्षति पुगेको उनले बताए । ‘यो अन्तराष्ट्रिय समस्या हो, यसले विश्वभर जनजीवनमा प्रभाव पारेको छ ।’ उनले भने ।

जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रको हिउँ अस्वाभाविक ढंगले पग्लिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा र इटलीको रोममा खाद्यसँग सम्बन्धित संयुक्त राष्ट्रसंघको सम्मेलनमा आफूले नेपालमा जलवायु परिवर्तनबाट परेको असरबारे ध्यानाकर्षण गराएको जानकारी दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले आयोजना गरेको जलवायु परिवर्तन सम्बन्धी अन्तरक्रियामा सहभागी प्रधानमन्त्री दाहाल  आएका हुन् । उनी बिहानै हेलीमार्फत कोरला नाका भ्रमण गरेर अहिले अन्तरक्रिया कार्यक्रममा सहभागी भएका छन् । 


Author

थप समाचार
x