राजनीति

विपक्षी गठबन्धनले सरकारका क्रियाकलापको सशक्त प्रतिकार गर्ने

‘अवैधानिक सरकार’का विकृत गतिविधि र पूर्ण बजेटबारे संयुक्त प्रेस वक्तव्य निकाल्ने

मधुसुधन भट्टराई |
जेठ १६, २०७८ आइतबार ११:२५ बजे

काठमाडौँ : सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ जेठको मध्यरातमा गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका विपक्षी राजनीतिक दलहरूले कानुनीबाहेक अरु पनि सशक्त प्रतिकार गर्ने भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको विपक्षी गठबन्धनका शीर्ष नेताहरूको बैठकले सरकारका विकृत क्रियाकलापको सशक्त प्रतिकार गर्ने निष्कर्ष निकालेको हो । 

विपक्षी गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सहभागी छन् । बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतबाहिर पनि सशक्त प्रतिकार गर्ने निष्कर्षमा आफूहरू पुगेको जानकारी दिए ।


‘असहज परिस्थितिलाई ध्यानमा राखेर भोलि हुनसक्ने आन्दोलनको पूर्वाभ्यास गर्ने र आन्दोलनमा सशक्त रूपमा प्रस्तुत हुन तयारी गर्ने निष्कर्षमा हामी पुगेका छौं,’ वरिष्ठ नेता पौडेलले इकागजसँग भने, ‘हामीले अब सरकारका क्रियाकलापविरुद्ध देशव्यापी क्याम्पेन (अभियान) गर्नेछाैं ’

बैठकमा अवैधानिक सरकारका क्रियाकलापविरुद्ध जनतालाई सूचित गर्ने, उनीहरूमा जागरुकता ल्याउने र आवश्यक परे प्रतिकात्मक सशक्त आन्दोलनका लागि तयारी अवस्थामा राख्‍ने निष्कर्षमा आफूहरु पुगेको माओवादी नेता देवप्रसाद गुरुङले जानकारी दिए । ‘जनतालाई जगाउने, उनीहरूमा जागरुकता ल्याउने कार्यक्रम अघि सार्ने निष्कर्षमा हामी पुगेका छौं,’ बैठकपछि गुरुङले इकागजसँग भने, ‘अब कसरी हुन्छ अवैधानिक सरकारका विकृत गतिविधिको भण्डाफोर गर्ने अभियानमा हामी लाग्छौं । सडक आन्दोलन कोभिड-१९ महामारीका कारण तत्काल सम्भव छैन । प्रतिकात्मक रुपमा सबै किसिमका क्रियाकलाप हामीले गर्छौं ।’

सर्वोच्च अदालतमा रिट परेको अल्पमतको सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने निष्कर्ष बैठकले निकालेको छ । अदालतमा रिट परेको अवैधानिक सरकारले पूर्ण बजेट ल्याउन कहाँ पाउँछ ? अराजनीतिक र अनैतिक रूपले बजेट ल्यायो । त्यसको हामीले संयुक्त रूपमा विरोध गर्छौं,’ कांग्रेस नेता पौडेलले भने । 

बैठकबाट सरकारका क्रियाकलापविरुद्ध संयुक्त विज्ञप्ति निकाल्ने तय भएको छ । ‘सरकारले असंवैधानिक ढंगले पूर्ण बजेट जारी गरेको छ । भ्रष्टाचार बढाइरहेको छ । संविधान उल्लंघन गर्ने र संविधानलाई विकृत बनाउने क्रियाकलाप भइरहेको छ । अहिलेसम्म घटेका घटनालाई केन्द्रविन्दु बनाएर एउटा संयुक्त विज्ञप्ति निकाल्ने भन्ने कुरा भएको छ । सायद आजै आउँछ होला,’ माओवादी नेता गुरुङले भने । 

बिहान नौ बजेबाट करिब दुई घण्टा बसेको बैठकमा सरकारले शनिबार अध्यादेशबाट ल्याएको पूर्ण बजेट र सर्वोच्च अदालतमा शुक्रबारबाट सुरु भएको संवैधानिक इजलासको प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाबारे पनि छलफल भएको नेता पौडेलले जानकारी दिए । 

बैठकमा कांग्रेसबाट सभापति देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला र पुष्पा भुसाल सहभागी छन् । त्यस्तै माओवादीबाट पुष्पकमल दाहाल र नेता देव गुरुङ सहभागी थिए । 

एमालेबाट वरिष्ठ नेता नेपाल र भीम रावल सहभागी थिए । जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी थिए भने राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिइन् । 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x