राजनीति

सुदूरपश्‍चिममा एमाले विवाद

ओली समूहका सांसद बोहोरालाई नेता शाहले सोधे स्पष्टीकरण

नवराज पनेरु |
जेठ १६, २०७८ आइतबार ९:५७ बजे

धनगढी : नेकपा एमाले सुदूरपश्‍चिमको संसदीय दलले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली समूहका सासंदलाई स्पष्टीकरण सोधेको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली समूहका सासंद तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई स्पष्टीकरण सोधेका हुन् ।

‘१२ गते धनगढीमा सम्पन्‍न नेकपा एमाले सुदूरपश्‍चिम प्रदेश, प्रदेशसभा दलको बैठकमा तपाई स्वयंको उपस्थितीमा भएका निर्णयहरूविरुद्ध तपाईंले दिनुभएका सार्वजनिक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ । 


बोहरालाई संसदीय दलको बैठकले गरेका निर्णय कार्यान्वयनमा बाधा पुर्‍याउँदै गुटबन्दी गरेको, संसदीय दलका अन्य सदस्यलाई उक्साउने र भड्काउने काम गरेको, जनताको हितमा प्रभावकारी काम गर्न खोज्दा बाधा पुर्‍याएको आरोप लगाइएको छ । १६ गते साँझ ५ बजेसम्म चिक्तबुझ्दो स्पष्टीकरण नआए संसदीय दलको विधान २०७७ अनुसार कारबाही हुने स्पष्टीकरणमा उल्लेख छ । 

माओवादी नेतृत्वको प्रदेश सरकारबाट फिर्ता हुने पार्टीको स्थायी समिति र प्रदेश समितिको निर्णयविपरीत सुदूरपश्‍चिमको संसदीय दलले १२ जेठमा वर्तमान सरकारलाई दिएको समर्थत यथावत राख्‍ने निर्णय गरेको थियो । दलको बैठकमा ओली पक्षका सासंद बोहरा पनि सहभागी थिए । उनले दलका नेता शाहले एकलौटी गर्न खोजेको आरोप लगाएका थिए । 

यता ओली समूहको प्रदेश समितिले दलका नेतासमेत रहेका मन्त्री प्रकाशबहादुर शाह, पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पूर्वउद्योग पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टलाई साधारण सदस्यबाट निष्काशन गरेको दाबी गर्दै आएको छ । प्रदेश समितिले एमालेको तर्फबाट मन्त्री भएका तीन र राज्यमन्त्री भएका तीन जनालाई पनि स्पष्टीकरण सोधेको छ ।


Author

थप समाचार
x