राजनीति

वर्षा नभएका कारण मधेशमा खडेरी, उपराष्ट्रपति चिन्तित

सुभाष कर्ण |
साउन १६, २०८० मंगलबार २२:१ बजे

जनकपुरधाम- वर्षा नभएका कारण मधेश प्रदेशमा पर्दै गएको खडेरीबारे उपराष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मले चिन्ता व्यक्त गरेका छन् ।

महोत्तरीको मटिहानी नगरपालिकाद्वारा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालकै अन्न भण्डारका रूपमा रहेको मधेशमा परेको खडेरीबारे चिन्ता व्यक्त गर्दै सरकारले ध्यान पुर्‍याउनु पर्ने बताए ।


उपराष्ट्रपति यादवले वर्षा नहुँदा यस क्षेत्रका किसानका साथै आमजनताले धेरै समस्याको सामना गर्नु परिरहेकाले संवेदनशील भई समस्याको निराकरण गर्न तर्फ लाग्न संघीय र प्रदेश सरकारलाई आग्रह गरे ।

कार्यक्रममा उपस्थित प्रदेश प्रमुख हरिशंकर मिश्रले अहिले जनप्रतिनिधिहरूको प्रमुख दायित्व पानीको समस्या समाधान गर्नु रहेको बताए । 'मधेशमा खडेरी परेपछि खेतिपाती गर्न समस्या भएकै छ त्यसमाथि चापाकलबाट पानी आउन छोडेको छ,' प्रदेश प्रमुख मिश्रले भने, ‘अहिले सिँचाइको समस्या समाधान गर्न सम्भव छैन ।

प्रत्येक खेतमा कृषिका लागि सिँचाइ र जनतालाई खानेपानी कसरी पुग्छ तर्फ लाग्नुस मुख्यमन्त्रीज्यू भन्दै आग्रह गरे । आफ्नो परिवार र आफ्नो समाज मात्रैलाई नभई यहाँका जनताका लागि काम गर्न उनले सबै जनप्रतिनिधिलाई आग्रह गरे ।

त्यस्तै मुख्यमन्त्री सरोजकुमार यादवले खडेरीको समस्या र लम्पी स्किन रोगको प्रकोप मधेशमा विकराल रूप लिई सकेकाले मधेश सरकारले सो को विकल्पमा के उपाय हुन सक्छ त्यो कार्य गर्न तत्पर रहेको प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘अहिले मधेशभरी खडेरी छ, चापाकलमा पानी आईरहेको छैन, खडेरीको समयमा कसरी खेतिपाती गर्न सकिन्छ त्यसका लागि विकल्प खोजिरहेका छौँ ।’ यस्तो समयमा नदीको पानी खेत खेतसम्म पुर्याएर हुन्छ कि डीप बोरिङ्गबाट पानी तानेर हुन्छ खेतिपातीका लागि सहज वातावरणको श्रृजना गरिने प्रतिबद्धता व्यक्त गरे ।

यसका साथै मुख्यमन्त्री यादवले प्रदेशका जनताको समस्या समाधान गर्नका लागि हेलो सिएम फोन नम्बर संचालनमा ल्याउन लागेको समेत जानकारी दिए । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले मटिहानीको उर्वर भूमिमा समेत खडेरीका कारण धान रोपाइँ हुन नसकेकोमा चिन्ता व्यक्त गरे । उनले यो नगरलाई सुख्खा क्षेत्र घोषणा गरी विशेष राहतको व्यवस्था गर्न सरकारसँग माग समेत गरे ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x