राजनीति

कसैले दबाब दिँदैमा राजीनामा दिन्नँ : गृहमन्त्री श्रेष्ठ

सुभाष कर्ण |
साउन ११, २०८० बिहीबार २२:६ बजे

जनकपुरधाम- गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैले दबाब दिँदैमा आफूले पदबाट राजीनामा नदिने बताएका छन् । 

महोत्तरीको बर्दिबासस्थित जनता माध्यमिक विद्यालय गौरीडाँडाद्वारा आयोजित शैक्षिक सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारविरोधी अभियान निस्तेज बनाउन चाहनेले आफ्नो राजीनामा माग्न थालेको बताए ।


उनले ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण र सुन तस्करी प्रकरण लगायतका अपराध र बेथितिविरुद्ध चलाएको अभियानलाई निस्तेज पार्न विरोधीहरूले आफ्नो राजीनामा माग गरिरहेको बताए ।

गृहमन्त्री श्रेष्ठले भने, ‘जनताको सहयोगमा अहिले म देशमा भ्रष्टाचारविरोधी अभियान थालेका छौं,  त्यसकै परिणाम स्वरूप ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरू धमाधम पक्राउ पर्नुका साथै हालै सुन तस्करीको पर्दाफास गर्न सफल भएको छु ।’

सरकारको यस्तो कामले जनतामा आशा पैदा हुन थालेपछि विरोधीहरूले आफ्नो राजीनामा माग गर्न गरिरहेका छन् ।

कसैले दबाब दिँदैमा आफूले पद नछाड्ने दृढता व्यक्त गर्दै उनले कसैले विरोध गर्दैमा भ्रष्टाचार, तस्करी र अपराधविरुद्धको अभियान नरोकिने बताए । जसले भ्रष्टाचार, बेथिति, अपराध, तस्करीविरुद्ध र सुशासनको पक्षमा अभियान चलाउँछ उसले पद छाड्नुपर्यो भन्नेप्रति उनले आक्रोश व्यक्त गरे ।

विकास र समृद्धिको अभियान अघि बढ्न नदिने भ्रष्टलाई खोजीखोजी कारबाही गर्नुपर्यो भनेर जनताले आवाज उठाइरहँदा भ्रष्ट र अपराधिहरूको संरक्षणमा मात्रै आफ्नो अस्तित्व रक्षा देख्ने निहीत स्वार्थ भएकाले आमजनताको समर्थन र सत्यलाई देख्न नसकेको उनले बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x