राजनीति

समृद्धिका लागि विज्ञान प्रविधि प्रयाेगसहितको शिक्षा आवश्यक : मन्त्री यादव

सुभाष कर्ण |
बैशाख २१, २०८० बिहीबार २१:४ बजे

जनकपुरधाम- मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले विज्ञान प्रविधि प्रयाेगसहितको शिक्षाविना कुनै पनि मुलुकको समृद्धि सम्भव नरहेकाे बताएका छन् ।

कम्प्युटर एशोसिएशन नेपालको मधेश प्रदेश समितिको आयोजना तथा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८० को अवसरमा जनकपुरधाममा आयाेजित साइबर सुरक्षा सम्बन्धी कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।


विश्वमा पछिल्लो समयमा आएको कोरोना महामारीले सूचना प्रविधिको महत्त्व थप उजागर गरेको बताउँदै मन्त्री यादवले​ कोरोनाको समयमा पठनपाठनदेखि राजनीतिक दलहरूको मिटिङ गर्दा सूचना प्रविधिको अधिकतम प्रयोग भएको स्मरण गरे ।

उनले अहिले मोबाइलको दुरुपयोग बढेको भन्दै यसको दुरुपयोग रोकेर यसको प्रयोग सूचना प्रविधिको क्षेत्रमा गरेको खण्डमा राम्रो हुने भएकाले यसतर्फ क्यानले विशेष रूपमा ध्यान दिन आवश्यक भएको बताए ।

मन्त्री यादवले मधेश प्रदेश सरकारले सूचना प्रविधिको अधिकतम प्रयोग तथा साइबर सुरक्षाको विषयमा काम गर्न चाहेको उल्लेख गर्दै विद्यालय तहमा कसरी डिजिटल शिक्षा प्रदान गर्न सकिन्छ भन्ने कुरामा आफू गम्भीर रहेको उल्लेख गरे । 

कम्प्युटर एशोसिएशन नेपालका केन्द्रीय अध्यक्ष रञ्जित पोद्धारले विद्यालयहरूमा सरकारले स्थापना गरेको आइसिटी ल्याबको प्रभावकारिता बढाउनका लागि शिक्षकको व्यवस्थापन जरुरी रहेको बताए । उनले अहिले सूचना प्रविधिको क्षेत्रमा साइबर सेक्युरिटी चुनौतीको विषय बनेको भन्दै यस विषयमा क्यानले प्रदेश प्रदेशमा जनचेतनामूलक कार्यक्रम गरिरहेको बताए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x