राजनीति

जसपाको मदेश प्रदेश संसदीय दलको नेतामा सराेजकुमार यादव चयन

सुभाष कर्ण |
पुस २५, २०७९ सोमबार १७:८ बजे

जनकपुरधाम- जनता समाजवादी पार्टी नेपालको मधेश प्रदेशको संसदीय दलको नेतामा सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । 

सहमति नजुटेपछि दलीय नेता चयनका लागि निर्वाचनमा गएको थियो । आज दलका नेताका लागि वर्तमान मुख्यमन्त्री लालबाबु राउत र निवर्तमान सभामुख सरोजकुमार यादवसहितका दुई जनाले उम्मेदवारी दर्ता गराएका थिए ।


बेलुका ५ बजेदेखि निर्वाचन हुने तालिका रहेकाले मतदाता सांसदहरू जनकपुरधामस्थित पार्टी प्रदेश कार्यालयमा बिहानैदेखि भेला भएका थिए । तर, उम्मेदवारी फिर्ता लिने समय ३ः३० बजेअघि नै लालबाबु राउतले उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

दलको नेताका लागि उम्मेदवारी दर्ता गराएका मुख्यमन्त्री राउतले अन्तिम समयमा यादवको नाममा सहमति जनाएपछि यादव एक्लै उम्मेदवार भएकाले निर्वाचन समितिले उनलाई निर्विरोध घोषणा गर्‍याे । 

मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार बन्ने सम्भावना रहेकाले उनी मुख्यमन्त्री बन्ने निश्चित भएको छ । जसपाको मधेस प्रदेश सभामा १६ जना प्रदेश सभा सदस्य छन् ।

यसअघि जनमत पार्टी, कांग्रेस र एमालेले दलको नेता चयन गरिसकेका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले पुस २८ गते ४ बजेसम्म सरकारको दाबी पेश गर्न दलहरूलाई आह्वान गरिसकेका छन् । 

मधेश प्रदेश सरकारको नेतृत्व जसपा र जनमत पार्टीले आलोपालो गर्ने चर्चा सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच चलिरहेको छ भने कांग्रेससँग समेत प्रदेशमा कुराकानी भइरहेको छ । जुन गठनबन्धनको सरकार बने पनि सरकारको नेतृत्व जसपाले नै पाउने निश्चित रहेको छ ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x