राजनीति

युवा पुस्तालाई नेतृत्व दिनुपर्छ : डा भण्डारी

इकागज |
मंसिर १६, २०७९ शुक्रबार २०:४ बजे

गुल्मी- नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा चन्द्र भण्डारीले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्ने बताएका छन् ।

शुक्रबार गुल्मीको सदरमुकाम तम्घासस्थित वीपी स्मृति भवनमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले देशलाई सही दिशामा अघि बढाउन र वर्तमान समस्या समाधान गर्न युवाहरूको महत्त्वपूर्ण भूमिका हुने भन्दै नेता भण्डारीले अबको नेतृत्व युवाको काँधमा आएको बताए । 


उनले निर्वाचनको बेलामा नेतृत्वको विरोध गर्दा झन आफैँमाथि प्रहार हुने र सबै मिलेर चुनाव हराउने डरका कारण आफूले केही नबोलेको बताए । 'अब निर्वाचन सकियो, काठमाडौँ जान्छु र सबै मिडियाका अगाडि म नेतृत्वका विषयमा बोल्नेछु,' नेता भण्डारीले भने ।

वर्तमान समयमा दलहरूले प्राप्त गरेको निर्वाचनको परिणामलाई लिएर बजारमा भिन्नभिन्न आकलन र अड्कलबाजी चलिरहेको भन्दै उनले नेपाली कांग्रेसले सबै दललाई मिलाएर अघि बढ्ने बताए । पहिलो काम भनेको गठबन्धनलाई मिलाउने र त्यसपछि प्रतिपक्षसँग पनि सहकार्य गर्दै अघि बढ्ने उनको भनाइ थियो ।

नेता भण्डारीले निर्वाचन जित्नु केवल मन्त्री बन्नैका लागि मात्र नभएको भन्दै मुलुकलाई केही परिवर्तनकारी काम गर्नका निम्ति मन्त्री बन्ने सोच बनाउनुपर्ने बताए । उनले कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषय पार्टीभित्र र गठबन्धनमा जोडिएका दलहरूसँग बसेर सहमति खोजिने बताए ।

उनले गुल्मी जिल्लालाई विकास निर्माणको हिसाबले नमुना जिल्ला बनाउने गरी आफू अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । नेता भण्डारीले गुल्मीमा विकास निर्माणको काम कछुवाको गतिमा अघि बढेको गुनासो गरे । रेसुङ्गा नगरपालिकामा आज कार्यालय प्रमुखहरूसँग छलफल गर्दै उनले विकास निर्माणको काममा तीव्रता दिन कार्यालय प्रमुखहरूलाई निर्देशनसमेत दिएका थिए । 

कार्यक्रममा गुल्मी क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (२) का सदस्य धनेन्द्र कार्कीले जिल्लाको विकासका लागि आफूले निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा गर्ने बताएका थिए ।


Author

थप समाचार
x