राजनीति

अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र संकटमा छ भन्छन् : अर्थमन्त्री

इकागज |
मंसिर १५, २०७९ बिहीबार १५:२ बजे

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।

बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र संकटमा छ भन्ने गरेको बताएका हुन् । उनले मुलुकको अर्थतन्त्रमा संकट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न अर्थशास्त्री, व्यवासायी र राजनीति व्यक्तिहरुलाई आग्रह गरे ।


शर्माले निजी क्षेत्र र अर्थशास्त्रीलाई देशको अर्थतन्त्र कसरी संकटमा परेको छ ? भन्दै प्रश्नसमेत गरे । अर्थमन्त्री शर्माले अर्थतन्त्र संकटमा नभएको भन्दै अर्थतन्त्रका चुनौतिका विषयमा छलफल गर्न आवश्यक रहेको बताए । उनले सरकारको काम गर्ने क्षमता नबढ्नु संकट भएको भन्दै सरकारको क्षमता बढाउन आवश्यक रहेको जिकिर गरे । उनले नेपालको अर्थतन्त्र एकैपटक तल जाने र एकैपटक माथि जाने खालको नभएको दाबी गरे ।

मन्त्री शर्माले नेपालको अर्थतन्त्रका सूचकहरू क्रमिक रूपमा सुधार हुँदै गएकाले अर्थतन्त्र सुधारको बाटोमा रहेको बताए । उनले खुला सिमानाका करण राजश्व घटेको भन्दै खुला नाका व्यवस्थित बनाउनुपर्ने उल्लेख गरे । उनले खुला नाका व्यवस्थित बनाउने विषयमा निर्वाचनका कारण सरकारले ध्यान दिन नसकेको बताए ।


Author

थप समाचार
x