राजनीति

जिम्मेवारी बाँडफाँट

एमालेमा बिराना भए पुराना

‘वन साङ्ला’को हालीमुहाली, कस्तो छ ‘घर साङ्ला’को अवस्था ?

विनोद देवकोटा |
बैशाख ११, २०७८ शनिबार १६:२६ बजे

काठमाडौँ : नेकपा एमाले नेता तथा सांसद विरोध खतिवडाको तीन पुस्ता नै कम्युनिस्ट राजनीतिमा होमियो । बाजे बद्रीप्रसाद खतिवडादेखि नातिनी शृंखला खतिवडासम्म ।

मनु सिग्देल पनि मकवानपुरको राजनीतिक वृत्तमा चर्चित नाम हो । मनु विरोध खतिवडाकी श्रीमती हुन् । विरोधका पिता बद्रीप्रसाद खतिवडा पञ्चायतकालमै मकवानपुरलाई कम्युनिस्टमय बनाउने नेता थिए । अर्थात्, २०३६ को शिक्षक आन्दोलनका नेता । उनकै नातिनी शृंखला पनि बुबा र आमालाई सघाउँदै चुनावी राजनीतिमा देखिइन् ।


तर, शुक्रबार एमालेमा भएको जिम्मेवारी बाँडफाँडमा विरोध खतिवडा जिम्मेवारविहीन भए । खतिवडा पञ्चायतकालमा पाँच वर्ष जेल जीवन बिताएका र २०४८ यता प्रतिनिधि सभा सदस्य रहदै आएका छन् । उनलाई जिम्मेवारविहीन हुनु पर्दा पनि कुनै दुखेसो छैन ।

खतिवडा भन्छन्, ‘गुटको भेला राखेर ओलीले गरेको जिम्मेवारी हेरफेरको कुनै औचित्य छैन । पार्टीमा द्वन्द चलिरहेका बेला भएका कार्य विभाजनको कुनै अर्थ पनि छैन ।’ उसो त उनीमात्र होइन, पार्टीका पूर्वअध्यक्ष र महासचिव झलनाथ खनाल, माधवकुमार नेपाल पनि जिम्मेवारीविहीन भएका छन् ।

हालीमुहालीमा ‘वन साङ्ला’

पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले–घरमा ‘वन साङ्ला’को भीड लगाउँदै ‘घर साङ्ला’ पन्छाउँदैछन् । यस्तै दृश्य बढ्दै गयो भने कुनै दिन ‘वन साङ्ला’ले ‘घर साङ्ला’ सखाप पार्न बेर लगाउने छैन ।

कुनै बेला माओवादीका चर्चित नेता रामबहादुर थापाका निम्ति हालको एमाले खुब फापेको छ । उपप्रधानमन्त्री छँदै थिए, माओवादी छाडेसँगै एमालेमा उनलाई एमालेको बागमती प्रदेश इन्चार्ज बन्न पाएका छन् । पार्टी छाडेपछि उनलाई माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यबाट बर्खास्त गर्‍यो । ओली दाहिना भएपछि सांसद पद खारेज भएकै भोलिपल्ट उनलाई उप्रधान तथा गृहमन्त्रीमा पुन नियुक्ति मिल्यो । ओलीले फेरि उनै थापालाई राष्ट्रिय सभा उम्मेदवार बनाएका छन् । 

तत्कालीन नेकपा दुई समूहमा विभाजित हुँदा उनी केपी शर्मा ओलीतिर लागेका थिए । सर्वोच्चको एउटा फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिए । थापा माओवादी त्यागेर एमालेतिर लागे । ओलीका प्रिय पात्र मध्येका एक थापा पनि हुन् । थापा मात्रै होइनन् माआवादीबाट एमालेतिर लागेका नेताहरूलाई ओलीले जिम्मेवारी दिएका छन् । 

सुदूरपश्चिम इन्चार्जको जिम्मेवारी उद्योगमन्त्रीसमेत रहेका लेखराज भट्टलाई दिइएको छ । कुनै बेला उनी माओवादी अध्यक्ष पुष्पकमल दाहालका ‘अति प्रिय’ थिए, त्यहीकारण उनले आप्नो कोटाबाट भट्टलाई मन्त्री बनाएका थिए । मन्त्री पदले यति मोहनी लगायो कि अदालती आदेशपछि माओवादीतिर फर्कन सकेन ।

त्यति मात्र होइन, उनले एमालेमा उद्योग तथा वाणिज्य विभाग प्रमुख तथा नेपाल उद्योग व्यवसाय महासंघको इन्चार्जको जिम्मेवारीसमेत भट्टले पाएका छन् । लुम्बिनी प्रदेशको सहइन्चार्जको जिम्मेवारी पाएका खानेपानी मन्त्रीसमेत रहेका मणिचन्द्र थापाले खानेपानी तथा सरसफाइ विभागको प्रमुखको जिम्मेवारी पाएका छन् । 

त्यस्तै सहरी विकास मन्त्रीसमेत रहेका प्रभु साहलाई सहरी विकास विभाग प्रमुख तथा  पेशागत महासंघ नेपाल र सम्बद्ध संगठनको प्रमुख र नेपाल वुद्धिजीवी परिषद्को इन्चार्जको जिम्मेवारी दिइएको छ ।

व्यापारी मोती दुगड बालुवाटारदेखि पार्टी कार्यालय निर्माणमा सक्रिय छन् । उनै नेताहरुबीच वार्ता गराउन खटेका देखिन्छन् । कुनै बेला तिनै व्यापारी दुगडहरु एमाले नेताका व्याख्यामा ‘दलाल पूजीपति’ दर्जा मिलेको थियो ।

ओलीका प्रिय पात्रहरू बनेकाहरु कुनै बेला पुष्पकमल दाहालका ‘गुटभित्र’का विश्वासिला पात्र थिए । गुटमै लागेकै कारण दाहालले ‘ह्वात्तै पदीय हैसियत दिए । अब यतिखेर दाहालका ‘बागी’ भएका छन् । गुट बलियो बनाउँदै गर्दा ‘अवसरवादी चरित्र’ पहिचान गर्न नसक्नुको परिबन्दमा दाहाल परेका छन् । त्यसरी नै अरु नेताहरु परेका होलान् । नैतिकता नभएकाहरुलाई अस्वाभाविक पद दिएपछि देखिने दृश्य यही हो ।

अनि ‘घर साङ्ला’को अवस्था !

रामबहादुर थापाले बागमती प्रदेश इन्चार्ज र भट्टले सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी पाइरहँदा एमालेका खाँटी नेता भीम रावल र पुरानी नेतृ अष्टलक्ष्मी शाक्य जिम्मेवारीविहीन । पञ्चायतकालमै कम्युनिस्ट आन्दोलनमा होमिएकी शाक्य इमान्दार नेतृ मानिन्छिन् । 

माले हुँदै एमालेका घर धनी बनेका ‘घर साङ्ला’ माधवकुमार नेपाल, झलनाथ खनाल, सुरेन्द्र पाण्डे, अमृत बोहरा, घनश्याम भूषाल, राजेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, जगन्नाथ खतिवडाहरु चाहिँ ओलीद्वारा ‘लखेटिएका’ छन् । अर्थात्, यतिखेर ओली विरोधी खेमाका ९८ एमालेको केन्द्रीय सूचीमा नाम छ तर जिम्मेवारी छैन । 

२०३१ मा कोर्डिनेशन केन्द्र स्थापना र मालेलाई आकार दिनेहरू जिम्मेवारीविहीन बनेको दृश्य सहजै पचाइरहेका छन् एमालेजन । पञ्चायतकालीन कालरात्री २०३५ मा माले गठन गर्ने साहसी नेताहरू पाखा लगाइएका छन् । घनेन्द्र बस्नेत जो झापा आन्दोलनपछि १७ वर्ष जेल बसे । कुनै बेला किंवदन्तीकै पात्र झैँ लाग्ने सैद्धान्तिक राजनीतिमा लामो समय लागेका बस्नेत उत्तरार्धमा जिम्मेवारीविहीन बन्न पुगेका छन् ।

राजेन्द्र पाण्डे जो २०३२ देखि कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् । कम्युनिस्ट आन्दोलनमा लागेकै कारण उनले पनि साढे ६ वर्ष जेल जीवन बिताउनुप-यो । पञ्चायतकालमा पाण्डेले जनपक्षीय पहिचान कमाएका थिए ।

एमालेलाई यो अवस्थासम्म ल्याउन लामो संघर्ष र त्याग गरेका नेताको सूची एमालेमा लामै छ । सैैद्धान्तिक, राजनीतिक र सांगठनिक योगदान गर्ने नेताहरूको सूचि पनि लामै छ । तर, उनीहरूलाई पनि पाखा लगाइएको छ । माओवादीबाट एमालेतिर लागेका नेताहरू ओलीका विश्वास पात्र बनेका छन् । 

जगन्नाथ खतिवडा कुनै समय विद्यार्थीकालका सक्रिय नेता हुन् । २०३६ सालदेखि राजनीतिमा सक्रिय उनी एक समय युवामाझ निकै चर्चित थिए । ओलीले उनलाई जिम्मेवारीविहीन हुनेमा पारेका छन् । उनकै शब्दमा,‘ओलीले गरेको जिम्मेवारी विभाजन अवैधानिक, पूर्वाग्रही र विभाजनकारी छ । यसले ओली कम्युनिस्ट आन्दोलन र पार्टीलाई नै सिध्याउन लागेको प्रष्ट हुन्छ ।’

कम्युनिस्ट आन्दोलनलाई ओलीले सत्ता लुछाचुँडी र सत्तामा पुग्ने विषयबस्तु बनाएको उनको आरोप छ । आदर्श र सिद्धान्तलाई ओलीले च्यातचुत पारेको उनको भनाइ छ । 

‘कम्युनिस्ट पार्टी जोगाउन आदर्श र मूल्य प्रणालीलाई जोगाउनुपर्छ,’ उनले भने, ‘सिद्धान्तका आधारमा व्यवहार गरिएको हुनुपर्छ । वर्गीय हित गर्ने साधन बनाउन सकियो भने जोगिन्छ । तर, ओलीले राजनीतिक सत्ताको लुछाचुँडीको विषय र आफू सत्तामा पुग्ने मात्रै विषयबस्तु बनाउनु भयो । आदर्शलाई उहाँले अलि पहिलेनै च्यातचुत पारिसक्नु भएको थियो ।’

कम्युनिस्ट आन्दोलनको आधाभूत चरित्रमा ह्रास आइरहेका बेला ओली प्रवृत्ति समाप्त हुने दिशामा अघि बढेको उनले बताए । तर, ओलीकै कारण कम्युनिस्ट आन्दोलन समाप्त नहुने उनको भनाइ छ । ‘कम्युनिस्ट पार्टी र आन्दोलन एकचोटी लड्छ, पुनः संगठित हुन्छ र फेरि उठ्छ । यसलाई दुई कोणबाट हेर्नुपर्छ । एउटा पात्र खराब भएर बिग्रिने कम्युनिस्ट आन्दोलन र अर्को प्रवृति खराब भएर बिग्रिने आन्दोलन ।

ओली पात्र खराब भएर बिग्रिने आन्दोलनको बिम्बको रूपमा लिन सकिन्छ । आन्दोलन सकिदैन । केपी ओली प्रवृतिले आन्दोलन सिध्याउँछ । आन्दोलनको आधाभूत चरित्रमा ह्रास आइरहेको छ । तर, समाप्त हुने दिशामा पुगेको होइन ।’

नेता माधवकुमार नेपाल पनि ओलीले गरेको कारबाही र जिम्मेवारी बाँडफाँडको कुनै औचित्य नभएको बताइसकेका छन् । शुक्रबार जनकपुर पुगेर उनले भने, ‘२०३१ सालमा कोर्डिनेसन केन्द्र सुरु गर्ने नेता म हुँ । ०३२ सालमा पोलिटब्यूरो बन्ने नेता म हुँ ।

०३५ सलामा नेकपा एमाले बनाउने नेता म हु । त्यस्तो व्यक्तिलाई कारबाही गर्छु भन्ने ? निकाल्छु भन्ने ? कसैले निकालेर निस्किनेवाला छैन । आन्दोलनबाट भाग्ने मान्छे होइन । संगठन छोड्नेवाला छैन । हामी आन्दोलन, पार्टी लोकतन्त्र छोड्दैनौँ ।’


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x