राजनीति

सम्मानजनक सिट नदिए मतमा प्रभाव पार्ने शेखर पक्षको चेतावनी

इकागज |
असोज २०, २०७९ बिहीबार १७:९ बजे

फाइल फोटो

काठमाडौँ- नेपाली कांग्रेसको शेखर कोइराला समूहले संस्थापन पक्षले आफुहरुलाई सम्मानजनक सिट नदिए आगामी निर्वाचनमा पार्टीको मतमा नै प्रभाव पर्न सक्ने चेतावनी दिएको छ । बिहीबार काठमाडौंमा बसेको सो समूहको भेलाले आवश्यकता र औचित्यका आधारमा गुट, उपगुट नभनेर समान ढंगले टिकट दिनुपर्ने भन्दै त्यसो नगरिए आगामी निर्वाचनमा पार्टीको मतमा नै प्रभाव पर्न सक्ने चेतावनी दिएको हो ।

साथै उनीहरुले संस्थापन पक्षले एकलौटी रुपमा निर्णय गरे कांग्रेसले ठूलो संकटको सामना गर्नुपर्ने समेत जनाएका छन् । भेलापछि कांग्रेस युवा नेता भुपेन्द्रजंग शाहीले न्याय र समान अवसरका लागि पार्टीभित्रैबाट खबरदारी गरिरहँदा त्यसलाई उचित ढंगले निकास दिनुपर्ने बताए । आगामी निर्वाचनमा विजयी हासिल गर्नका लागि अन्य पार्टीसँग गठबन्धन गरिरहँदा आफ्नै पार्टीभित्र पनि गठबन्धन गरि एकढिक्का गर्नुपर्ने उनको भनाइ छ ।


उनले सामानुपातिक सूचीमा पनि असन्तुष्टीको स्वरहरु आइरहँदा संस्थापन पक्षले समाधान दिन नसकेको अवस्थामा प्रत्यक्षतर्फ टिकट वितरण गर्दा काखापाखा गर्न नहुने जिकिर गरे । यदि पार्टीले पुन अन्याय गरि टिकट वितरण गरे निर्वाचनको परिणाम आउन नसक्ने उनले बताए। 

संस्थापन पक्ष गम्भीर बनेर पार्टीभित्र विद्रोह गर्न नदिने अवस्था सिर्जना गर्नुपर्ने उनीहरुले बताएका छन् । यसअघिको महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गरेकै कारण पार्टी नेतृत्वले आफुहरुमाथि भेदभाव गरेको उनीहरुको आरोप छ । 


Author

थप समाचार
x