राजनीति

तनहुँ-१ : पौडेलको जितेर मात्रै मर्ने चाहाना, जोशीको पौडेल हराउने जोश

उपेन्द्र अर्याल |
भदौ ३१, २०७९ शुक्रबार २०:६ बजे

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट फेरि चुनाव लड्ने घोषणा  गरेका छन् । तनहुँ-१ बाट उठ्ने तयारी गरिरहेका पौडेल अघिल्लो आम निर्वाचनमा यही क्षेत्रबाट हारेका थिए । उनी यसपालि ०७४ को हारको बदला लिने दाऊमा छन् ।

पौडेलले आफूले हारेको ठाउँबाट जितेर मात्रै मर्ने इच्छा रहेको भन्दै उम्मेदवारी घोषण गरेका छन् । ०७४ को निर्वाचनमा रामचन्द्र पौडेलले एमालेका कृष्णकुमार श्रेष्ठसँग ६ हजार ५ सय ३२ मतले हारेका थिए । एमालेका श्रेष्ठले ३४ हजार ४ सय ९२ मत ल्याउँदा पौडेलले २७ हार ६ सय ९० मत मात्रै पाएका थिए । २०४८ साल पछिका संसदीय निर्वाचनमा लगातार जितेका पौडेलको यो पहिलो हार थियो ।


०४८ सालको संसदीय निर्वाचनमा तनहुँ-१ बाट विजयी भएका थिए, पौडेल । उनले संयुक्त जनमोर्चा, नेपालका रामनाथ शर्मालाई ४ हजार बढी मतले हराएका थिए । त्यसबेला रामचन्द्रले १८ हजार ९ सय ६८ मत पाउँदा रामनाथले भने १३ हजार ८ सय ५९ मत मात्रै ल्याएका थिए । ०५१ को मध्यावधि निर्वाचनमा पौडेलले तनहुँ-१ छाडी तनहुँ-२ बाट लड्ने निर्णय गरे । उक्त निर्वाचनमा पनि उनी एमालेका विश्वबन्धु भण्डारीलाई हराउँदै विजयी भए । उक्त निर्वाचनमा पौडेलले २२ हजार ६ सय ३९ मत पाएका थिए भने भण्डारीले  ६ हजार ४ सय ५३ मत मात्रै प्राप्त गरेका थिए । पौडेलले ०५१ सालको प्रतिनिधि सभामा सभामुख भएर काम गरे ।

त्यसपछि ०५६ सालको निर्वाचन तनहुँ-२ बाट उम्मेदवार बनेका पौडेल फेरि विजयी भए । उनले एमालेका शंकरनारायण श्रेष्ठलाई झण्डै दोब्बर मतले हराएका थिए । त्यसबेला पौडेलले २४ हजार ४ सय ४६ मत ल्याउँदा शंकरनारायणले भने १० हजार ३ सय ३५ मत मात्रै पाएका थिए । जितको शृंखला कायम राख्दै पौडेलले २०६३ को पहिलो संविधान सभा चुनावमा पनि तनहुँ-२ बाट विजयी भए । त्यसबेला उनले माओवादीका डम्बरबहादुर विश्वकर्मालाई हराएका थिए । विश्वकर्माले ११ हजार ५० मत ल्याउँदा पौडेलले १८ हजार ९ सय ७० मत ल्याएका थिए । त्यसबेला एमालेका उम्मेदवार प्रतापलाल श्रेष्ठ भने तेस्रो बनेका थिए । उनको जित यतिमै रोकिएन । उनी ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पनि विजयी भए । ०७० मा उनले एमालेका कृष्णकुमार श्रेष्ठलाई हराएका थिए । पौडेलले १८ हजार १ सय ४९ मत ल्याउँदा एमालेका कृष्ण कुमारले ११ हजार ७ सय ३९ मत मात्रै पाएका थिए ।

एमालेका तिनै कृष्ण कुमारले ०७४ मा भने पौडेलको ०४८ यताको अविराम संसदीय यात्रामा ब्रेक लगाइदिए । तनहुँ -१ बाट लडेका पौडेलले हार बेहोर्नु पर्‍यो । यसपटकको निर्वाचनमा भने त्यही हारको बदला लिने योजनासहित पौडेल चुनावमा होमिएका छन् । तर, एमाले विभाजन पछि पौडेल र कृष्ण कुमार एउटै सत्ता गठबन्धनमा छन् । गठबन्धनले पौडेललाई उम्मेदवार बनाए उनले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । एमालेका उम्मेदवारलाई हराएर पहिले पहिलेझैँ जित निकाल्न भने पौडेललाई सहज छैन । उनले तनहुँमै कांग्रेसलाई मिलाउन सकेका छैनन् जसले कार्यकर्ता भित्र असन्तुष्टि छ ।

योभन्दा पनि कांग्रेसको जोशी समूह दोस्रो पटक उनलाई हराउने अभियानमा रहनेछ । अघिल्लो निर्वाचनमा गोविन्दराज जोशीले पौडेलविरुद्ध उम्मेदवारी नै दिएका थिए । तर मैदानमा उत्रनुअघि नै उनको उम्मेदवारी रद्द भएको थियो । तर जोशीले आफू स्वयं पौडेललाई हराउन नपाए पनि एमालेका कृष्णकुमार श्रेष्ठलाई जिताएर त्यो चाहाना पूरा गरे । उम्मेदवारी रद्द भएपछि पौडेललाई हराउन सहयोग गरेको भनेर जोशीलाई कांग्रेस कार्यसमितिले पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरेको थियो । उनको कारबाही अझै फुकुवा भइसकेको छैन । तर, गोविन्दराज जोशीले यसपटक पनि तनहुँ-१ बाटै उम्मेदवारी दिने उनका छोरा दिपकराज जोशीले इकागजलाई जानकारी दिए ।

‘यसपटक बुवाको उम्मेदवारी तनहुँ-१ बाट उम्मेदवारी रहन्छ,’ उनले भने, ‘अब सधैँ एउटै मान्छेलाई छाड्ने पक्षमा छैनौँ हामी ।’ जोशी समूहको उम्मेदवारीले पौडेलको जितलाई फेरि रोक्न सक्ने नेताहरू बताउँछन् । स्थानीय निर्वाचनमा पनि जोशी समूहले एमालेसँग तालमेल गरेर चुनाव लडेको थियो ।

उनीसँग गोविन्दराज जोशी मात्रै होइन, अन्य नेता पनि आक्रोशित छन् । नेपाली कांग्रेस तनहुँको सचिवबाट राजीनामा गरेका विश्व बास्तोलाले पनि उनीविरुद्ध तनहुँ-१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आफू परिवर्तनको पक्षमा रहेको भन्दै उम्मेदवारी घोषणा गरेको बताएका थिए । बास्तोला कुनै बेला पौडल समूहमै थिए । तर, स्थानीय निर्वाचनमा टिकट वितरण योगदान अनुसार नभएको उनको असन्तुष्टि थियो । उनले स्वतन्त्रबाटै उम्मेदवारी दिने घोषणा गरेका छन् । बास्तोलाको उम्मेदवारी पनि नेता पौडेलका लागि भारी बन्न सक्ने स्थानीयको आँकलन छ ।

तनहुँ-१ मा देवघाट गाउँपालिका, आँबु खैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, भानु गाउँपालिका र व्यास नगरपालिकाको ५ र ६ वडा बाहेकका सबै वडा पर्छन् ।  भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा ५ वटा स्थानीय तहमध्ये  तीनमा कांग्रेस, र बाँकी दुईमा एमाले र माओवादीले एक-एक वटा पालिका जितेका थिए । वडागत मतको हिसाबमा पनि कांग्रेस अगाडि देखिन्छ । व्यास नगरपालिकामा पर्ने ४ र ७ बाहेक सबै वडा कांग्रेसले जितेको छ । बन्दिपुर गाउँपालिकाको ६ वटा वडामा मध्ये माओवादीले २ वटा, एमाले ३ तीन वटा र एमाले एउटा जितेका छन् ।

देवघाट गाउँपालिकाका ५ वटा वडा मध्ये कांग्रेसले तीन वटा वडा र एमालेले २ वटा वडामा जित हासिल गरेको थिए । आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडा मध्ये माओवादीले ३ वटा वडा, कांग्रेसले २ वटा वडा र एमालेले एउटा वडा जितेको थिए । यस्तै भानु नगरपालिकाका १३ वटा वडा मध्ये ९ वटा वडा कांग्रेस एक्लैले जितेको थियो भने एमाले र स्वतन्त्रले समान दुई-दुई वटा वडा जितेका थिए ।

वडागत मतका आधारमा हेर्दा कांग्रेस बलियो देखिन्छ । अझै सत्ता गठबन्धनका दलहरूको साथ पाएपछि पौडेलको जित निश्चित जस्तै देखिन्छ । तर, अघिल्लो पटक हार बेहोरेका पौडेलले ढुक्क हुने अवस्था नभएको नेताहरू बताउँछन् । पार्टी भित्रको असन्तुष्ट पक्षलाई समेत साथमा लिएर हिड्न सके मात्र पौडलको जितेरमात्रै मर्ने इच्छा पूरा हुने धेरैको विश्लेषण रहेको छ । 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x