राजनीति

कञ्चनपुर-१ बाट सर्वसम्मत सिफारिस वीना मगरलाई जित्न कति चुनौती ?

कमल विष्ट |
भदौ ३१, २०७९ शुक्रबार १८:२५ बजे

काठमाडौँ- पाँच दलीय सत्तासीन गठबन्धनबीच सिट बाँडफाँटका विषयमा सहमति जुट्न सकेको छैन । तर, गठबन्धनमा सम्मिलित दलहरूले भने विभिन्न क्षेत्रमा उम्मेदवार सिफारिसलाई तीव्रता दिएका छन् । निकै चासोसाथ हेरिएको कञ्चनपुर–१ मा गठबन्धनमा सहभागी नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आ–आफ्ना उम्मेदवारलाई सर्वसम्मत सिफारिस गरेका छन् । 

यस क्षेत्रबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसले दिवानसिंह विष्ट र माओवादी केन्द्रले वीना मगरलाई एकल रूपमा अगाडि सारेका छन् । मगर र विष्ट गत निर्वाचनमा पनि प्रतिनिधिसभा सदस्यका लागि आमनेसामने भएका थिए । त्यतिबेला मगरले विष्टलाई दोब्बर मतले हराएकी थिइन् । मगरले ३८ हजार ४ सय ६७ मत पाउँदा विष्टले १९ हजार २ सय १९ मत ल्याएका थिए । दुवै पार्टीले आ-आफ्नै उम्मेदवार सिफारिस गरे पनि गठबन्धनले मगरलाई साझा उम्मेदवार बनाउने चर्चा छ । 


यता, प्रमुख प्रतिपक्षी नेकपा एमालेले यहाँबाट तीन जनाको नाम अगाडि सारेको छ । एमालेको क्षेत्रीय कमिटीले सुदूरपश्चिम प्रदेशसभा सदस्य तारा लामा तामाङ, खेम सुवेदी र वीरबहादुर थापाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ । नेकपाका एक नेताका अनुसार तीन जना सिफारिस भए पनि पार्टीले तामाङलाई टिकट दिने पक्का छ । ‘एमाले फुटेपछि उहाँ माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा जानुभएको थियो । समाजवादीले लामालाई प्रदेश अध्यक्ष र पार्टीको पोलिटब्युरो सदस्य बनाएको थियो । अध्यक्ष ओली ज्यूले एमालेमा फर्केर आएपछि टिकट दिउँला भनेपछि लामा एमालेमा फर्किनुभएको हो,’ ती नेताले भने ।

यसरी हेर्दा कञ्चनपुर–१ बाट गठबन्धनको प्रतिनिधित्व गर्दै मगर र एमालेबाट लामाले टिकट पाउने सम्भावना अधिक छ । र, गत निर्वाचनमा एकअर्कालाई जिताउन सहयोग गरेका माओवादी र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

माओवादीलाई कति चुनौती ?

एमाले र माओवादीबीच प्रतिस्पर्धा भएको खण्डमा यहाँ दुवैलाई उत्तिकै चुनौती देखिन्छ । सुरुमा यस क्षेत्रमा माओवादीलाई कतिको गाह्रो छ भन्ने हेरौँ । कञ्चनपुर स्थानीय चुनावमा गठबन्धनबीच तालमेल नभएको जिल्लामा पर्छ । ९ वटा पालिका भएको कञ्चनपुरमा माओवादी र एकीकृत समाजवादीबीच मात्र तालमेल भयो । गठबन्धनका घटकले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा पनि एकले अर्कालाई सहयोग नगर्ने आशंका बढेको छ । मगरको जितमा निर्णायक देखिएको कांग्रेसले समर्थन नगरे माओवादीलाई जित्न सम्भव देखिँदैन । यो पहिलो र मुख्य कारण हो । 

दोस्रो, एकीकृत समाजवादीका थुप्रै नेता एमालेमा फर्किएका छन् । समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश अध्यक्ष तारा लामा तामाङ, समाजवादीका जिल्ला उपाध्यक्ष अशोक चन्द, लालबहादुर शाहीलगायतका थुप्रै नेताहरू एमालेमा फर्किएका छन् । जिल्लाका शीर्ष नेतृत्वसँगै तल्लो तहका कार्यकर्ता पनि एमालेमा फर्किएका छन् । यसको प्रत्यक्ष–परोक्ष असर माओवादीलाई पर्ने छ ।

तेस्रो, पूर्वखानेपानी मन्त्रीसमेत रहेकी सांसद मगरसँग नागरिकहरू असन्तुष्ट छन् । मगरले आफ्नो क्षेत्रका लागि गर्नसक्ने जति पनि गर्न नसकेको आरोप छ । 

एमालेलाई कति चुनौती ? 

माओवादीलाई प्रमुख तीन चुनौतीपछि अब एमालेलाई चुनौतीबारे चर्चा गरौँ । एमालेलाई पहिलो र सबैभन्दा ठूलो चुनौती गठबन्धन नै हो । एमाले एक्लैले पाँच दलीय गठबन्धनसँग जुध्नुपर्ने छ । 

दोस्रो, कञ्चपुर–१ माओवादीको पकड क्षेत्र हो । स्थानीय तहमा गठबन्धनबीच सहकार्य नहुँदा पनि माओवादीले यस क्षेत्रमा राम्रो मत ल्याएको छ । यस क्षेत्रमा दुई नगरपालिका र दुई गाउँपालिका गरी चार स्थानीय तह छन्– पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका, बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिका । ती चार तहमा कूल ३२ वडा छन् । ती ३२ मध्ये ८ माओवादी एक्लैले जितेको छ । एमालेले १० वडा जितेको छ । 

तेस्रो, वडागत मतमा गठबन्धन अगाडि छ । ३२ वडाबाट गठबन्धनले २७ हजार ९ सय १५ मत पाएको छ भने एमालेले १८ हजार ७ सय ७३ मत पाएको छ । वडागत मतमा एमालेभन्दा गठबन्धन ९ हजार बढीले अगाडि छ । कांग्रेसलगायत सहयोग पाएमा मगरलाई जित्न गाह्रो हुने छैन । 

चौथो, एमालेभन्दा व्यापक अन्तर्विरोध । सिफारिस भएको तीन जनामध्ये सबै आफ्नो अडानबाट टसमस हुने पक्षमा छैनन् । एमालेले तामाङलाई टिकट दिए सुवेदी र थापाले व्यापक असन्तुष्टि व्यक्त गर्नेछन् । यसो हुँदा एमालेमा असन्तुष्टि चुलिने छ, जसको अप्रत्यक्ष फाइदा माओवादीलाई मिल्नेछ ।

एमाले र माओवादीको आआफ्नै दाबी 

निरू पाल

एमालेकी कञ्चनपुर जिल्ला इन्चार्ज निरु पाल माओवादीलाई सहजै जित्ने दाबी गर्छिन् । २०७४ निर्वाचनमा एमालेको सहयोग पाएर माओवादीले जितेको र यसपालि एमालेको सहयोग नहुने भएकाले जित्न नसक्ने पालको भनाइ छ । माओवादीले संघीय चुनावमा पनि कांग्रेसको सहयाेग नपाउने उनले बताइन् । ‘माओवादीलाई कांग्रेसले सहयोग गर्छ भन्छ भन्ने लागेको छ, तर यथार्थ फरक छ,’ इकाजगजसँग उनले भनिन्, ‘स्थानीय तहको तिक्तता संघीय चुनावमा पनि दोहोरिनेछ ।’

उनले एकीकृत समाजवादीका जिल्लाका पाँच शीर्ष नेतामध्ये चार जना एमालेमा फर्किसकेकाले पनि एमालेको जित सुनिश्चित भएको बताइन् । ‘समाजवादीका पोलिटब्युरो सदस्य तथा प्रदेश अध्यक्ष तारा लामा तामाङ, समाजवादीका जिल्ला उपाध्यक्ष अशोक चन्द, लालबहादुर शाहीलगायतका थुप्रै नेताहरू एमालेमा फर्किएका छन् । उहाँहरूसँगै कार्यकर्ता पनि फर्किसक्नुभएको छ,’ उनको भनाइ छ ।

माओवादीबाट समेत केही व्यक्तिहरू एमालेमा प्रवेश गरेको उनले बताइन् । 

पालले वडागत मतका आधारमा संघीय चुनावमा कसले जित्छ भन्ने कुरा निर्धारण नगर्ने स्पष्ट पारिन् । त्यस्तै, पार्टीले जसलाई टिकट दिए पनि कसैको असन्तुष्टि नरहने उनले बताइन् । 

टेकेन्द्र भट्टयता, कञ्चनपुरका माओवादी जिल्ला इन्चार्ज टेकेन्द्र भट्टले जिल्लाका तीन क्षेत्रमध्ये एकमा पार्टीको बलियो पकड भएकाले आफूहरूले जित्नेमा कुनै सन्देह नरहेको बताए । माओवादीले कञ्चनपुरबाट कुनै एउटा क्षेत्र रोज्नु पर्‍याे भने पनि एक नै रोज्ने भट्टको भनाइ छ । क्षेत्र नम्बर १ पार्टीका आधार क्षेत्र भएको उनले बताए । त्यस्तै, स्थानीय तह चुनावमा गठबन्धनका घटकबीच सहमति जुट्न नसके पनि संघीय चुनावमा भने एकले अर्कालाई खुलेर सहयोग गर्ने उनी बताउँछन् । ‘गठबन्धनमा सम्मिलित दलबीच कुनै पनि प्रकारको तिक्तता छैन । एमाले भ्रममुक्त भए हुन्छ,’ उनले भने । 

‘कमरेड मगरले यस क्षेत्रका लागि केही गरेन भन्ने कुरा छ । त्यो सत्य होइन । बरु उहाँले अहिलेसम्मका प्रतिनिधिमध्ये तुलनात्मक रूपमा राम्रो गर्नुभएको छ,’ उनले भने, ‘उहाँको विकासका थुप्रै कार्ययोजना अगाडि बढाउनुभएको छ ।’

त्यस्तै, भट्ट समाजवादीबाट केही व्यक्तिहरू एमालेमा प्रवेश गरे पनि त्यसको असर माओवादीलाई नपर्ने बताउँछन् । माओवादीबाट पनि कार्यकर्ताहरू एमालेमा प्रवेश गरे भन्ने कुरा पूर्ण रूपमा निराधार भएको उनले स्पष्ट पारे । ‘माओवादी केही साथीहरू एमालेमा प्रवेश गरे भन्ने कुरा बाहिर आएको छ । त्यो पूर्ण रूपमा निराधार हो,’ उनले भने ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x