राजनीति

मानव बेचबिखन तथा ओसारपसारविरुद्धको ऐनलाई संसदबाटै पारित गर्छाैँ : मन्त्री रेग्मी

इकागज |
साउन १६, २०७९ सोमबार १४:४४ बजे

फाइल तस्बिर

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसारपसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्‍ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

मन्त्री रेग्मीले पीडित महिला तथा बालबालिकाहरूको हेरचाहका लागि बनेका पुनर्स्थापना केन्द्रका लागि आफ्नो मन्त्रालयले बजेट कम भएपनि विनियोजना गरिरहेको पनि स्पष्ट पारिन् । सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले खासगरी महिला र बालबालिकाको बेचबिखन र ओसारपसार संवेदनशील विषय भएकाले आफ्नो मन्त्रालयले स्रोत र साधनले भ्याएसम्म त्यस्ता अपराधको रोकथाम तथा नियन्त्रण गर्ने र पीडितलाई राहत दिनेगरी पुनर्स्थापना केन्द्र लगायतको व्यवस्था गरेको बताइन् ।


मन्त्री रेग्मीले मानव बेचबिखन तथा ओसारपसारविरुद्धको ऐनलाई यही संसदबाटै पारित गराउने गरी तयारी गरिरहेको पनि जानकारी दिइन् । फाष्ट ट्रयाकबाट त्यसलाई अघि बढाउन कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहयोग आवश्यक रहेको पनि उनले बताइन् ।

बैठकमा बोल्दै गृह सचिव टेकनारायण पाण्डेले मनोरञ्जनको क्षेत्रमा हुने मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण तथा रोकथामका लागि सरकारले आवश्यक सुरक्षाकर्मीहरुको परिचालन गरेको बताए। मानव बेचबिखन हुन नदिन स्थानीय तहलाई जिम्मेवार बनाउने गरी गृहमन्त्रालयले काम गरिरहेको पनि उनको भनाई थियो ।

सचिव पाण्डेले मानव बेचबिखन जस्ता अपराधजन्य काम हुन नदिन सरकारले जनचेतनामूलक कार्यक्रमहरु पनि संचालन गरिरहेको बताए ।

 


Author

थप समाचार
x