राजनीति

१४ महिनाअघि मिश्रलाई तपाईं राजावादी हो भनेर सोध्दा...

कमल विष्ट |
साउन ३, २०७९ मंगलबार १९:२८ बजे

आफूलाई वैकल्पिक राजनीतिक शक्ति दाबी गर्ने विवेकशील साझाका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो ‘विचारभन्दा माथि देश’ नामक पुस्तक छिट्टै सार्वजनिक हुने घोषणा गरेका छन् ।

मिश्रले पुस्तकमा खुलेरै संवैधानिक राजसंस्थाको पुनःस्थापना र संघीयता खारेजीको पक्षमा वकालत गरेका छन् । उनले हिन्दू-बौद्ध राष्ट्रको पक्षपोषण पनि गरेका छन् । अवस्था फेर्न राजनीतिमा आएको हुँ भनेर बताउने मिश्र व्यवस्था फर्काउने गरी पुस्तक निकाल्दै छन् । 


उनले दूरगामी हितका लागि मुलुकमा राजसंस्था पुनःस्थापना, संघीयता खारेजी र हिन्दू-बौद्ध राष्ट्र हुनुपर्नेसमेत बताएका छन् । संघीयता तथा धर्म निरपेक्षतालगायत मुलुकको धरातलीय यथार्थसँग नमिल्ने भएकाले राष्ट्रका लागि घातक भएको पनि उनले पुस्तकमा उल्लेख गरेका छन् । 

मुलुकले पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बीपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रुपमा अंगिकार गर्नुको विकल्प नभएको उनको तर्क छ । 

त्यसो त मिश्रले मुलुकमा संवैधानिक राजसंस्था, संघीयता र धर्म निरपेक्षता खारेजीको मुद्दा बोक्ने यो दस्तावेज गत साउनमै पार्टीभित्र अगाडि सारेका थिए । तर, उनले यी मुद्दाबारे कहिल्यै खुलेरै बोलेका थिएनन् । घुमाउरो तरिकामा उनी राजसंस्थाको पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा आफ्नो विचार राख्थे । 

दस्तावेज सार्वजनिक गर्नु पाँच महिनाअघिसम्म त कसैले उनलाई तपाईं राजावादी हो भनेर प्रश्न गर्दा मात्रै पनि कड्किन्थे । २३ चैत २०७७ मा विवेकशील साझा पार्टीले केन्द्रीय कार्यालय बखुन्डोलमा पत्रकारसँग अन्तर्क्रिया राखेको थियो । उक्त कार्यक्रममा यो पंक्तिकारले तत्कालीन पार्टी अध्यक्ष मिश्रलाई तपाईं राजावादी हो भनेर सोध्दा उनी कड्किएका थिए । 

अहिले संविधानको मर्मविपरीत लेखिएको पुस्तकको खुलेआम प्रचार गरिरहेका मिश्रले उक्त कार्यक्रमको सुरुमै आफ्नो पार्टी संविधानमा विश्वास गर्ने पार्टी भएको जिकिर गरेका थिए । यतिमात्र होइन, लोकतन्त्र धर्मराएकोमा पनि दुःख व्यक्त गरेका थिए । 

‘लोकतन्त्र धर्मराएको अवस्था छ । सरकार बदलिइरहेका छन्, तर जनताको अवस्था उस्तै छ’, लोकतन्त्रका उपलब्धीहरू कुनै पनि नेतृत्वले संस्थागत गर्न नसकेकोमा उनी चिन्तित थिए । 

उनले आफ्नो कुरा राखिसकेपछि पत्रकारका लागि ‘फ्लोर ओपन’ गरिएको थियो । पत्रकारहरूले पार्टी महाधिवेशन, पार्टीका एजेन्डा, संगठन निर्माणलगायतका विभिन्न विषयमा प्रश्न सोधे । उनले सबैलाई पालैपालो जवाफ दिए । 

आफ्नो प्रश्न सोध्ने पालो आएपछि यो पंक्तिकारले सोधेको थियो- धर्म निरपेक्षता र संघीयताका सवालमा पार्टीको धारणा के हो ? अनि बजारमा तपाईं राजावादी हो भन्ने हल्ला सुनिन्छ, के तपाईं राजावादी हो ?

प्रश्न सुनेर मिश्र एकछिन मज्जैले मुस्कुराए । त्यसपछि अलि रिसाएको स्वभावमा उत्तर दिन थाले । उनले सिधै उत्तर दिएनन् । लामो भूमिका बाँध्दै जवाफ फर्काए । 

‘तपाईंले मिश्र राजावादी हो भन्ने हल्ला पनि आइरहेका छन् भन्नुभयो हैन ? त्यसो हुनाले मैले अलिकति आफ्नो पृष्ठभूमि र आफ्ना भइरहेका हल्लाबारे बताउनैपर्छ’, पृष्ठभूमिसहित जवाफ दिन थाले उनी, ‘म बीबीसीमा कार्यरत रहँदा नेताहरूसँग अन्तर्वार्ता लिन्थेँ, त्यसबेला माओवादी नेतासँग अन्तर्वार्ता लिएको भन्दै मलाई माओवादी नजिक भनियो । यस्तै २०५६ को निर्वाचनमा एमालेले जित्नैपर्छ भनेर भू-मध्यरेखा स्तम्भमा मैले लेखेपछि मिश्र एमाले रहेछ भनियो ।’

मिश्रले अगाडि भनेका थिए, ‘केही समयपछि रवीन्द्र मिश्र कांग्रेसी हो भन्ने हल्ला चल्यो । दोस्रो जनआन्दोलन सुरू हुँदा मैले एउटा तर्क अगाडि सारेको थिएँ, राजदरबार भत्काएर त्यसको ठाउँमा दिल्ली दरबार निर्माण नगरौं । किनभने नेपालीले नेपालीलाई हानेको चड्कन सहन सकिन्छ, नेपालीलाई विदेशीले आएर हानेको चड्कन सहन सकिँदैन भनेर तर्क गरेँ । अनि म राजावादी भएँ ।’

मिश्र यतिमै रोकिएनन् । पार्टी खोलिसकेपछि उनले आफूलाई लाग्ने गरेको एउटा अर्को आरोपबारे आफैँले बताए र त्यसको खण्डन पनि गरे । ‘जब साझा पार्टी खोलेँ, त्यसपछि म युरोपियन दलाल भएँ । नेपाली धर्मसंस्कृति मास्न आएको एजेन्ट भएँ । म जहाँ छु, त्यहीँ छु । जे छु, त्यही छु । मेरो स्वाभिमान

धरातलबाट थोरै पनि डगमगाएको छैन । म यस्ता किसिमका हल्लाहरूबाट विचलित हुने मानिस पनि होइन,’ उनले भने, ‘मलाई राजावादीदेखि डलरवादीसम्म भने, तर यस्ता कुराले मलाई खासै अन्तर राख्दैन ।’

उनले अन्तिममा भने, ‘राजनीति र कूटनीति तपाईंले खोजेजस्तै सधैँ स्पष्ट उत्तर हुँदैन ।’

देश, काल र परिस्थितिअनुसार मान्छेको विचार बद्लिन्छ । परिवर्तन हुनु अस्वभाविक होइन । अझ भन्ने हो भने परिवर्तनको नियम संसारको एकमात्र अपरिवर्तनीय नियम हो । इतिहासमा थुप्रै राजनीतिज्ञहरूले ‘मार्ग परिवर्तन’ पनि गरेका छन् । 

बीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिए । मदन भण्डारीले जनताको बहुदलीय जनवाद विचारधारा बनाएर कम्युनिष्ट राजनीतिलाई संसदीय साझेदार बनाए । ‘बेबी किंग’ भनिरहेका गिरिजाप्रसाद कोइरालाले गणतन्त्रको संकल्प लिए । विचार बदलिनु कुनै अनौठो कुरा होइन । तर, कोही राजनीतिज्ञ हरेक वर्षमात्र होइन, हरेक महिना आफ्नै तर्कहरू काट्दै ‘नयाँ तर्क’ झिक्न सक्छ ? मिश्रको ‘संविधानवाद’ विचारभन्दा माथि देशसम्म आइपुग्दा १८० डिग्री परिवर्तन भएको छ। 

क्षणप्रति क्षण बदलिरहने ‘विचार’ हो कि भावना ? राजनीति भावनाबाट निर्देशित हुनुपर्दछ कि विचारबाट ? 
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x