राजनीति

धर्मसंकटमा प्रचण्ड : महासचिव र वरिष्ठ उपाध्यक्ष चुन्‍नै सकस

कमल विष्ट |
असार २१, २०७९ मंगलबार १९:२२ बजे

काठमाडौँ- पार्टी पदाधिकारी चयनसम्बन्धी निष्कर्ष वा निर्णयमा पुग्‍न नसकेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यतिखेर तनाव र सकसमा देखिन्छन् । अनेक पटकको स्थगनपछि काठमाडौँको प्रज्ञा भवनमा आइतबारदेखि बसेको माओवादीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकले पनि पदाधिकारी घोषणा गर्न सकेन ।

आइतबारकाे बैठकको प्रारम्भमा पार्टी अध्यक्ष दाहालले ९ बुँदे अजेण्डा प्रस्तुत गरे । नयाँ केन्द्रीय सदस्यको शपथग्रहण, पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रचण्डले रिपोर्टिङलगायतका ९ वटा अजेण्डामध्ये एक थियो– महाधिवेशन भएको ७ महिनासम्म नटुंगिएका पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरोलाई पूर्णता दिने । 


यी सबै चयन गर्ने अधिकार प्रचण्डलाई थियो । त्यसैले, केन्द्रीय कमिटी सदस्य, प्रदेश अध्यक्षलगायत सबैलाई अपेक्षा थियो– अध्यक्ष प्रचण्डले पदाधिकारीलगायतको नाम चयन गर्ने छन् । तर, त्यसो भएन । पार्टीले महासचिव पाइनसकेकाले आफैँ बैठक सञ्चालन गरेका प्रचण्डले पदाधिकारीलगायतको नाम चयन गरेनन् ।

सबैभन्दा धेरै अपेक्षा गरिएको विषयमा नबोलेर उनले बरु केन्द्रीय कमिटीले पूर्णता पाएकोमा खुसी व्यक्त गरे । ‘अब केन्द्रीय समितिले पूर्णता पाएको छ,’ उनले भने, ‘१२ जना केन्द्रीय समिति मनोनित गर्न बाँकी छ । त्यसमा छलफल गरेर टुंग्याउनु पर्छ ।’

त्यसपछि उनले स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र कमजोर हुनुको समीक्षालगायत विभिन्‍न विषय समेटिएको १० पृष्ठ लामो ‘राजनीतिक प्रतिवेदन’ प्रस्तुत गरे।निर्वाचनमा पार्टी कमजोर हुनुका कारण खुलाए । पार्टीको फितलो प्रदर्शनको प्रमुख दोष गठबन्धनमा सम्मिलित दलले इमान्दारीपूर्वक माओवादीलाई भोट नहाल्नु र आफ्नै पार्टीको अन्तर्घात भएको निष्कर्ष निकाले । उनले निर्वाचन समीक्षा, एमसीसी, श्रीलंकामा देखिएको आर्थिक संकटका विषयमा पनि चर्चा गरे । 

यति बोलेर उनी आजको बैठक स्थगित भएको र अर्को बैठक सोमबार ११ बस्‍ने जानकारी दिँदै बिदा भए ।

उनले यस विषयमा नबोले पनि बैठकमा १०-१० मिनेटको समय पाएर आ-आफ्नो प्रदेशबारे रिपोर्टिङ गर्ने केही प्रदेश अध्यक्ष तथा इन्चार्जहरुले तेस्रो बैठकबाट जसरी भए पनि पदाधिकारीलगायतहरु चयन हुनुपर्ने जोडदार माग राखेका थिए ।

बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेलले पाँच दिनसम्म केन्द्रीय समिति बैठक बसेर भए पनि पदाधिकारी टुंग्याउनुपर्ने बताए । ‘बरु पाँच दिनसम्म बैठक बसौँ अध्यक्ष कमरेड ! यो केन्द्रीय समिति बैठकबाट पदाधिकारी र अरु संरचना टुंग्याऔँ,’ उनले भने ।

सोमबार फेरि बैठक सुरू भयो, ११ बजे । सोमबारको बैठकमा पनि यो विषय पेचिलो बन्यो । २ मिनेटको समय लिएर बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पदाधिकारीको सन्दर्भमा अध्यक्ष प्रचण्डले छिट्टै टुंगो लगाउनुपर्ने आवाज उठाए । प्रचण्डलाई थप दबाब महसुस भयो । 

साेमबारकाे बैठकमा तेस्राे बैठकबाटै याे विषय टुंग्याउनु पर्ने दबाब बढ्दै गएपछि उनले मंगलबारकाे बैठक स्थगित गरेर गृहकार्यमा जुटे । मंगलबार उनकाे निवास खुमलटारमा विस्तारित बैठक बस्याे । बैठकले पदाधिकारीलाई पूर्णता दिने सम्पूर्ण अधिकार उनैलाई दियाे ।

अध्यक्षपछिको सबैभन्दा शक्तिशाली पद मानिने महासचिवका लागि कम्तीमा पनि दुई आकांक्षी देखिएका छन् । ती हुन्– वर्षमान पुन र जनार्दन शर्मा । पुन र शर्मा आआफ्नै अडानमा छन् । यीमध्ये कसै एकलाई सर्वसम्मत रूपमा महासचिव बनाउन सक्ने अवस्थामा प्रचण्ड छैनन् ।

दुई आकांक्षीमध्ये कसै एकलाई महासचिव बनाउँदा पार्टीभित्र विचलन आउन सक्ने सम्भावना देखेर ७ महिनादेखि पन्छिरहेका प्रचण्ड फेरि एकपल्ट सकसमा परेका छन् । केही महिना मात्र परको संघीय र प्रादेशिक निर्वाचनमा यसै कारणले मनमुटाव सिर्जना नहोस् र यसको असर निर्वाचनमा नदेखियोस् भन्‍नेमा उनी अत्यन्तै सचेत देखिन्छन् ।

यता पार्टीको अर्को शक्तिशाली पद मानिने वरिष्ठ उपाध्यक्ष चयनमा पनि उनलाई यस्तै हम्मेहम्मे परेको छ । वरिष्ठ उपाध्यक्षका लागि नारायणकाजी श्रेष्ठ, मातृका यादव र कृष्णबहादुर महराले आआफ्नो दाबी कायमै राखेका छन् ।

यस्तो अवस्थामा प्रचण्डलाई सहमतिका आधारमा कसै एकलाई महासचिव र कसै एकलाई वरिष्ठ उपाध्यक्ष चुन्‍न सहज देखिँदैन । भोलि (बुधबार) १ बजेलाई तय भएकाे बैठकमा अध्यक्ष प्रचण्डले महासचिव, वरिष्ठ उपाध्यक्षलगायतका नामहरू घोषणा गर्न गाह्रो देखिने अनुमान गर्न सकिन्छ ।

माओवादी केन्द्रमा अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी, १ सय २७ सदस्यीय पोलिटब्यूरो र ४१ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था छ । त्यस्तै, ३ सय ८९ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ । उसले केन्द्रीय सदस्यमा भने ३ सय ७७ सदस्यको टुंगो लगाइसकेको छ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x