राजनीति

पार्टी पंक्तिलाई प्रचण्डले भने : एसपीपी खारेज गर्ने माओवादी नै हो भनेर जनतामाझ भनिदिनुस्

इकागज |
असार ९, २०७९ बिहीबार १४:३९ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्पूर्ण पार्टी पंक्तिलाई जनतामाझ अमेरिकी सैन्य रणनीति एसपीपी सम्झौता खारेज माओवादीले नै गरेको हो भनेर भन्‍न आह्वान गरेका छन् । 

बिहीबार माओवादी केन्द्र ललितपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले एसपीपी खारेज गर्नका लागि सबैभन्दा पहिला प्रधानमन्त्री शेरबहादुर देउवालाई भन्‍ने व्यक्ति आफू नै भएको उल्लेख गरे । ‘एसपीपी सम्झौता खारेज गर्ने माओवादी केन्द्र नै हो भनेर जनतामाझ भनिदिनोस्,’ उनले भने ।


दाहालले प्रधानमन्त्री देउवालाई एसपीपी सम्झौता खारेज नगर्ने भए गठबन्धन दुर्घटनामा जान्छ भनेर चेतावनी समेत दिएको बताए । ‘एसपीपी ठीक छैन भन्‍ने कुरा मैले नै प्रधानमन्त्रीलाई सबैभन्दा पहिला भनेको हुँ,’ उनले भने, ‘यौ सैन्य सम्झौता नै हो । नेपाल कुनै पनि खालको सैन्य सम्झौतामा सहभागी हुन सक्दैन ।’

उनले प्रधानमन्त्री देउवालाई आफूले भनेको कुरा उदृत गर्दै भने, ‘प्रधानमन्त्रीज्यू, नेपालले एसपीपी सम्झौता गरे गठबन्धन दुर्घटना जान्छ मैले उहिल्यै भनेको थिएँ ।’

प्रधानमन्त्री देउवा स्वयं एसपीपी सम्झौता गर्ने पक्षमा नरहेको पनि दाहालले बताए । प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता आफूले मरे पनि नगर्ने भनेपछि आफूले उनलाई धन्यवाद दिएको प्रचण्डले जिकिर गरे । ‘त्यसपछि मैले उनलाई हामी गठबन्धन बसेर यसलाई अस्वीकार गर्ने निर्णय गर्नुपर्छ भनेपछि अहिले खारेज भयो,’ उनले भने । 

दाहालले केपी शर्मा ओली सरकारमा भएका बेला एसपीपी सम्झौतालाई धेरै अगाडि बढाइएको आरोप पनि लगाए । 


Author

थप समाचार
x