राजनीति

लेकबेशी नगरपालिकाको निर्णय : डाक्टर पढाउनेदेखि नि:शुल्क एम्बुलेन्स सेवा

लक्ष्मी भण्डारी |
जेठ ९, २०७९ सोमबार १६:१९ बजे

सुर्खेत- लेकबेशी नगरपालिकाले डाक्टर पढाउनेदेखि गर्भवतीलाई नि:शुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ । नगरमा डाक्टरहरुको अभावमा स्वास्थ्य सेवा पहुँच बाहिर रहेको भन्दै पाँच जना विद्यार्थीलाई डाक्टर पढाउने निर्णय गरिएको हाे ।

नगरपालिकाको कार्यभार सम्हाल्दै नगर प्रमुख उमेश पौडेलले हरेक वर्ष एक जनाको दरले पाँच वर्षमा पाँच जना डाक्टर पढाउने निर्णय गरेका हुन् । नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकी भएपनि विशेषज्ञ डाक्टरहरु नहुँदा आफ्ना नागरिकहरुले उपचारमा सास्ती भोग्नु परिरहेकाले पाँच वर्षको अवधिमा हरेक वर्ष एक जनालाई छात्रवृत्तिमार्फत डाक्टर पढाउने निर्णय नगरपालिकाले गरेको नगरप्रमुख उमेश पौडेलले जानकारी दिए ।


‘नगरपालिकामा प्राथमिक स्वास्थ्य चौकीहरु त छन् तर, यहाँ डाक्टरहरु बस्न मान्दैनन्,’ पौडेलले भने, ‘त्यसैले नगरवासीलाई नै छात्रवृत्ति दिएर डाक्टर पढाउने निर्णय गरेका हौं यसले नगरवासीमा स्वास्थ्य सेवालाई प्रभावकारी हुन्छ भन्ने विश्वास लिएका छौ ।’ पौडेलले कार्यविधि बनाएर डाक्टर पढाउनका लागि कोषको व्यवस्था गरिने बताए ।

‘नगरपालिकाको छात्रवृत्तिमार्फत अध्ययन गरेका डाक्टरले कम्तिमा पाँच वर्ष नगरपालिकाभित्रैको स्वास्थ्य संस्थामा रहेर स्वास्थ्य सेवा दिनुपर्ने कार्यविधि बनाउँछौं,’ पौडेलले भने, ‘यो निर्णयले गरिब, जेहेन्दार र मेहनती विद्यार्थीहरुलाई चिकित्सक बन्ने बाटो खोल्नुका साथै नगरवासीले पनि सहज रुपमा स्वास्थ्य सेवा लिन पाउने विश्वास गरेका छौं।’

त्यसैगरी नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाहरुलाई नि:शुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने निर्णय गरेको छ ‘नगरभित्र र नगरबाट बाहिरका स्वास्थ्य सेवा लिनु परेमा स्वास्थ्यसंस्थाले रिर्फर गर्ने बित्तिकै तुरुन्तै एम्बुलेन्स सेवाको व्यवस्था हुन्छ’ उनले भने, ‘यसमा नगरप्रमुख, प्रशासकीय अधिकृतले फेरि निर्णय गर्नुपर्दैन र रिफर हुनेबित्तिकै तुरुन्तै नि:शुल्क एम्बुलेन्स सेवाको व्यवस्था हुन्छ ।’ नि:शुल्क एम्बुलेन्स सेवालाई एकदमै छिटो छरितो बनाएको पौडेलले बताए । यसमा लामो प्रक्रिया भयो भने नागरिकहरु सुविधाबाट वञ्चित हुने भएकाले स्वास्थ्य सेवालाई छिटो र प्रभावकारी बनाएको उनको भनाइ थियो ।


Author

थप समाचार
x