दल

स्थानीय तह निर्वाचन

टोखामा एमालेलाई विरासत जाेगाउन सकस

अतिन आचार्य |
बैशाख २१, २०७९ बुधबार ८:१९ बजे

काठमाडौँ- स्थानीय तह निर्वाचन आउन अब ९ दिनमात्रै बाँकी छ । निर्वाचनमा निर्वाचित हुन विभिन्न दलका नेताहरू यतिखेर मतदाताको घरदैलोमा पुगेर मत मागिरहेका छन् । गाउँपालिका, नगरपालिका र महानगरपालिकाका मेयर, उपमेयर, वडाअध्यक्ष र सदस्य पदका लागि उपमेयरहरू प्रतिष्पर्धामा छन् ।

सबै दलका नेताहरू नगर क्षेत्रमा यतिखेर चुनावी मैदानमा छन् । वडा-वडामा मतदाताहरूको घरमा नेताहरू घर-आँगनमा पुगिरहेका छन् । निर्वाचनमा होमिएका दलका उमेदवारहरू चुनावमा सफलता हासिल गर्न अन्तिम संघर्षमा छन् ।


काठमाडौँकै टोखा नगरपालिकामा मेयर र उपमेयरका लागि यसपटक पनि नेकपा एमालेका तर्फबाट निवर्तमान मेयर र उपमेयर दोहोरिएका छन् । उनीहरूलाई यसपटक गत निर्वाचनको जस्तो सहज भने छैन । किनभने चुनावमा सत्तागठबन्धनबीच तालमेल छ ।

गठबन्धनका तर्फबाट उठेका कांग्रेसका उम्मेदवारबीच एमालेका निवर्तमान मेयर र गत निर्वाचनमा उपमेयरमा लडेकासँग कडा प्रतिष्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा उपमेयरमा ६२ मतले पराजित बनेकी रजनी थापा यसपटक मेयरको उम्मेदवार बनेकी छिन् ।  नगरपालिकामा कांग्रेसले मेयर र उपमेयरका लागि तालमेल गरेको छैन । दुवै पदको लागि कांग्रेसले उम्मेदवार बनाएको छ । उनीहरूले माओवादीलाई भने वडा तहमा सदस्य दिएर सहमति गरेका छन् ।

कांग्रेसका उम्मेदवारलाई टोखामा विजयी हासिल गर्न उत्तिकै चुनौती छ । किनभने गत स्थानीय निर्वाचनमा एमालेको तर्फबाट मेयर र उपमेयर विजयी हासिल गरेका उम्मेदवारहरू खडा छन् ।

गत निर्वाचनमा कूल ११ वडा मध्ये छ वडामा एमाले र पाँच वडामा कांग्रेसका उम्मेदवार विजयी भएका थिए । तर, गठबन्धनमा सहभागी दल माओवादीले साथ दिएमा एमालेलाई असहज नहुने देखिएको छ । गत स्थानीय निर्वाचनमा माओवादीका सबै उम्मेदवारले गरी करिब ६ हजार मत प्राप्त गरेका थिए ।

उक्त स्थानीय निर्वाचनमा एमालेका दुवै उम्मेदवार मेयर प्रकाश अधिकारी र उपमेयर ज्ञानुमाया डंगोलले विजयी हासिल गरेका थिए । यसपटक पनि एमालेले तीनै जनप्रतिनिधिलाई पुनः उम्मेदवार बनाएको छ । प्रकाशले ८ हजार ८९५ र ज्ञानुमायाले ८ हजार ०९८ मत प्राप्त प्राप्त गरेका थिए ।

नेपाली कांग्रेसको तर्फबाट मेयरमा हरिहर अधिकारी र उपमेयरमा थापा भिडेकी थिइन् । प्रतिस्पर्धी मेयर हरिहरले उक्त निर्वाचनमा ७ हजार ५१४ मत प्राप्त गरेका थिए । उपमेयर रजनीले भने ८ हजार ३६ मत प्राप्त गरेकी थिइन् । नेकपा माओवादीको तर्फबाट मेयरका उम्मेदवार बनेकी कल्पना शर्माले २ हजार ३९२ र उपमेयरकाे उम्मेदवार बनेका दिपक बानियाँले २ हजार ४७४ मत प्राप्त गरेका थिए ।

गठबन्धनको तर्फबाट कांग्रेसले यसपटक गत निर्वाचनमा उपमेयरमा पराजित रजनीलाई मेयर र उपमेयरमा मुरारी तामाङलाई उठाएको छ ।

नगरपालिकामा गत निर्वाचनमा कुल मतदाताको संख्या २३  हजार थियो । यसपटक भने नगरमा ११ हजार मतदाताको संख्या बढेको छ । यसपटक मतदाताहरूको बढेर कूल संख्या ३४ हजार ६ सय मतदाता पुगेका छन् । वडा ११ मा कांग्रेसको तर्फबाट सदस्यकी उम्मेदवार ईश्वरी आचार्यले कांग्रेसको पक्षमा राम्रो माहोल रहेको बताउँछिन् ।  

दुई दशक अघिदेखि राजनीतिमा सक्रिय आचार्य विभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध छिन् । दुई कार्यकाल वडा सचिव भएर काम गरेको अनुभव उनीसँग छ । १४ औं महाधिवेशनमा क्षेत्र नम्बर ६ को क्षेत्रीय समेत हुन् ।

गत निर्वाचनमा मेयर बनेकाहरू प्रतिस्पर्धी उम्मेदवार रहेकाले विजयी हुने कांग्रेसका तर्फबाट उपमेयरको उम्मेदवार बनेका मुरारी बताउँछन्। विजयी जनप्रतिनिधिले आश्वासन गरेबमोजिम मेयर र उपमेयरले काम नगरेको उनले आरोप लगाए । उहाँहरूको कामप्रति नगरबासीको असन्तुष्टि रहेको उनको भनाइ छ ।

'हामीले गर्न सक्ने कामको बारेमा मात्र प्रतिबद्धता पत्र जारी गरेका छौँ,' उनले भने,' कम्युनिष्टले गत निर्वाचनमा नगरबासीलाई ढाँटेर मत प्राप्त गरेका छन् । कम्युनिष्टले गरिबी जनताको नाममा राजनीति गरिरहेकाले कांग्रेसको उम्मेदवार विजयी हुने आधार रहेको उनको भनाइ छ । कम्युनिष्टका नेतालाई विजयी गर्नुपर्ने कुनै पनि कारण बाँकी नराखेको उनले प्रस्ट पारे ।

कांग्रेसले यसपटक सबै वडामा विजयी हासिल गर्ने आधार बनेको मुरारीले विश्वास व्यक्त गरे । गठबन्धनको तर्फबाट वडामा माओवादीका उम्मेदवारहरू सदस्य बनेका छन् । नेकपा माओवादीले सहयोग गर्ने भएकाले कांग्रेसले सबै वडामा जित्ने धारणा राखे ।

विगतमा विश्वास गरेका मतदाताहरूको भोटबाट यसपटक पनि विजय हुने एमालेका मेयर उम्मेदवार प्रकाश अधिकारी बताउँछन् । यसअघि विजयी हुँदा वाचा गरेका धेरै कामहरू पूरा गरिसकेको उनले दाबी गरे ।

'निर्वाचित भइसकेपछि कतिपय काम बाँकी रहेका छन् । २५ प्रतिशत विकासका कामहरू सम्पन्न हुन बाँकी छ,' उनले भने,' बिदाइ हुने समयसम्म टोखाबासीको समृद्धिको निम्ती काम गरिरहेको थिए । विकासका लागि निरन्तर खटेर काम गरे ।'

अधिकारीले टोखा नगरपालिका क्षेत्रको ७५ प्रतिशत विकास गरेको दाबी गरे । प्रशासनिक भवन, मेलम्चीको पानी ल्याउन र बोरिङ समेत निर्माण गरिएको उनले बताए । अस्तव्यस्त सडकलाई व्यवस्थित गरी बनाएको उनले प्रस्ट पारे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x