दल

'चितवनले नेतृत्वकाे चेतनामाथि नै प्रश्न उठाएको छ'

'केन्द्रबाट आएका नेताहरूको आश्वासन र लोभमा इमानदारिता दाउमा लगाउँदिन'

अतिन आचार्य |
बैशाख १५, २०७९ बिहीबार २१:१८ बजे

भरतपुर महानगर मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल, कांग्रेससँग उनले नाता तोडे पनि उनलाई कांग्रेसले बागी उम्मेदवार भनेको छ ।

काठमाडौँ- स्थानीय निर्वाचनको मिति नजिकिए सँगै सबैभन्दा बढी तातिएको स्थानीय तह चितवनको भरतपुर महानगरपालिका हो ।  गत स्थानीय तहको निर्वाचनमा चर्चाको भरतपुर केन्द्रविन्दुमा थियो ।

माओवादी कार्यकर्ताले मतपत्र च्यातेदेखि नै चर्चाको शिखरमा रहेको थियो । अर्कोतर्फ, महानगरमा यसपटक पनि नेकपा माओवादीको तर्फबाट मेयरको उम्मेदवार प्रचण्ड पुष्पकमल दाहालको छोरी रेणु दाहाल उठेकी छिन् ।


सत्ता गठबन्धले प्रचण्ड पुत्री रेणुलाई महानगरको मेयर उम्मेदवारमा सहमति गरेसँगै भरतपुरको राजनीति तातिएको छ । महानगरपालिकामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका रेणु दाहाललाई जिताउनै पर्ने बाध्यता छ । उपमेयरमा भने कांग्रेसकै उम्मेदवार छन् ।

नेपाली कांग्रेसका पुराना उम्मेदवार जगन्नाथ पौडेलले मेयरमा स्वतन्त्र उम्मेदवार मनोनयन गराएकाले गठबन्धनको नेताहरूको पाइला चितवनतर्फ बढेको छ ।

राजनीतिको केन्द्रविन्दू बनेको भरतपुरमा केही दिनअघि मात्र माओवादीका अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल पुगे । लगत्तै नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको दूत बनेर केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाड र विना विभागीय मन्त्री उमेश श्रेष्‍ठसमेत पुगे ।

काँग्रेसप्रति निष्‍ठावान नेता पौडेललाई फकाउन पुगेका नेताहरू आशाभन्दा पनि बढी निराशाको कन्तुर बोकेर नेताहरू काठमाडौँ ओर्लिँदै छन् । उनी प्रजातन्त्र देखि लोकतन्त्रलाई बचाउन खटेका पौडेल सत्ता गठबन्धनको केन्द्रविन्दुमा छन् ।

कांग्रेस बचाउन एकोहोरिएका पौडेल यतिखेर चितवनमा चुनावी सरगर्मी बढेसँगै चर्चाको शिखरमा छन् । गठबन्धन र पार्टीले नपत्याएका उनी भरतपुरका कांग्रेसीका लागि आस्थाका धरोहर बनेका छन् ।

'महानगरका कांग्रेसीले मलाई कांग्रेस बचाउनेका रुपमा लिएका छन्,' उनले भने,' आफू मेटिएर कांग्रेस बनाउँने अभिभारा मेरो जिम्मामा आएको छ । लोकतन्त्रवादी र सच्चा कांग्रेसले यसलाई बचाउने अभियान साथ अगाडि बढेका छन् ।'

कांग्रेसले यसलाई कारबाही गर्ला तर, यसले रूख बचाउन लागि परेको शुभेच्छुकले बताउँदै आएको उनले सुनाए । लोभ र आश्वासन पाएका थिए उनले तर सच्चा राजनीतिज्ञ भएकाले लोभमा पर्नुहुँदैन भन्ने लागेको छ । 'राजनीतिक जीवनमा लोभलालचमा बिताएका मानिसहरू पनि देखेको छु,' उनले थपे,' समाजमा यस्ता मानिसहरूको कमी छैन । कसैको लोभमा पर्दिनँ । केन्द्रबाट आएका नेताहरूको आश्वासन र लोभमा पर्ने मानिस होइन र परिन पनि ।' 

काठमाडौँबाट पुगेका नेताले उनलाई मेयरमा उम्मेदवार दर्ता गराएको नाम झिक्न आग्रह गरेका थिए । निर्वाचनका लागि मेरो यात्रा धेरै अगाडि बढिसकेको नेतालाई उनले बताए ।

संविधानले दिएको अधिकार स्वरुप स्थानीय निर्वाचनमा सहभागी भएको उनको भनाइ छ । पौडेललाई आफ्नो उम्मेदवारीको कारण गठबन्धनमा असर नपर्ने उनलाई लागेको छ । धेरै मानिसले मेयरमा दाबी गरिरहँदा मेयरमा दाबी गर्न पाउने मेरो अधिकार रहेको उनको बुझाइ छ ।

'पार्टीगत रुपमा उम्मेदवार नबनेकाले पार्टीलाई कुनै असर पर्दैन,' उनी पार्टी नेतृत्वप्रति आक्रोश पोख्दै भन्छन', पार्टीको संरक्षण गर्छु भन्दा के गल्ती गरेको छु । रुख चिन्ह लिएर लड्न नपाउने भएकाले मैले स्वतन्त्रताको अधिकार मात्र प्रयोग गरेको हुँ ।'

आफ्नो कारणले गठबन्धन भत्किनु पर्ने जरुरी उनी ठान्दैनन् । उनले भने,' आफूले गठबन्धन पनि बनाएको होइन् । केन्द्रीय राजनीतिले गठबन्धन भएकाले स्थानीय निर्वाचनमा कुनै सरोकार हुँदैन ।' उनले उम्मेदवारी दिएको कारण गठबन्धन भत्किएमा त्यसलाई कच्चा गठबन्धनको संज्ञा दिए ।

पौडेलले भरतपुरमा भरपर्दो नेतृत्व नभएको अभाव महसुस गरे । भरपर्दो र परिपक्व मानिस नपाउनु पनि उनले आवश्यकता ठाने । इतिहासलाई कोट्याउँदा भरपर्दो मानिस नदेखिँदा कांग्रेस लोप हुने अवस्थामा पुगेको उनी ठान्छन् ।

गत स्थानीय तहको निर्वाचनमा पार्टीले भनेको मान्दा पनि संरक्षण गर्ने मानिस नभेटिएको उनले गुनासो गरे । मेरो उम्मेदवारीलाई विश्वास गर्नेहरूको जनमत बढेकाले आवश्यकताको महसुस गरिरहेको उनको भनाइ छ ।

निर्वाचनमा समय-समयमा चमत्कार हुने गरेको पौडेलले सुनाए । 'स्वतन्त्र मानिसले जितेका छन्,'  इतिहास सम्झिदै उनले भने,' चितवनका मानिसहरूको चेतना स्तर बढेको छ । नेतृत्वको चेतनामाथि चितवनका मानिसले प्रश्‍न उठाएका छन् ।  यहाँका मानिसले चमत्कार गरिदिन सक्छन् । चुनावमा विजय हासिल गरे भने कसैले आश्चर्य नमान्दा हुन्छ ।'

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x