दल

चुनावी गठबन्धनले महिला पछाडि पर्ने चिन्ता

सरिता दाहाल |
चैत १९, २०७८ शनिबार १३:१२ बजे

फाइल तस्‍बिर

 

मकवानपुर - स्थानीय तहको निर्वाचन अब ४१ दिन मात्रै बाँकी छ । आगामी ३० वैशाखमा हुने निर्वाचनको लागि मकवानपुरलगायत देशै भर सत्तारुढ पाँच दलीय गठबन्धनबीच तालमेल हुने भएको छ । 


पाँच दलीय गठबन्धन तालमेल गरेर निर्वाचनमा जाने भएसँगै महिला सहभागिता नहुने हो कि भन्ने चिन्ता थपिएको छ । निर्वाचनमा सत्ता गठबन्धन दलहरूले तालमेल गरेर जाने निर्णय भएसँगै यसको असर स्थानीय पालिकामा महिलाहरूको प्रतिनिधित्वमा पर्ने महिला अधिकारकर्मीहरूले आशंका गर्न थालेका छन् ।

दलहरूले छुट्टा–छुट्टै निर्वाचनमा जाँदा स्थानीय तह प्रमुख वा उपप्रमुखमध्ये एक पदमा अनिवार्य महिला उम्मेदवार बनाउनुपर्ने हुन्छ। तर, गठबन्धन गर्दा उक्त व्यवस्था अनिवार्य छैन । यो अनिवार्यताको व्यवस्था आकर्षित नहुने भएकाले फरक–फरक दलबाट दुबै पदमा पुरुष नै उम्मेदवार बन्ने र जित्ने सम्भावना बढी देखिन्छ।

नेपाली कांग्रेस मकवानपुर जिल्ला सहसचिव इन्दीरा न्यौपानलेले गठबन्धनको बैठक सकिएलगतै सामाजिक सञ्जालमार्फत नै यो चिन्ता प्रकट गरेकी छिन् । 'देशैभरि चुनावी तालमेल आवश्यकता र औचित्यको आधारमा गर्ने निर्णय गरिएको छ, निर्णय जे होला त्यो समयले बताउला तर, साँच्चै गठबन्धनको नाममा फेरि पनि देशैभरिको महिलाको सहभागिता सुन्य हुने त हैन ? उनले भनेकी छिन् “राज्यले दिएको स्थानीय तहको ५० प्रतिशत महिला सहभागिताको ग्यारेन्टी गरिएकोमा फेरि पनि गठबन्धनको नाममा महिलाको सहभागिता त शुन्य हुदैछ ।'

राज्यले दिएको अधिकारको हनन् गरिएमा महिला मतदाताले भोट नै नहाल्ने स्थिति नआवस् भन्दै उनले सचेत पारेकी छिन् । 'गठबन्धन हुँदा हामीले अघिल्लो स्थानीय चुनावमा यि सब पीडा भोगिसकेका छौ, त्यसैले अब फेरि पनि गलत निर्णय नहोस्' उनले भनिन् ।

निर्वाचनमा प्रदेशको एक मात्रै उपमहानगरपालिका हेटौंडा उपमहानगरपालिकाको उपप्रमुख जितेकी मिना लामालाई यस पटक गठबन्धनले टिकट दिनेमा शंका छ ।
'गठबन्धनले केही आशंका चाहिँ जन्माएको छ, तर हामीले निर्वाचन आयोग र आ–आफ्नो दललाई खबरदारी गर्नेछौ' नेकपा एकिकृत समाजवादी केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले भनिन् ।

गठबन्धन गर्दा पनि महिलालाई जित्ने स्थान दिन र लैड्डिक समानता कायम राख्नको लागि आफूहरूले पहल जारी राख्ने केन्द्रीय सदस्य सिग्देलले बताइन् । स्थानीय तहको प्रमुखमा महिलालाई प्राथमिकता दिने बहस भइरहेको बेला दलगत गठबन्धनको कारण उपप्रमुखमा पनि महिला नहुने हो कि भन्ने खतरा हो । 'हाम्रो सरोकार प्रमुख पदमै उपस्थिति बढाउने हो, तर चुनौती उपप्रमुख पदमै अन्यथा हुने हो कि भन्ने आयो' सिग्देलले भनिन् ।

दलहरू ‘कमजोर’ बनेकाले पालिकामा महिलाको प्रतिनिधित्व कम हुने सम्भावना बढेको हो । दलहरूले आफूहरू कमजोर भएको आभाष गरेर आपसमा मिलेर लड्न खोज्नु दलको लागि फाइदा होला तर यसले महिलाको प्रतिनिधित्वको अधिकार ओझेलमा पर्छ । गठबन्धनले दुवै पदमा पुरुष हुने सम्भावना बढी हुन्छ । संविधानले तोके बमोजिमको लैंगिक प्रतिनिधित्व भत्किने संभावना प्रवल छ ।

अघिल्लो निर्वाचनमा मकवानपुरको थाहा नगरपालिकामा गठबन्धनको कारण प्रमुख उपप्रमुख दुवै पदमा पुरुष विजयी भएका थिए। 

यसपटक पनि गठबन्धन हुदा हेटौंडा उपमहानगरपालिकामा मेयर काँग्रेसले र उपमेयर नेकपा समाजवादीले पाउने बुझिएको छ । गठबन्धन स्रोतका अनुसार गठबन्धनबाट काँग्रेसका उम्मेदरवार आनन्द पराजुलीले मेयरको टिकट पाउने छन् ।

यसैगरी उपमेयरमा समाजवादीबाट पनि पुरुषले टिकट पाउने चर्चा रहेको छ । समाजवादीले मेयर पदमा लड्न पाउने हो भने हाल बाहालवाला उपमेयर मिना लामाले मेयरमा टिकट पाउने पार्टी केन्द्रीय सदस्य सिग्देलले बताइन् ।


Author

थप समाचार
x