दल

चुनावी तालमेलः कांग्रेस गिज्याउने, गठबन्धन दललाई कज्याउने देउवा नीति

उपेन्द्र अर्याल |
चैत १६, २०७८ बुधबार १८:१६ बजे

काठमाडौँ – कांग्रेस केन्द्रीय समतिको वैठकले स्थानीय चुनावमा स्थानीय आवश्यकता अनुसार तालमेल गरेर जाने नीतिगत निर्णय गरेको छ ।  तीन दिन चलेको बैठक पछि कांग्रेसले यस्तो निर्णय गरेको हो । केन्द्रीय समितिको वैठकमा शेखर कोइराला पक्षले भने चुनावी गठबन्धनको गर्न नहुने मत राख्दै आएका थिए । कम्तीमा कांग्रेसले सबै निर्वाचन क्षेत्र र स्थानीय तहमा उम्मेद्‍वार उठाउनुपर्ने र कांग्रेसका कार्यकर्ताले कांग्रेसलाई मात्र भोट दिने वातावरण बनाउनुपर्नेमा कोइराला पक्ष दृढ रहँदै आएको छ । 

बैठकमा कोइरालाले सत्ता गठबन्धन किन र केका लागि भनेर प्रश्न गरेका थिए । उनले वैठकमा भनेका थिए, ‘गठबन्धन किन गर्ने ? केका लागि गर्ने ? रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी कसरी अघि बढ्नु ? सभापतिले एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढाउनु ? कांग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ?’  उनी गठबन्धनको विपक्षमा थिए । 


महामन्त्री गगन थापाले पनि कांग्रेसले चुनावमा एक्लै लड्नुपर्ने मत राखेका थिए । ‘नेपालमा कम्युनिस्टबाट खतरा छ भनेर हामीले बारम्बार भन्यौ । के अबको निर्वाचनमा कम्युनिस्ट मिल्न नदिएर लोकतान्त्र बचायौँ भनेर भन्न जाने हो त ?’ उनले वैठकमा भनेका थिए, ‘लाखौं नयाँ मतदाता नयाँ छन् । यी मतदातालाई आज रुख बाहेक अरुमा भोट हाल्न लगाँउदा भोलि कांग्रेस बन्न आँउछन त ?’ 

तर देउवा भने सुरुवात देखि नै सत्ता गठबन्धन जोगाएर चुनावसम्म नै गठबन्धन कायम गरेर लैजाने दाउमा थिए ।  उनले बैठकमा उत्तर दिने क्रममा पनि गठबन्धन बिना चुनाव जित्न मुस्किल हुने कुरा राखे । उनले बरु शेखर कोइरालालाई लक्षित खिसीट्यूरी गरे, ‘शेखरजी पनि जित्नुहोस्, सबै जना जितौं भनेर गठबन्धन गर्न लागेको हो नि !’ 

देउवा त्यतिमै रोकिएनन्  । ‘म कांग्रेसको सिद्धान्त कसरी तोड्छु । माओवादीलाई मैले ल्याएको हो ? हिजो गरिजाबाबुलाई प्रश्न गर्न सक्नु भयो ? अहिले माओवादीलाई बोक्यो भन्ने ? हिजो गठबन्धन नगर्दा तपाईंहरू पनि हार्नु भएको हैन ?,’ उनी धाराप्रवाह वर्षिए, ‘ म पनि बालबाल जितेको हुँ । हिजो पनि तपाईंहरूले यसरी नै बोलेर गठबन्धन बन्न नसकेको होइन ? कांग्रेसको नीति सिद्धान्तका बारेमा मलाई नसिकाउनुस् । म कांग्रेसका लागि जीवन काटेको मान्छे हुँ ।’ 
उनको यो भनाइबाट उनको रणनीति प्रष्ट बुझिन्थ्यो – उनी गठबन्धन गरेरै चुनावमा जाने लक्ष्यमा थिए । वैठकमा महामन्त्री विश्वप्रकाश शर्माले पनि गठबन्धनको पक्षमा मत राखेका थिए । ‘कांग्रेसले विगतमा प्राप्त गरेको मत हेरेर आवश्यकता अनुसार गठबन्धन गर्नुपर्छ,’ उनले भने, ‘विगतमा कहिँ कांग्रेस बलियो छ कँहि कमजोर छ त्यसैले आवश्यकता अनुसार गठबन्धन गरेर जानुपर्छ ।’

विश्लेषक डा. रामेश कोइराला नेपाली कांग्रेसले मधेशवादी दलहरू र राप्रपासँग नै सहकार्य गर्दा पनि अस्वभाविक नहुने तर विचार र सिद्धान्त नमिल्ने कम्युनिष्ट पार्टीसँगको गठबन्धनले दुवै पक्षलाई लाभ नहुने बताउँछन् । ‘जस्तो विजय गच्छदार र सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गर्दा अस्वभाविक ठानिएन, एउटा आम मानिसले पचाउने वा पत्याउने आधार त हुनुपर्‍यो नि !,’ उनले भने, ‘कांग्रेसले अघिल्लो निर्वाचनकै उदाहरण हेर्ने हो भने ३३ लाख भन्दा धेरै मत पाएको थियो, जम्मा क्रियाशील सदस्य ४ लाख हाराहारीमा थिए । कार्यकर्ता बाहेक बाँकी शुभेच्छुक मत हो, त्यो मत कांग्रेसका नेताहरूले निर्देशन दिदैंमा के प्रभावित होला र !’

उनले स्थानीय निर्वाचनमा बलजफ्ती गठबन्धन गरिएपनि संघीय प्रतिनिधिसभा निर्वाचन र प्रदेशसभा निर्वाचनमा भने माओवादी केन्द्र र एकीकृत समाजवादीका अधिकांश नेता एमालेमै फर्कने सम्भावना भएको बताए । ‘कांग्रेसबाट गठबन्धनका अन्य दलले कति सीट पाउने भन्नेमा धेरै माथापच्चीसी हुन्छ । फेरि कांग्रेसका शुभेच्छुक मतदाताले मत देलान् कि नदेलान् भन्ने हुन्छ,’ डा. कोइरालाले अगाडि भने, ‘एमालेमा केपी शर्मा ओलीको एकल निर्णय चल्ने भएकाले उनले सीट संख्या पनि कांग्रेसले भन्दा बढी अफर गर्न सक्छन् भने कम्युनिष्ट पार्टीका कार्यकर्तालाई मत दिन अप्ठेरो पनि हुँदैन ।’ 

एमालेले स्थानीय निर्वाचनको परिणाम हेरेर भावी रणनीति चाल्ने भएकाले एमालेलाई एक्ल्याएर न्यूनतम स्थानमा मात्र सीमित गठबन्धनको अहिलेको प्रयास प्रदेश र संघको निर्वाचनसम्म टिक्नेमा उनले शंका व्यक्त गरे । कांग्रेसका नेता रमेश लेखकले सत्ता गठबन्धनमा प्रभाव नपर्ने केन्द्रीय समितिबाट निर्णय हुनुपर्ने  बताउँछन् ।

‘हामी गठबन्धन सरकारको नेतृत्व गरिरहेका छौँ । सरकारमा प्रभाव पर्ने गरि पार्टीले निर्णय लिनुहुँदैन भन्ने मेरो मत छ । स्थानीय तह निर्वाचनमा गठबन्धन गर्दा तल्लो तहका नेता कार्यकर्ताको मनोविज्ञान ख्याल गर्नपर्छ,’ उनले भने, ‘केन्द्रले गठबन्धन गर्दा तल्लो तहमा निराशा पैदा हुने अवस्था हुन दिनुहुन्न । तल्लो तहको भावना र स्थानीय आवश्यकता अनुसार गठबन्धन गर्नुपर्छ ।’

जे होस्, केन्द्रीय समिति बैठकबाट कांग्रेसले स्थानीय आवश्यकता अनुसार चुनावमा तालमेल गरेर जाने निर्णय गरिसकेको छ । यसमा देउवाले दुवै पक्षलाई सम्बोधन गर्ने गरि रणनीतिक निर्णय लिएका थिए । स्थानीय आवश्यकताका आधारमा र बाध्यकारी निर्णय नभनिएकाले शेखर पक्षको नेताहरूको भनाइलाई पनि सम्बोधन गरेको र सत्ता गठबन्धन पनि अप्ठेरो नपर्ने मध्यमार्गी बाटो खोल्न सफल भएको भन्दै देउवा गद्‍गद् छन् । उनको अगाडि पुनः प्रधानमन्त्री बन्ने चाहना छ भने गठबन्धनका सहयात्रीहरू आफ्नो अस्तित्व बचाएर एमालेसँग बार्गेनिङ गर्ने दाउमा छन् । 

पार्टीले गरेको निर्णयले गठबन्धन बाध्यकारी नभएको केन्द्रीय सदस्य सञ्जय गौतमले बताए । ‘बाध्यात्मक रुपमा गठबन्धन गर्नैपर्छ भनेको होइन,’ उनले भने, ‘आवश्यकता र औचित्यताका आधारमा तल्लो तहले यसबारे निर्णय गर्छ । गठबन्धनबारे केन्द्रले समन्वय मात्रै गर्ने हो । जसमा तल्लो तहले आफ्नो भुमिका देखाउन सक्छन् ।’ पार्टीले गरेको निर्णयले सबै कार्यकर्ताको भावनालाई समेटेको उनले बताए ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसको निर्णयले पार्टी भित्रका दुवै शक्तिलाई मिलाएर एकताको सन्देश दिन खोजेको बताउँछन् । पार्टीमा शेखर र गगनको आवजलाई पनि सम्बोधन गरिएकाले पार्टी झन बलियो हुने उनको बुझाइ छ । ‘सभापतिले राष्ट्रिय स्तरको गठबन्धन गर्न खोजेका थिए,’ उनले भने, ‘तर पार्टीको अर्को पक्ष शेखर र गगनको आवज फरक थियो । उनहिरूले  कार्यकर्ताको आवज सहित एक्लै चुनावमा जानुपर्छ भनेर भनाइ राखेका थिए । पार्टीको दुवै पक्षलाई सम्बोधन हुने गरि निर्णय भएको छ ।’ सभापतिले गरेको निर्णयमा पार्टी भित्रको आन्तरीक शक्तिलाई मिलाएर लैजाने भएको विश्लेषक आचार्यको बुझाइ छ । 

पार्टीले गरेको निर्णय सबैका लागि सर्वमान्य भएको केन्द्रीय सदस्य उदयशमशेर राणाले बताए । ‘पार्टीले सबैको भनाइ सुनेर निर्णय गरेको हो,’ उनले भने, ‘कतिपय साथीहरूले गठबन्धन गर्नै हुँदैन भन्नु भएको थियो । तर, कार्यकर्ताको भावना अनुसार स्थानीय आवश्यकता बुझेर निर्णय भएको छ । यो निर्णयले सबैलाई एक बनाएरै लैजान्छ ।’ 

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले  सबैको भावनालाई मध्यनजर गरेरै निर्णय भएको बताए । ‘छलफलमा साथीहरुले यथार्थ परक विवरण दिनुभयो,’ उनले भने, ‘केन्द्रका साथीहरुले पनि गठबन्धनको बारेमा धारणा राख्नु भयो । सबैको भावनालाइ मध्यनरजर गरेर गठबन्धनमा तालमेल गरे निर्वाचानमा जाने नीतिगत निर्णय भएको हो । यसले सबैलाई एक बनाएर लैजान्छ ।’
 


Author

उपेन्द्र अर्याल

अर्याल संवाददाता हुन् ।


थप समाचार
x