दल

राष्ट्रिय सभा निर्वाचन

प्रदेश १ मा एमालेद्वारा अन्तरघाती सांसदकाे खोजी

बाबुराम भण्डारी |
माघ १३, २०७८ बिहीबार २०:३२ बजे

विराटनगर – आफ्नो उम्मेदवारको जित सुनिश्चित हुँदाहुँदै पनि आफ्ना दुई प्रदेश सांसदसहितका अन्य जनप्रतिनिधिले अन्तरघात गरेको भन्दै प्रदेश १ मा नेकपा एमालेले पनि अन्तरघातीको खोजीका लागि छानबिनको माग गरेको छ । 

एमाले १ नम्बर प्रदेश कमिटीका अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बिहीबार विज्ञप्तिमार्फत विपक्षी गठबन्धन आफ्नो पार्टीविरुद्ध लागेको बेला आफ्ना उम्मेदवारहरु आफ्नैभित्रबाट षडयन्त्रको सिकार भएको आरोप लगाएका छन् । विज्ञप्तिमा पार्टी निर्णय र हितविरुद्धमा भएका अन्तरघाती कदमको वस्तुनिष्ठ छानबिन गरी दोषी उपर कडा कारवाही गर्न पार्टीले संकल्प गरेको उल्लेख छ ।


एमाले १ नम्बर प्रदेश कमिटीका पदाधिकारी, उपलब्ध स्थायी कमिटी र केन्द्रीय सदस्यहरुको उपस्थितिमा बिहीबार बसेको बैठकले अन्तरघातीहरुको पहिचान गरी कारवाही गर्न केन्द्रीय कमिटीसमक्ष माग गर्ने निर्णय गरेको उनले बताए । 

‘प्रदेशसभातर्फ ४० मतमध्ये ३८ मात्रै एमालेका उम्मेदवारलाई खसेको देखियो, सिधै अन्तरघात भएको छ, कसले गरेको हो भनेर छानबिन गर्न प्रदेश कमिटीले केन्द्रीय कमिटीमा लिखित रुपमा जानकारी गराएका छौं’, न्यौपानेले भने, ‘पार्टीको बर्खिलाप मतदान गरेकै देखियो, अन्तरघातीहरु माथि छानबिन गरी कारवाही हुनेछ ।’

एमालेका तीन उम्मेदवारहरु मध्ये अन्यतर्फ गुरु बराल गोलाप्रथामा पराजित भएका थिए । महिलातर्फकी उम्मेदवार सुमित्रा भण्डारीलाई पनि एमालेका सवै जनप्रतिनिधिले मत दिएका थिएनन् । बराल र गठबन्धनका उम्मेद्दवार गोपाल बस्नेतले समान मत ४ हजार ४८८ प्राप्त गरेका थिए । एमालेका ४० मध्ये ३८ सांसदको मात्रै बरालको पक्षमा मत खसेको थियो । स्थानीय तहतर्फ भने बरालले गठबन्धनको निकै मत प्राप्त गरेका थिए । उनले स्थानीय तहका १४८ जनप्रतिनिधिको मत पाएका थिए ।  प्रदेश १ मा एमालेका कुल ४१ सांसद मध्ये सरकारी कागज किर्ते मुद्दामा फरार भएका सांसद गुलेफुन खातुन मतदान प्रक्रियामा अनुपस्थित थिइन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x