दल

माओवादी राष्ट्रिय सम्मेलन : नीतिमा बहस, नेतृत्वमा नाइँ-नास्ति

सम्मेलनलाई नेता प्रधान होइन, नीति प्रधान बनाउँछौँ : पोखरेल

विनोद देवकोटा |
पुस ८, २०७८ बिहीबार १७:५ बजे

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) आन्तरिक तयारीसहित प्रथम राष्ट्रिय सम्मेलन निम्ति जुटेको छ । एमालेजस्तो शक्ति प्रदर्शन र कांग्रेसजस्तो तामझाम नगर्ने बताएको माओवादीले राष्ट्रिय सम्मेलनलाई ‘नीति प्रधान’ बनाउने जनाएको छ । त्यसकै लागि अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दस्तावेज बनाइरहेका छन् । 

‘नीति प्रधान’ सम्मेलनले अध्यक्षबाहेकका पदाधिकारी चयन पनि गर्नेछ । त्यसबाहेक केन्द्रको विचारधारा, राजनीतिक कार्यदिशासमेत प्रष्ट पार्नेछ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले सम्मेलनबाट पार्टीमा नयाँ क्रान्तिकारी विचार निर्माण गर्ने बताए । 


नयाँ क्रान्तिकारी विचारसहितको क्रान्तिकारी पार्टी निर्माण गर्नु राष्ट्रिय सम्मेलनको मुख्य दायित्व भएको उनले बताए । ‘सम्मेलनमा अन्य पार्टीहरूसँग सहकार्य गर्दा र संसदीय अभ्यासको गम्भीररूपमा समीक्षा गर्छौ,’ उनले भने, ‘हामीले क्रान्तिकारी बाटोमा केही अवरोधहरूसँग लड्ने बेलामा केही कमी, कमजोरी गर्‍यौँ कि भन्ने समीक्षासहित प्रस्तुत हुने पक्षमा छौँ । नयाँ ढंगले कसरी क्रान्ति सम्पन्न गर्न सकिन्छ, नेपाली जनताको रुपान्तरणको सपनालाई पुरा गर्ने कुरामा केन्द्रित हुनेछौँ ।’ सम्मेलनमा अध्यक्ष पुष्पकमल दाहालले समाजवादमा पुग्ने खाकासहितको राजनीतिक दस्तावेज पेश गर्नेछन् । नेता लिलामणि पोखरेलले दस्तावेजको तयारी अघि बढिरहेको बताए । उनले सम्मेलनलाई नेताभन्दा नीति प्रधान बनाइने दोहोर्‍याए । 

कार्यदिशाबारे र संगठनात्मक व्यवस्था कसरी गर्ने भन्न विषयमा पनि घनिभूतरूपमा छलफल हुने उनको भनाइ छ । ‘हामीले सम्मेलनलाई नेता प्रधान होइन, नीति प्रधान बनाउने गर्छौँ । नीति प्रधान बनाउने सन्दर्भमा विभिन्न तहमा छलफल भइरहेको छन्,’ उनले भने, ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई कुन दिशामा लैजाने भन्ने विषयमा छलफल हुन्छ । कार्यदिशाका बारेमा छलफल हुन्छ । संगठनात्मक व्यवस्था कसरी गर्ने भन्ने हुन्छ । अहिलेको प्रणालीभित्रि गरेका र गर्नुपर्ने कामका विषयमा रिभ्यू हुन्छ।’

'अरुले बदले भन्दैमा हामीले पनि सर्लक्कैै बदल्नुपर्छ भन्ने कोणबाट सोचिराख्या छैनौँ' 

नीतिका विषयमा माओवादी नेताहरू चर्को बहसमा उत्रिन्छन् । राष्ट्रिय सम्मेलनअन्तर्गत वडादेखि प्रदेशसम्म नयाँ नेतृत्व चयन भएका छन् । पदाधिकारी निर्वाचित भएर आएका छन् । पार्टी केन्द्रमा पनि पदाधिकारीका लागि आकांक्षीहरूले आ–आफ्नो पक्षमा ‘लबिङ’ गरिरहेका छन् । 

तर, जब केन्द्रीय नेतृत्वको विषय आउँछ माओवादी नेताहरू नाजवाफ हुन्छन् । अथवा अनेक तर्क गरेर विषय मोड्न थाल्छन् । माओवादी केन्द्रको नेतृत्वमा ३० वर्षदेखि दाहाल छन् । उनकै नेतृत्वमा माओवादीले १० वर्ष ‘सशस्त्र संघर्ष’ गर्‍यो । संविधान सभामा सबैभन्दा ठूलो पार्टी बन्यो । पार्टी रक्षात्मक अवस्थामा पुगुन्जेल उनै दाहाल नेतृत्वमा छन् ।

उनकै नेतृत्वमा पार्टीका अधिकांश नेताहरूले साथ छोडे । जनयुद्धका कयौँ सहयात्री यतिखेर उनीसँग छैनन् । तर, पनि पार्टी नेतृत्वमा उनलाई चुनौती दिने कोही देखिएका छैनन् । यसपटकको सम्मेलनमा पनि दाहालले आफूलाई अनुमोदन गराउने छन् । माओवादी नेता गिरीराजमणि पोखरेल भने नेतृत्वका विषयमा पनि बहस भइरहेको दाबी गर्छन् । तर, पार्टीमा अध्यक्ष दाहालको आवश्यकता पनि रहेको उनको तर्क छ । 

दाहालकै नेतृत्वमा देश र पार्टी हाँक्न सजिलो हुने उनले बताए । ‘स्वाभाविकरूपमा नेतृत्वका विषयमा पनि बहस भइरहेको छ । तर, अरुले बदले भने हामीले पनि सर्लक्कैै बदल्नुपर्छ भन्ने कोणबाट सोचिराख्या छैनौँ,’ उनले भने, ‘अहिले पनि दाहाल नेपालको समकालीन राजनीतिको एउटा आवश्यकता हो । जीवनको उत्तराद्र्धमा समाजवादीका क्रान्तिको कार्यदिशा बनाएर क्रान्तिकारी पार्टी बनाउँछु भनिरहनु भएको छ । देश र पार्टीलाई हाँक्न उहाँकै नेतृत्वमा सजिलो हुन्छ ।’

त्यस्तै माओवादी नेतृ रेखा शर्मा पनि सम्मेलनमा मूल नेतृत्व परिवर्तनको कुरै नहुने बताउँछिन् । नीतिअनुसार नेतृत्व बन्ने भन्दै पार्टीमा नेतृत्व परिवर्तनको आवश्यकता नभएको बताइन् ।दाहालकै नेतृत्वमा गोलबद्ध भएर जाँदा पार्टीलाई फाइदा हुने उनको भनाइ छ । ‘राजनीतिक र वैचारिक कुरा नै बढी बहस भइरहेको छ ।

नीतिअनुसार नेतृत्व बन्ने हो । मूल नेतृत्व परिवर्तनको कुरै छैन । बाँकी समावेशी बनाएर जाने हो,’ उनले भनिन्, ‘मूल नेतृत्व परिवर्तनको आवश्यकता छैन । दाहालकै नेतृत्वमा गोलबद्ध भएर जाने हो । मूल नेतृत्व परिवर्तन हुँदैन ।  यसले नै पार्टीलाई फाइदा हुन्छ ।’


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x