दल

काँग्रेस प्रदेश २ अधिवेशन : ७४ पदका लागि १ सय ८० जनाको उम्मेदवारी

सुवास कर्ण |
पुस ७, २०७८ बुधबार १४:७ बजे

जनकपुरधाम - नेपाली काँग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशनमा १ सय ८० जनाले उम्मेदवारी दर्ता गराएका छन् । बुधवार दिउँसो ४ बजेदेखि हुने मतदानका लागि विभिन्न ७४ पदमा १ सय ८० जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका सदस्य अरुण यादवले जानकारी दिए ।

आजै बिहान ८ बजेदेखि हुने भनिएको मतदान उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुन नसक्दा सहमतीय आधारमा निर्वाचनको समयावधि सारिएको उनले बताए ।


निर्वाचनमा सभापतिमा रामसरोज यादव र कृष्ण यादवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् । स्वतन्त्र उम्मेदवार रहेका रामसरोज यादवलाई पुर्व उपसभापति विमलेन्द्र निधि र डा. शेखर कोइराला समूहको समर्थन रहेको छ भने कृष्ण यादव पार्टी सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार हुन् ।

रामसरोजको प्यानलबाट उपसभापतिमा रौतहटका धनलाल ठोकर र सर्लाहीका बिनोद खनालले उम्मेदवारी दिएका छन् भने महामन्त्रीमा प्रदेशसभा सदस्यसमेत रहेका सिरहाका नरेश यादव र सर्लाहीका हरेस महतोको उम्मेदवारी दिएको छ ।

त्यस्तै, सोही प्यानलबाट सहमहामन्त्रीमा पर्साका अरबिन्द अमात्य, महोत्तरीका विनोद यादव र महिला सहमहामन्त्रीमा बाराकी निर्मला सुवेदीको उम्मेदवारी परेको छ ।

यता, देउवा समूहका उम्मेदवार कृष्ण यादव प्यानलबाट उपसभापतिमा बाराका चन्द्रशेखर यादव र प्रदेशका महिला बालबालिका, युवा तथा खेलकुद मन्त्रीसमेत रहेका सर्लाहीका नेता वीरेन्द्र प्रसाद सिंहले उम्मेदवारी दिएका छन् ।

उनको प्यानलबाट महामन्त्रीमा सिरहाका उपेन्द्र यादव र पर्साका बृहस्पतिकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । त्यस्तै सहमहामन्त्रीमा सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, बाराका जयनारायण यादव र महिला सहमहामन्त्रीमा सप्तरीकी रिता यादवले उम्मेदवारी दिएका छन् ।

त्यस्तै, स्वतन्त्रबाट पनि ५ जनाले उम्मेदवारी दिएका छन् भने विभिन्न क्लस्टरबाट प्रदेश सदस्यमा १४ जना, प्रदेश सदस्य महिलामा ७ जना, प्रदेश सदस्य खुला प्रत्येक जिल्लाबाट १/१ गरी ८ जना, प्रदेश सदस्य प्रत्येक जिल्लाबाट १/१ महिलामा ८ जना र प्रदेश सदस्य खसआर्य १ पदमा ४ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेश सदस्य आदिवासी जनजाती खुला १ पदका लागि ३ जना, प्रदेश सदस्य आदिवासी जनजाति महिला १ पदमा २ जना, प्रदेश सदस्य मधेसी खुल्ला ७ जनाका लागि १६ जना, प्रदेश सदस्य मधेसी महिला ६ जनाका लागि १२ जना, प्रदेश सदस्य दलित खुल्ला ३ जनाका लागि १० जना, प्रदेश सदस्य दलित महिला २ जनाका लागि ५ जना र प्रदेश सदस्य खुल्ला थारु १ जनाका लागि २ जनाले उमेदवारी दर्ता गराएका छन्।


Author

थप समाचार
x