दल

कांग्रेस १४ औँ महाधिवेशन

पानी ट्यांकीमा भ्वाङ पारेर बनाईदैँछ ‘हाइटेक’ कांग्रेस

नयाँ, आधुनिक र प्रविधिमैत्री कांग्रेस गफ मात्रै !

अनिष भट्टराई |
मंसिर २५, २०७८ शनिबार १५:२७ बजे

काठमाडौँ - कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ले पाँच वर्ष अगाडि कान्तिपुर दैनिकका लागि बनाएको एउटा कार्टुन छ । पृष्ठभूमिमा कांग्रेसको झण्डा छ । कार्टुनमा देखिन्छ, मतगणना सुनाउँदा सुनाउँदै एक पुरुष वृद्ध भइसक्छन् । कार्टुनका पात्रले प्रारम्भिक, ५० प्रतिशत मतको गणना र अन्तिम नतिजालाई तीन चरणमा सुनाउँदा उनी वृद्ध भइसकेको दृश्य हाँस्यास्पद लाग्छ ।

१३ औं महाधिवेशनका बेला बनाइएको उक्त कार्टुन अझै पनि कांग्रेसका लागि समय सान्दर्भिक छ । कांग्रेसको १४ औं महाधिवेशनमा मतदान शैली पुरानै छ । अर्थात् कागजकै मतपत्रमा घन्टौं लगाएर महाधिवेशन प्रतिनिधिहरुले मत दिनुपर्ने छ । कांग्रेसले बनाएको मतपेटिका पनि विशेष छ । पानीट्यांकीमा माथिबाट भ्वाङ पारेर मतपेटिका बनाइएको छ । 


वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रादेशिक अधिवेशनमा पोखरामा मत दिन जाँदा ठ्याक्कै आधा घन्टा लगाएका थिए । अँध्यारोमा उनले ‘चाल नपाइ नपाइ’ मत हाले । केन्द्रीय महाधिवेशनमा पनि यो दृश्य दोहोरिने निश्चितप्राय छ । महाधिवेशन प्रतिनिधिले २९ वटा मतपत्रमा मत दिनुपर्नेछ । यसरी मत हाल्दा एक प्रतिनिधि बराबर १ घन्टा १७ मिनेट लाग्ने जनाइएको छ । 

आफूलाई ‘हाइटेक’ बनाउने बताएको नेपाली कांग्रेसले शुक्रबार महाधिवेशन उद्घाटन समारोहमा एउटा ‘एप’ सार्वजनिक गरेको थियो । एपबाट पार्टीलाई अझै हाइटेक बनाउने बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीलाई समयानुकुल बनाइने बताए । 

नेपाली कांग्रेसको निर्वाचन समिति सदस्य एकराज पोखरेल भने पार्टीमा मतदानको शैली पुरानै हुने भनेर निर्णय नै गरिसकिएकाले सोही तरिकाले तयारी गरिएको बताउँछन् । एप सार्वजनिक गर्दा हाइटेक हुने बताइएपनि मतदानको शैलीले केही प्रभाव नपर्ने उनले बताए । ‘एप सार्वजनिक गर्नु अलग कुरा हो । पुरानै तरिकाले भ्वाङ बनाएर निर्वाचन गर्ने भनेपछि त्यही तयारी गरेका हौं,’ उनले भने । 

एप सार्वजनिक गरेर आफूलाई ‘हाइटेक’ बताउने कांग्रेस भने परम्परागत मतदानमै रमाएको छ । देशकै पुरानो पार्टी नेपाली कांग्रेसले अघि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एमालेले डिजिटल भोटिङ मेसिनबाट महाधिवेशन सम्पन्न गरिसकेका छन् ।
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x