दल

तीनै धार मिलाउन एमालेले केन्द्रीय पदाधिकारी संख्या थप्‍न लागेको हो ?

अनिष भट्टराई |
मंसिर ५, २०७८ आइतबार १५:४३ बजे

काठमाडौँ– नेकपा एमालेको आसन्न दशौं महाधिवेशनको संघारमा नेताहरू पदाधिकारीमा आकांक्षा जाहेर गरिरहेका छन् । १५ सदस्यीय केन्द्रीय पदाधिकारीका लागि आकांक्षा जनाउने नेताहरूको संख्या ठूलो छ । अध्यक्षमा केपी ओली नै दोहोरिने पक्का रहेकाले अन्य नेताहरूले पनि आफ्नो स्थानको सुनिश्चितता खोजेका छन् तर एमालेमा पदाधिकारीका आकांक्षी नेताहरूको सूची लामो छ ।  

अध्यक्षबाहेक अरु १४ पदमा कोको पर्छन अहिले नै भन्न सकिने अवस्था छैन । एमाले महाधिवेशनले अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, एक उपमहासचिव र सात सचिव चयन गर्नेछ । तर अध्यक्ष बाहेक अन्य पदाधिकारीमा आवश्यक संख्या भन्दा आकांक्षीहरूको संख्या झण्डै दोब्बर छ । 


एमाले नेतृत्वलाई पार्टीमा रहेका तीन धारका नेताको व्यवस्थापन गर्नुपर्ने चुनौती छ । पूर्वमाओवादी नेताहरू, एमालेमै रहेर अध्यक्ष ओलीलाई साथ दिएका नेताहरू तथा पार्टी एकताको पक्षमा रहेको भनिएको १० बुँदे सम्झौता पक्षधर नेताहरूको व्यवस्थापन गर्नैपर्ने चुनौती पार्टी नेतृत्वलाई छ । 

महाधिवेशन नजिकिँदै जाँदा पदाधिकारीमा तीनधारकै नेताको कसरी चित्त बुझाइन्छ भन्ने विषयमा कार्यकर्तामाझ कौतूहलता छ । अझ पार्टीका शीर्ष नेताहरूले दशौं महाधिवेशनलाई ‘सहमतिको महाधिवेशन’ बनाइने बताइरहँदा कसरी सहमति जुटाइन्छ भन्ने पनि कार्यकर्ताहरूको प्रश्न छ । 

एमाले प्रवक्ता प्रदीप ज्ञवाली पार्टीभित्र तीन धारकै नेताहरूको उचित व्यवस्थापन गरिने र पार्टीमा धारलाई विस्थापन गरिने ठोकुवा गर्छन् । ‘पार्टीका तीन धारकै तीन खाले मनोविज्ञानको पनि एकता गराइन्छ, सबैको व्यवस्थापन हुन्छ । त्रिशुली र सेती मिसिएझैं रङ नछुट्टिने गरी मिसिन्छौं,’ ज्ञवालीले भने । 

पार्टीमा सबैलाई ‘रङ नछुट्टिने’ गरी एक गराइने बताइरहँदा नेताहरूको उचित व्यवस्थापनमा हम्मेहम्मे पर्ने देखिन्छ । अध्यक्षमा भीम रावलले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । वरिष्ठ उपाध्यक्षमा हालका महासचिव ईश्वर पोखरेलसँगै सुवास नेम्वाङ र रामबहादुर थापा ‘बादल’ पनि आकांक्षी छन् । 

अहिले उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य पनि पाए वरिष्ठ उपाध्यक्ष नभए उपाध्यक्षमै दोहोरिन चाहन्छिन् । हालका उपाध्यक्ष युवराज ज्ञवालीदेखि माओवादीबाट आएका टोपबहादुर रायमाझी लगायत नेताहरूको दाउ उपाध्यक्षमा छ । महासचिवमा विष्णु पौडेल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पृथ्वीसुब्बा गुरुङले आकांक्षा देखाएका छन् । उपमहासचिवमा हालका सचिवहरू योगेश भट्टराई, प्रदीप ज्ञवाली, भीम आचार्य लगायतका नेता इच्छुक भएको बताइन्छ । ७ सचिवमा किरण गुरुङ, पद्मा अर्याल, लेखराज भट्ट, लालबाबु पण्डित, खगराज अधिकारी, विन्दा पाण्डे सहित नेताहरूको लाम लामो छ । 

पदाधिकारी संख्या थोरै र आकांक्षा धेरै भएपछि पदाधिकारी थपिने चर्चा अहिले पार्टीमा छ । कार्यकर्ताहरू थपिने संख्याको पनि अड्कल काटिरहेका छन् । पार्टी नेता र कार्यकर्तामाझ उपाध्यक्ष र उप–महासचिवको संख्या थपिने चर्चा छ । 

प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा आएका कार्यकर्ताहरू पदाधिकारी संख्या थपिनेबारे चर्चा गर्दै थिए । ‘महाधिवेशनमा विधान संशोधन गरेर पदाधिकारी थप्ने कुरा सुनेको हुँ, नत्र त कसरी अटाउँछन् सबै ?’ प्रेस चौतारी नेपालका एक सदस्यले भने । 

एमालेकै शीर्ष नेताहरूले पनि ओलीलाई पदाधिकारी संख्या थप्न सुझाव दिएको उनी निकट नेता बताउँछन् । तर अध्यक्ष ओली अहिले पदाधिकारी थप्नेप्रति सकारात्मक नरहेको बताइन्छ । पदाधिकारी थप्न विधान नै संशोधन गर्नुपर्ने भएकाले ओलीले पदाधिकारी संख्या थप्न नचाहेको उनी निकट नेताले बताए । ‘विधान अधिवेशन असफल प्रमाणित गर्ने गरी अहिले संशोधन गर्न नहुने उहाँको कुरा छ,’ ती नेताले भने । 

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पनि अहिले पदाधिकारी संख्या थपिने सम्भावना नरहेको बताउँछन् । विधान संशोधन गर्ने अधिकार राष्ट्रिय महाधिवेशनलाई भएपनि पदाधिकारी थप्न विधान संशोधन नगरिने ज्ञवालीले बताए । ‘विधान संशोधन हुने सम्भावना छैन । योग्यहरूको पंक्ति ठूलो छ, पदाधिकारी संख्या दोब्बर नै बनाएपनि सबैलाई समेट्न गाह्रो छ,’ ज्ञवालीले भने, ‘सबै खाले मनोविज्ञानको व्यवस्थापन हुने गरी १५ जना भित्र नै नेताहरूको व्यवस्थापन हुन्छ ।’
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x