दल

कार्यक्षेत्रमै नेता-कार्यकर्ता

नेत्रविक्रमको कपिलवस्तु मोह : जहाँबाट सार्वजनिक त्यहीँ सीमित

विनोद देवकोटा |
असार १९, २०७८ शनिबार १६:४८ बजे

काठमाडौँ : सरकारसँग तीन बुँदे समझदारीपछि नेकपा महासचिव नेत्रविक्रम चन्द काठमाडौँमा खासै देखिँदैनन् । विशेष काम पर्दा मात्रै उनी काठमाडौँ आउँछन् । गृह जिल्ला कपिलवस्तुमा धान रोप्दै, बारी खन्दै, श्रम गर्दै गरेको अवस्थामा बेलाबेलामा देखिन्छन् । त्यहीबाट उनले पार्टीका गतिविधि सन्चालन गरिरहेका छन् । पार्टीका बैठक भेला, प्रशिक्षण पनि कपिलवस्तुकेन्द्रित छन् । त्यहीबाटै उनले आफू नेतृत्वको नेकपा हाँकिरहेका छन् । १० औँ केन्द्रीय समिति बैठक पनि कपिलवस्तुमै बस्यो । 


उनी नेतृत्वको नेकपाले सरकारसँग तीन बुँदे सहमति गरेको पनि चार महिना पुग्‍न थाल्यो । गत फागुन २१ गते चन्द नेतृत्वको नेकपा र सरकारबीच तीन बुँदे सम्झौता भएको थियो । सहमतिअनुसार उनी शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेका छन् । सरकारले उनी नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । 
तर, यसअघिको संघर्षका क्रममा हिरासतमा रहेका उनका कतिपय सहयोद्धा अझैं छुटेका छैनन् । सयौं नेता-कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता भएका छैनन् । नेकपा केन्द्रीय कार्यालयकाअनुसार सचिवालय सदस्य हेमन्तप्रकाश ओलीसहितका सय बढी नेता-कार्यकर्ता अझैं हिरासतमै छन् । 

कार्यक्षेत्रमै नेता कार्यकर्ता 

केन्द्रीय कार्यालयकाअनुसार चन्द कपिलवस्तु केन्द्रित भए पनि पार्टीका अन्य नेता-कार्यकर्ता भने कार्यक्षेत्रमै छन् । प्रवक्ता खड्गबहादुर विश्वकर्मा स्वास्थ्य समस्याका कारण आराम गरिरहेको कार्यालय सचिव असल क्षेत्रीले जानकारी दिए । उनकाअनुसार पार्टीका अन्य गतिविधि भने जारी नै छन् । आन्तरिक प्रशिक्षणका काम पनि निरन्तर भइरहेको उनले जानकारी दिए । 

पछिल्लो समय सचिवालय सदस्य बास्तोलाले प्रधानमन्त्री ओलीलाई भेटेर पुनः ध्यानाकर्षण गराउने प्रयास गरिरहेका छन् । तर, प्रधानमन्त्रीले समय नदिँदा भेट हुन नसकेको उनले बताए । उनकाअनुसार एक पटक भेट्ने समय पक्का भएर बालुवाटारको गेटमै पुगेपछि स्थगित भयो ।

उनकाअनुसार पार्टीका नेता कार्यकर्ताहरू पछिल्लो समय श्रम र उत्पादनसँग जोडिएका काममा सक्रिय छन् । ‘कोभिडका कारण जारी जारीनिषेधाज्ञामा ठूला सभा सम्मेलन गर्न सम्भव भएन,’ उनले भने, ‘सबै नेता कमरेडहरू आ-आफ्नो कायैक्षेत्रमा हुनुहुन्छ । अहिले मूलतः श्रम र उत्पादनमा हाम्रो ध्यान केन्द्रित छ । केन्द्रीय योजनाअनुसार हरेक कमिटी एउटा उत्पादनमूलक काममा लाग्ने र आत्मनिर्भर बन्ने भन्ने भन्ने योजना नै छ ।’

उनकाअनुसार कोभिडका कारण बाहिर निस्कन नसक्ने स्थिति भएपछि देशैभर कोभिड समस्यामा परेकालाई सहयोग गर्ने काम पार्टीका नेता-कार्यकर्ताले गरिरहेका छन् । योसँगै देशभर पार्टीका संरचना निर्माणका काम पनि भइरहेको उनले बताए ।  ‘सबैनेताहरू कार्यक्षेत्रमै हुनुहुन्छ,’ उनले भने, ‘जनताकै बीचमा हुनुहुन्छ । निर्माणका काम भइरहेका छन् । नीतिहरू बनिरहका छन् । नेता-कार्यकर्ताहरू काममै हुनुहुन्छ ।’

राजनीतिक भेटघाटलाई तीब्रता 

निषेधाज्ञा कारण जन स्वास्थ्य र उत्पादनसँग नेता-कार्यकर्ता जोडिरहदा राजनीतिक भेटघाटलाई पनि तीब्रता दिइएको छ । त्यसका लागि सचिवालय सदस्य धमेन्द्र बास्तोला सक्रिय छन् । उनले यही अवधिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, एमाले नेता मणि थापालगायतसँग भेटघाट गरिसकेका छन् ।  

पार्टीको नीतिअनुरुप नै आफूले सबै दलका नेताहरूसँग राजनीतिक छलफल चलाइरहेको बास्तोलाले बताए । राजनीतिक निकासको बाटोमा कसरी जाने भन्ने विषयमा विभिन्न दलका नेताहरूसँग छलफल भइरहेको उनको भनाइ छ । ‘राजनीतिक निकासको बाटोमा कसरी जाने भनेर सबैसँग भेटेर कुराकानी गर्ने हाम्रो नीति नै हो,’ इकागजसँग उनले भने, ‘संसदीय व्यवस्थाबाट निकास हुँदैन भन्ने सारा संसार र नेपालीलाई थाहा भएकै कुरा हो । यसको विकल्प कसरी दिने भन्ने बारेमा हामीले आफ्नो प्रस्ताव राखेका छौं ।’

आफूले राखेको प्रस्तावमा नेताहरूबाट कुनै मूर्त जवाफ नपाएको उनले बताए । ‘हामीले प्रयन्त गर्ने कुरा नै हो । हामीले गरिरहेका छौ,’ उनले भने, ‘त्यसलाई कसरी लिनुहुन्छ भन्ने उहाँहरूको कुरा हो । उहाँहरूले गर्दै जानुस् । हेर्दै आऔं भन्ने खालको प्रतिक्रिया दिनु भएको छ ।’

नेता-कार्यकर्ता नछुटेकोप्रति असन्तुष्टि

सरकार आफूहरूसँग भएको तीन बुँदे सहमति कार्यान्वयनमा इमान्दार नदेखिएको भन्दै नेता-कार्यकर्ताहरू सरकारसँग असन्तुष्ट छन् । सम्झौता कार्यान्वयनमा सरकार इमान्दार नभएकोमा चन्दसमेत असन्तृष्ट छन् । त्यसलाई उनले आफ्ना पछिल्ला केही अन्तर्वार्तामा समेत पोखेका छन् ।

यो असन्तुष्टि नेताहरूले सार्वजनिक कार्यक्रममै पनि पोख्ने गरेका छन् । केन्द्रीय सदस्य माइला लामाले गत बुधबार सार्वजनिक रूपमै उक्त असन्तुष्टि व्यक्त गरेका थिए । नेकपा निकट अखिल क्रान्तिकारीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उनले सरकार तीन बुँदे सहमतिप्रति इमान्दार नभएको बताएका थिए । उनले सहमति कार्यान्वय नभए आँधीबेहरी आउनेसमेत चेतावनी दिएका थिए । ‘सरकार इमान्दार भएन भने, नेपालका राजनीतिक जनताका समस्या समाधानतिर अग्रसर भएन भने आँधीबेहरी आउन सक्छ’ उनको भनाइ थियो, ‘वर्तमान व्यवस्थाप्रति जनता सन्तुष्ट छैनन् । सरकार र राजनीतिक पार्टी जनताप्रति जिम्मेवार बन्नु पर्छ ।’

जसमा सचिवालय सदस्य बास्तोला पनि सहमत छन् । सहमतिअनुसार प्रतिबन्ध मात्रै खारेज गरेको सरकारले नेता कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ता नलिएकोमा उनले असन्तुष्टि जनाए । ‘हामीले हाम्रो तर्फबाट सहमति पालना गर्‍यौँ । सहमतिमा सरकारले इमान्दारिता देखाएको छैन । सरकारका अन्य समस्या होलान् । तर, ठूलो समस्या त सहमति कार्यान्वयन नगर्नु हो नि,’ उनले भने, ‘एउटा पार्टीसँग गरेको सहमति कार्यान्वयन नगर्नु उहाँहरूको झन् ठूलो समस्या हो । राजनीतिक समस्या त छँदै छन् । राजनीतिक समस्या हामी सहकार्य गरेर निकास निकालौं भन्ने हाम्रो कुरा हो । सहमतिअनुसार प्रतिबन्द खारेज बाहेक नेता कार्यकर्ता त सरकारले छोडेको छैन । मुद्दा खारेज भएको छैन ।’ 

प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम बालुवाटार गेटमा पुगेपछि स्थगित

हिरासतमा रहेका आफ्ना नेता-कार्यकर्ता छुटाउन र सहमति कार्यान्वयन गर्न चन्द आफैले पनि सहमतिपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँगै पटक पटक भेटेका छन् । उनले तत्कालीन गृहमन्त्री रामबहादुर थापालाई समेत भेटेर सहमति कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए ।  पार्टी प्रवक्ताले समेत यस विषयमा भेटेरै सरकारको ध्यानाकर्षण गराएका थिए । तर, हालसम्म कुनै प्रगती भएको छैन ।  

पछिल्लो समय सचिवालय सदस्य बास्तोलाले प्रधानमन्त्री ओलीलाई भेटेर पुनः ध्यानाकर्षण गराउने प्रयास गरिरहेका छन् । तर, प्रधानमन्त्रीले समय नदिँदा भेट हुन नसकेको उनले बताए । उनकाअनुसार एक पटक भेट्ने समय पक्का भएर बालुवाटारको गेटमै पुगेपछि स्थगित भयो । ‘पछिल्लो समय हामीले प्रधानमन्त्रीलाई भेट्न खोजेका थियौं,’ उनले भने, ‘तर, उहाँले समय मिलाउन नसकेपछि भेट हुन सकेका छैन ।  एकपटक समय दिएर भेट्न खोज्यौं । बालुवाटार गेट नजिँकै पुगेका बेला भेटघाट स्थगित गरौ भन्नु भयो ।’


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x