दल

एमाले प्रतिनिधि परिषद् बैठक : अनैतिक, भ्रष्ट र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड

इकागज |
बैशाख ९, २०८१ आइतबार १६:५२ बजे

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुरमा जारी प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ ।

सो पार्टीका महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको पार्टीको साङ्गठनिक प्रतिवेदनमा पार्टीका नेता तथा कार्यकर्ता कसैका बारेमा पनि नैतिक प्रश्न गम्भीर आशङ्का पैदा भएमा सम्बन्धित तहको पार्टीले आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख गरिएको छ । 


'एमालेको विशेषता भनेको यसका नेता र कार्यकर्ताहरू सरल, नैतिकवान चरित्रवान् र जनपक्षीय हुनु हो । यस प्रकारको विशेषताले हाम्रो पार्टीलाई अरू पार्टीभन्दा फरक र विशिष्ट बनाउने काम गरेको छ । पछिल्ला समयमा हाम्रो पार्टीका नेता र कार्यकर्ताबारे सार्वजनिक रूपमा टीकाटिप्पणीहरू सुनिने तर त्यसका बारेमा कुनै सुनुवाइ नभइरहेको अवस्था देखिन्छ,' प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा यस्ता घटनामा पार्टीका तर्फबाट अनुसन्धानको प्रक्रिया अघि नबढाइँदा इमानदारहरू पीडित हुने र कमजोरी गर्नेले छुट पाउने स्थिति सिर्जना हुने अवस्था रहेको उल्लेख गर्दै अब त्यस प्रकारको अवस्था अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । 

प्रतिवेदनमा पार्टी नेता तथा कार्यकर्ताको जीवनशैली, आचरण र व्यवहार जनपक्षीय, पारदर्शी र नैतिकवान हुनुपर्ने उल्लेख गरिएको छ । प्रतिवेदनमा जिल्ला र पालिका तहमा कुल मतदाताको छ प्रतिशत र वडामा न्यूनतम् तीन प्रतिशत पार्टी सदस्यता विस्तार गर्ने उल्लेख छ । 

प्रतिवेदनमा पुराना सदस्यले नवीकरण शुल्क बुझाइसकेको अवस्थामा पनि नवीकरण विवरणमा नाम समावेश नभएको कमजोर देखिएको जनाइएको छ । कतिपय जिल्लाले पार्टी सदस्यता नवीकरणमा ध्यान दिएको नपाइएको विषय पनि उठान गरिएको छ ।

पार्टीले युवालाई नेतृत्व विकास गर्नका लागि प्रत्येक गाउँपालिकाले ५० जना, नगरपालिकाले एक सय जना, उपमहानगरले एक सयल ५० जना र महानगरले दुई सय जना युवा पहिचान गर्दै नेतृत्व विकासको लागि प्रशिक्षण प्रदान गरी पार्टीको काममा जोड्नुपर्ने उल्लेख गरिएको छ । 

अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव पोखरेलको साङ्गठनिक, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालले, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कडेल, निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार वोहराको प्रतिवेदनमाथि विभिन्न छ समूहमा छलफल भइरहेको छ । 


Author

थप समाचार
x