दल

नयाँ वर्षमा देशलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्छ : नेता पौडेल

इकागज |
बैशाख ८, २०८१ शनिबार १८:३७ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले नयाँ वर्षमा मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) ले नयाँ वर्षको उपलक्ष्यमा आज सपनतीर्थमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा वनभोज कार्यक्रम’ मा विसं २०८१ मा नयाँ आशा र विधिको शासन स्थापनामा राजनीतिक दल लाग्नुपर्ने बताएका हुन् ।


काठमाडौँ क्षेत्र नं ५ का सांसद पौडेलले निराशाले समस्याको समाधान नहुने भएकाले नयाँ आशाका साथ देशलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । 'विसं २०८० मा हरेक क्षेत्रमा धेरै प्रश्न उठेका छन्, यस वर्ष उत्तर खोज्ने गरी हामी लाग्नुपर्छ,' उनले भने ।

नेता पौडेलले ८० को दशक निकै चुनौतीपूर्ण दशक रहेकाले यसको समाधानका लागि एकताबद्ध हुन जरुरी रहेको उल्लेख गरे । उनले जलवायु परिवर्तनका कारण वायु प्रदूषणसमेत अत्यधिक बढ्दै गएको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए । 

नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाँले नयाँ वर्षसँगै कांग्रेसलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे । उनले कांग्रेसले मात्र देशलाई स्थायित्व दिनसक्ने भएकाले कांग्रेसलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिए । 

काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क) का सभापति एवं काठमाडौँ महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष ख्यामराज तिवारीले पार्टीभित्र देखिएको गुट उपगुटको अन्त्य गर्दै पार्टीलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । कार्यक्रममा काठमाडौँ क्षेत्र नं ६ प्रदेश (क)का कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


Author

थप समाचार
x