दल

सरकारको दाबी गर्न नाउपाका लक्ष्मण किशोर प्रदेश प्रमुख कार्यालय पुगे

इकागज |
बैशाख २, २०८१ आइतबार १५:१२ बजे

धनगढी- सुदूरपश्चिम प्रदेशमा सरकार दाबी गर्न नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मण किशोर चौधरी कांग्रेस र एकीकृत समाजवादीका सांसदसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।  

आज सरकार दाबी गर्न प्रदेश प्रमुखले तोकेको अन्तिम दिन हो । आइतबार प्रदेशको ठूलो दल नेपाली कांग्रेससहितका तीन दलबीच नयाँ सहमति बनेको थियो ।


प्रदेश सरकार निर्माणको लागि कांग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) को रेशम चौधरी पक्षबीच नयाँ समझदारी बनेको हो । कांग्रेस र एकीकृत समाजवादी नाउपाका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउन सहमत भएको थियो ।

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपाका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहका बीच सहमति भएको हो । 

सुदूरपश्चिममा कांग्रेसका १८, एकीकृत समाजवादीका चार र र नाउपाको रेशम चौधरी पक्षका चार सांसद छन् । यो सहमतिपछि सुदूरपश्चिममा बहुमतका लागि आवश्यक २६ मत पुग्ने भएको छ । 

यद्यपि केन्द्रको नयाँ समीकरणका दलहरूबीच नाउपालाई मुख्यमन्त्री दिने सहमति आइतबार बिहान थियो । नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले नयाँ एमाले र माओवादीसहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्ने तयारी भएका बेला नाउपाको रेशम पक्षले कांग्रेससँग नयाँ सहमति गरेको हो ।

५३ सदस्यीय सुदूरपश्चिममा हाल ५१ जना सदस्य कायम रहेका छन् । सुदूरपश्चिमका एक सांसदको निधन भएको छ भने नाउपाले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरेपछि ५१ सदस्य रहेका छन् । यस अवस्थामा सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ ।


Author

थप समाचार
x