दल

‍ती महरा, यी महरा : शक्तिको सञ्‍जालदेखि तस्करीको जञ्‍जालसम्म

जीवन कुँवर |
चैत ५, २०८० सोमबार १९:१ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको राजनीतिक जीवन साढे चार दशक नाघ्‍यो । ६५ वर्षीय महराको चार दशक लामो राजनीतिक जीवन प्राय: शक्तिकै वरिपरि नै बित्यो । माओवादीमा सबैभन्दा बढी लाभको पद लिनेमा महरा अग्रपङ्क्तिमा आउँछन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि अन्तरिम सरकारमा पहिलो पटक सूचना तथा सञ्चार मन्त्री महरा बनेका थिए । माओवादी महराकै नेतृत्वमा सरकारमा गएको थियो । २०६३ सालदेखि हालसम्म महरा मन्त्री र सभामुख गरी ६ पटक उच्च पदमा पुगिसकेका छन् ।


महरा पहिलोपटक २०६३ साल चैतमा मन्त्री बने । उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा सूचना तथा सञ्चारमन्त्री बनेका थिए । त्यसपछि २०६४ सालमा संविधानसभाको चुनाव भयो, उनी दाङबाट निर्वाचित भए । माओवादी पहिलो शक्तिको रूपमा उदायो । सरकारको नेतृत्व माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले लिए, उक्त सरकारमा पनि २०६५ सालमा महरा सूचना तथा सञ्चारमन्त्री बनेका थिए ।

त्यस्तै २०६७ सालमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनेका महरा २०७३ सालमा पनि उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बने । त्यसैगरी महरा २०७४ सालमा उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनेका थिए । २०७४ सालमा भने माओवादीले महरालाई सभामुखमा उठायो र निर्वाचित पनि भए । माओवादी जतिपटक सरकारमा गयो महरा त्यति नै पटक मन्त्री भइरहे । जब महरा सभामुख भए त्यसपछि उनको ओरालो यात्रा सुरु भयो । शक्तिको सञ्‍जालबाट महरा विभिन्‍न प्रकरणको जञ्जालसम्म फसे । महरा संसदीय राजनीतिमा पनि प्रचण्ड नेतृत्वकै नेकपा (मशाल) बाट आए । अहिले उनलाई सुन प्रकरणमा पक्राउ पर्दा पनि प्रचण्ड नेतृत्वकै सरकार छ । 

महराको विवादित श्रृंखला
महरा जति विवादित भए माओवादी शान्ति प्रक्रियामा आएपछि भए । उनको व्यक्तित्व शालीन छ । माओवादी जनयुद्धमा पनि उनी इमान्दार नेताको रूपमा चिनिन्थे । कोइराला नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका उनलाई पहिलो पटक माओवादी लडाकू व्यवस्थापनका लागि शिविर निर्माण र उनीहरूको व्यवस्थापनका नाममा राज्यकोषबाट करिब ४० करोड रुपैयाँ पेस्की फर्छ्योट नभएको भन्दै महालेखा परीक्षक कार्यालयले प्रश्‍न उठाएको थियो । महराको जीवनमा यो नै पहिलो आरोप हो । तर, तत्कालीन माओवादी नेता तथा हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सरकारले शिविर व्यवस्थापनको सबै खर्च अनुमोदन गरेको थियो । त्यसपछि उक्त घटना सेलायो ।

त्यसो त महरा गृहमन्त्री बनेका बेला आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन गर्न सांसद खरिद गर्नुपर्ने भन्दै २०६७ सालमा ५० करोड रुपैयाँ चिनियाँसँग डिल गरेको अडियो सार्वजनिक भएको थियो । त्यसमाथि महरा सञ्‍चारमन्त्री भएकै बेला टेलिकमको फ्रिक्वेन्सी सस्तो मूल्यमा निजी कम्पनीहरूलाई दिएको आरोप त छँदै थियो ।

शक्तिशाली महरालाई कसले छुन सक्‍ने । आरोपैआरोपमा घेरिँदा पनि महरालाई छानबिन गर्ने आँट कसैले गरेनन् । किनकि त्यतिबेला माओवादी अध्यक्ष प्रचण्डका विश्वास पात्र थिए महरा । त्यसो त राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरमा सुमधुर सम्बन्ध राख्‍न महराले सक्‍ने माओवादीभित्र चर्चा हुन्थ्यो । 

आर्थिक कारण महराको राजनीतिक ढलमल भएन । तर, सभामुख हुँदा लागेको यौन दुर्व्यवहारको आरोपले भने उनको राजनीतिक जीवन लगभग सकियो । २०७६ सालमा महरामाथि संघीय संसद् सचिवालयकै कर्मचारीले यौन दुर्व्यवहार गरेको आरोप लगाइन् । तर, आरोपितले पटकपटक बयान फेर्दा महरा पक्राउ परे पनि जिल्ला अदालतबाट सफाइ पाए । पछि उच्च अदालत पाटनले पनि जिल्ला अदालतको निर्णयलाई सदर गर्‍यो ।

अदालतले सफाइ दिए पनि महराको राजनीतिक जीवन भने ध्वस्त नै भयो । त्यसपछि उनी पार्टी राजनीतिमा खुम्चिए । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन लागे तर आफू उम्मेदवार बनेनन् । त्यसपछि माओवादीले महरालाई गत वर्ष भएको ८औँ महाधिवेशनबाट उपाध्यक्ष बनायो भने र केही समय पार्टीको प्रवक्ताको जिम्मेवारी पनि दियो ।

शान्ति प्रक्रियामा आएपछि माओवादीभित्र अन्तरसंघर्ष चुलिन थाल्यो । तत्कालीन माओवादीभित्र प्रचण्ड एकातिर, मोहन वैद्य किरण अर्कोतिर, डाक्टर बाबुराम भट्टराई, नेत्रविक्रम चन्द 'विप्लव', पम्फा भुसालहरू अर्कोतिर थिए । 

तत्कालीन धोविघाट बैठक माओवादीभित्र चर्चित बैठक हो । जहाँ प्रचण्डलाई एक्ल्याउन सबै एकजुट थिए । सबै गुटहरू मिलेर प्रचण्डविरुद्ध मोर्चाबन्दी गर्ने बैठक थियो । जहाँ कृष्णबहादुर महरा निर्णायक भूमिकामा थिए । महराले पनि साथ दिनेमा ढुक्क थिए । तर, लगत्तै खरीपाटीको एउटा बैठकमा गएर बोल्दा महराले प्रचण्डको समर्थनमा आफ्नो धारणा राखे । त्यसपछि प्रचण्डविरुद्धको मोर्चाबन्दी तुहिएको थियो । त्यसपछि प्रचण्डको सारथी बनेका महरा निरन्तर सत्तामा भइरहे ।

महराले माओवादीमा गरेका योगदान, माओवादीले महरालाई गरेको योगदान
महराको सुरुको पेसा शिक्षक हो । २०३६ सालदेखि २०४८ सालसम्म विज्ञान र गणित शिक्षक थिए । महरा २०३५-२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय भए । २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि बनेका उनी २०३९ देखि २०४१ सम्म विद्यार्थी संगठन अनेरास्ववियुको ८औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यसम्म बनेका थिए ।

शिक्षण पेसा त्यागेर राजनीतिमा होमिएका महरा तत्कालीन नेकपा (मशाल) का रोल्पा सेक्रेटरी बनेका थिए । २०४८ सालको पहिलो आमनिर्वाचनमा रोल्पाबाट चुनाव जितेका थिए । त्यतिबेला नेकपा (मशाल) को नेतृत्व  प्रचण्डले नै गरेका थिए । त्यसपछि महरा संसदीय दलको नेता बनेका थिए ।

माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गरेपछि उनी पनि होमिए र पश्चिमाञ्चल क्षेत्रीय ब्यूरो सदस्य बनेका थिए । जनयुद्ध सुरु भएको एक वर्षपछि अर्थात २०५३ सालमा महरा केन्द्रीय सदस्य बने । त्यसको दुई वर्षपछि लगत्तै महरा पोलिटब्युरो सदस्य बनेका थिए ।

महराले राजनीति जीवनमा पनि पार्टीमा छिट्टै नै पद पाएका थिए । त्यसो त उनले पार्टीमा काम नगरी पद मात्रै पाएका भने होइनन् । जनयुद्धमा तत्कालीन माओवादी र सरकारबीच हुने पहिलो वार्ता टोली संयोजक नै महरा थिए । मर्ने र बाँच्‍ने टुंगो नहुँदा पनि २०५८ सालमा वार्ता टोलीको संयोजक बनेका थिए । त्यस्तै २०६० सालमा पनि सरकारसँगको दोस्रो वार्ता टोली सदस्य र २०६३ सालमा सरकारसँग वार्ताका लागि गठित तेस्रो वार्ता टोलीको उनी संयोजक थिए ।

त्यस्तै महरा २०६१ सालमा तत्कालीन माओवादीको प्रवक्ता बनेका थिए । त्यसको एक वर्षपछि महरा २०६२ सालमा माओवादीको स्थायी कमिटी सदस्य बने । त्यही वर्ष नै माओवादीको सचिवालय सदस्य महरा बनेका थिए । महराले पार्टी राजनीतिमा छिट्टै फड्को मारेको मात्रै चर्चा हुँदैन । माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेलेको पनि चर्चा हुने गर्छ । हाल महरा माओवादीको उपाध्यक्ष छन् ।

पछिल्लो समय महरा विभिन्‍न प्रकरणहरूमा मुछिँदै आएका छन् । उनीमाथिको पछिल्लो आरोप सुन प्रकरणसँग जोडिएको छ । गत १३ भदौ विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा चिनियाँ व्यापारी दावा छिरिङसँग महराको टेलिफोन सम्पर्क भएको आरोप छ । उक्त आरोपमा महराका छोरा राहुललाई प्रहरीले भने यसअघि नै पक्राउ गरिसकेको छ । उनीमाथि छानबिन भइरहेको छ ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोग गठन गरेपछि आयोगले महरासँग पनि बयान लियो । आयोगले केही दिनअघि गृहमन्त्री रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमा महरालाई समेत मुद्दा चलाउन सिफारिस गरेको थियो । गृहमन्त्री लामिछानेले उक्त प्रतिवेदन प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थिए ।






 


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x