दल

कांग्रेस महासमिति बैठक : आज देउवा, खड्‌का र थापाले जवाफ दिने

इकागज |
फागुन १०, २०८० बिहीबार ६:२९ बजे

काठमाडौँ- नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।

गत सोमबारदेखि सुरू भएको महासमिति बैठकमा गत मंगलबार प्रस्तुत गरिएका पाँच वटा प्रतिवेदनमाथि हिजो समुहगत छलफल सकिएपछि आज सभापति शेरबहादुर देउवासहितले जवाफ दिनेछन् ।


गोदावरी, ललिलपुरमा जारी महासमिति बैठक सभापति देउवाको जवाफसहित आजै सम्पन्न हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । उनका अनुसार हिजाको समुहगत छलफल पछि तीन ठाउँबाट सुझाव संकलन गरिएको थियो ।

जसअनुसार गोदावरी हलमा ११० जना, विशंखुनारायण हलमा ९५ जना र अर्को थप हलमा ९० जना सदस्यहरूले सुझाव दिएका छन् । सो सुझावको आज सभापति देउवा, उपसभापति पुर्णबहादुर खड्‌का र महामन्त्री गगन थापालगायतले जवाफ दिने कार्यक्रम रहेको छ ।

महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको थियो । जसअनुसार उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका थिए भने महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयीक राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

पार्टी प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले पेश गरेको लेखा परीक्षण प्रतिवेदन पेश गरे पछि विभिन्न समुह बनाइ छलफल गरिएको थियो ।

हरेक सदस्यलाई ५ मिनेट समयमा धारणा राख्न दिइएको थियो । जसको जवाफ दिएर महासमिति बैठक समापन गरिने भएको छ ।


Author

थप समाचार
x