दल

कोशीका पहिचानवादीलाई शेखरको आड

इकागज |
माघ ८, २०८० सोमबार १६:२९ बजे

काठमाडौँ- आइतबार कोशी प्रदेशको नामकरणमा असन्तुष्ट पहिचानवादीहरूले नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालालाई भेटे । उनीहरूले विराटनगरस्थित कोइराला निवासमा ‘कोशी प्रदेश’ नामकरणमा असन्तुष्टि जनाउँदै भेट गरेका हुन् ।

कोइरालासँगको भेटमा प्रदेश नामकरणमा असन्तुष्ट पहिचानवादी आन्दोलनका शीर्ष नेताहरू सहभागी थिए । कुमार लिङ्देन, रामभक्त कुरुम्बाङ्, डकेन्द्रसिंह लिम्बू, अर्जुन जम्नेली राई, तिलकप्रसाद राई, विष्णु थाम्देन सहभागी थिए । 


प्रदेशसभाले गत फागुन १७ गते दुई तिहाइ बहुमतले नाम कोशी राख्ने प्रस्ताव पारित गरेको थियो । कोशी प्रदेशको नामाकरण पहिचानवादी पक्षधर निरन्तर आन्दोलनमा छन् ।  

प्रस्तावमा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र प्रतिपक्षी नेपाली कांग्रेसका सहित ८२ जना प्रदेशसभा सदस्यले सहमति जनाएका थिए ।

नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने कोशी प्रदेशको पक्षमा मत दिएका थिएनन् । दुई दलले 'किराँत–खम्बुवान–सगरमाथा' नाम प्रस्ताव गरेका थिए।

प्रदेशको नाम कोशी घोषणा भएपछि असन्तुष्ट पहिचान पक्षधर भनेर चिनिने विभिन्न जातीय सङ्गठन र क्षेत्रीय दलहरूले शान्तिपूर्ण सडक आन्दोलन सुरु गरेका थिए ।

त्यस क्रममा उक्त प्रदेशको राजधानी विराटनगरमा गत चैत ५ गते सुरक्षाकर्मीसँगको झडपमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा गत चैत १० गते मृत्युसमेत भएको थियो ।

पछिल्लो समय भने कोशी प्रदेशमा पहिचानवादी पक्षधरले आन्दोलनको स्वरूप फेरेका छन् । प्रदेशको राजधानी केन्द्रित आन्दोलन अहिले जिल्ला तथा विभिन्न राजनीतिक दलले गरेको स्थानमा सुरुवात भएको छ ।

राजनीतिक दलको कार्यक्रम र नेतालाई कार्यक्रममा पुग्न नदिन अवरोध गर्न थालेका छन् । ठूला राजनीतिक दलको कार्यक्रममा पुगेर विज्ञप्‍तिसमेत बुझाउने गरेका छन् ।

त्यसैगरी पहिचानवादी पक्षधरका नेताहरूले सामूहिक रुपमा कोइरालालाई भेटेका छन् । अहिले कोशी प्रदेशमा कोइराला निकट मुख्यमन्त्री केदार कार्की छन् ।

प्रदेशको नामाकरण परिवर्तन गर्नुपरेमा प्रदेश सभाबाट बहुमतले पारित हुनुपर्छ । कोशी प्रदेशको नाम पनि प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश नामाकरणको समयमा नेकपा एमालेका मुख्यमन्त्री हिक्मत कार्की थिए ।

पछिल्लो समय कोइराला गृह जिल्ला पुग्दा पहिचान पक्षधरको विषयमा खुलेर बोल्ने गरेका छन् । केही दिनअघि मोरङको सुन्दरहरैचा नगरपालिकामा र पाँचथरममा  आयोजित कार्यक्रममा कोइरालाले पहिचानको विषयमा कुरा उठाएका थिए ।

कोइराला पहिचान, प्रतिनिधित्व र पहुँचको विषयमा सधैँ अडिग रहने गरेका छन् । व्यवहारिक र समावेशी नभएसम्म आन्दोलन व्यवहारिक नहुने कोइरालाले बताउँदै आएका छन् ।

मधेसमा पहिचानको आन्दोलन चल्दा पनि कोइरालाले प्रतिनिधित्व र पहुँचको लडाई रहेको उनले बताउने गरेका थिए । नयाँ संविधान जारी भएदेखि उनी समावेशीको पक्षमा छन् । 

कोइरालाले पहिचान पक्षधरसँगको भेटघाटमा पनि उनले नेपाली कांग्रेसको स्पष्ट धारणा पहिचान र प्रतिनिधित्त्वको पक्षमा रहेको बताएका थिए । पहिचान पक्षधरको आन्दोलन सँगसँगै रहेको उनले बताएका थिए ।

कोशी प्रदेशमा पहिचानवादीको मुद्दालाई लिएर पनि कुरा भइरहेको छ । कोइरालाले राष्ट्रिय सभाको निर्वाचन पछि पहिचान पक्षधरको मुद्दा प्रदेशसभामा उठाउने गरि छलफल चलाइरहेको उनी निकट एक नेताले बताए ।

 


Author

थप समाचार
x