दल

रास्वपामाथि अन्य दलहरूले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने

इकागज |
जेठ २७, २०८० शनिबार १४:५२ बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ मा सबैखाले चुनावमा विजयी हासिल गर्ने अवस्था देखिएपछि पार्टीविरुद्ध बाधा पुर्याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।​ शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आराेप लगाएका हुन् ।

उनले रास्वपाको बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि विभिन्न ठाउँबाट अन्य दलहरूले घेराबन्दी गरिरहेको जिकिर गरे । उनले दलहरूको घेराबन्दीबाट आफ्नो पार्टी नडराउने पनि प्रष्ट पारे ।


तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यस बेला संसदमा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको उनको ठहर छ । सभापति लामिछानेले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए ।

उनले वैवाहिक अंगीकृतका हकमा पनि यस नागरिकता विधेयकले बोलोस् भन्ने चाहे पनि संसदमा नलगि प्रमाणीकरण पठाउनुले सरकारको बाटो स्पष्ट भएको उल्लेख गरे । आफ्नो पार्टीले नेपाली नागरिकले नागरिकता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरु सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको बताए ।

सभापति लामिछानेले आफ्नो पार्टीले राजनीतिक अडानका रूपमा लिएका मुद्दालाई नछोड्ने बताए । उनले २०८४ सालमा एकले अर्कोलाई स्वीकार गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सबै चुनावमा जिताउन पनि आह्वान गरे । उनले सबै ठाउँबाट पार्टीलाई जिताउनका लागि आफ्नो पार्टीले काम थालिसकेको पनि जिकिर गरे ।


Author

थप समाचार
x