दल

प्रचण्डको ‘बोल्ड’ निर्णयले देउवालाई राहत, ओलीलाई छटपटी

विनोद देवकोटा |
चैत १, २०७९ बुधबार १२:५६ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘बोल्ड’ (साहसिक) निर्णय गरेर गठबन्धन फेरेपछि झण्डै दुई महिनामै नेपाली कांग्रेसमा फेरि सत्ता फर्किने वातावरण बनेको छ । राष्ट्रपतिमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुँदै शीतलनिवास प्रवेश गरेपछि कांग्रेस फेरि सत्तासीन भएको हो । यसले सबैभन्दा ठूलो राहत कांग्रेस सभापति शेरबहादुर देउवालाई भएको छ ।

विगतमा पार्टीभित्रै चर्को असन्तुष्टि हुँदाहुँदै पनि माओवादीसँग तालमेल गरेर चुनावमा होमिएपछि देउवाको आलोचना बढेको थियो । पार्टीभित्रको अन्तरघातले गर्दा कांग्रेसले चाहेअनुसार चुनावी सिट जित्न सकेको थिएन भने संस्थापनइतर पक्ष हावी हुँदा देउवाकै केही विश्वासपात्रले चुनाव हार्नुपरेको थियो ।


यस्तो अवस्थामा प्रधानमन्त्रीको लोभ राखेका देउवाकै कारण प्रचण्ड एमालेसँग गठबन्धन गरेर नयाँ प्रधानमन्त्री बन्न बाध्य भएका थिए । यसले कांग्रेसलाई प्रतिपक्षी सिटमा हुत्याउँदा आलोचनाको केन्द्रबिन्दुमा देउवा परेका थिए ।

तर एमालेसँगको गठबन्धन दिगो र आफ्नो सत्तायात्रा खुम्चिने भएपछि प्रचण्ड ‘बोल्ड’ भएर कांग्रेससामु प्रस्तुत भएका थिए । जसकारण कांग्रेसकै नेतृत्वमा पुरानो गठबन्धन ब्युतिँदा राष्ट्रपतिमा रामचन्द्र पौडेलले बाजी मारेका थिए ।

गुमेको सत्ता फर्किएपछि देउवा यतिबेला राहतको सास फेरिरहेका छन् । विस्तारै अब देउवाकै विश्वासपात्र रहेका नेताहरू प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्दैछन् भने सात प्रदेशमा पनि कांग्रेसकै नेतृत्वमा केही प्रदेश सरकार बन्नेछन् ।

यसले देउवाकै शब्दमा ‘वेट एण्ड सी’ र ‘वी विल ब्याक’ अर्थात फेरि सत्तामा फर्किनेछौँ भन्ने बोली पूरा भएको छ । वचनका पक्का मानिने देउवाले रामचन्द्र पौडेललाई नै उम्मेदवार बनाएर राष्ट्रपतिमा निर्वाचित पनि गराएँ । भलै यसको सिधा श्रेय प्रचण्डलाई जान्छ ।

कट्टर कांग्रेसी र कडा कम्युनिस्ट मानिने माओवादीबीचको पुनर्मिलनले अझै पाँच वर्षको सत्ता सहयात्रामा देउवाको हालीमुहाली हुने निश्चित भएको छ । देउवा प्रतिपक्षी बेञ्चबाट सत्तामा उक्लिँदा एमाले अध्यक्ष केपी शर्मा ओलीमा भने छटपटी बढेको छ ।

जुन छटपटी हिजोआज सार्वजनिक कार्यक्रममा गर्ने उनका भाषणमा पनि देखिन्छ । प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई हिंसावादी भनिरहेका ओली सर्वोच्चले पक्राउ गरेर जेल हाल्नुपर्ने मनशाय पनि व्यक्त गरिरहेका छन् ।

यद्यपि सर्वोच्चले प्रचण्डविरुद्ध दायर भएको रिटमाथिको सुनुवाइलाई ‘हेर्दाहेर्दै’ राखेर केही समयका लागि राहत दिएको छ । प्रचण्ड र देउवालाई नयाँ गठबन्धनले ठूलो राहत दिएका बेला ओलीमा छटपटी हुनु स्वाभाविक छ ।

तर दुई शीर्षस्थ नेताहरूको सत्तायात्रा लम्बिँदा आम नागरिकमा भने परिवर्तन र सार्वजनिक प्रशासन सहजताभन्दा बढी गोलमोटल बनेकोप्रति दुखेसो छ । जसलाई अझै पनि प्रचण्ड र देउवालो हल्का रूपमा लिइरहेका छन् ।

जनताको असन्तुष्टि सम्बोधन गर्न तम्तयार हुनुपर्ने आवाज कांग्रेस महामन्त्री गगन थापा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट उठे पनि प्रचण्ड र देउवा अझै जिम्मेवार हुन सकेका छैनन् । 

यसर्थ तत्काललाई देउवा र प्रचण्डलाई राहत भए पनि ओलीको छटपटी जनताको निराशाको प्रतिनिधित्व मात्रै होइन, नागरिकमा बढ्दै गएको आक्रोश सत्ता संकट फेरि निम्तिन सक्ने चेतावनी संकेत पनि हो ।

त्यसकारण देउवाले धेरै असफलता र ठूला–ठूला राजनीतिक घटनाक्रममा जिम्मेवार नेताका रुपमा परिचित हुँदाहुँदै पनि फिर्ता भएको सत्तायात्रामा केही उपलब्धीमूलक काम गर्न आवश्यक छ । जसले प्रधानमन्त्रीको कुर्सीमा बसेका प्रचण्डलाई पनि लोकप्रिय बनाउन सहयोग गर्छ भने कांग्रेस सत्तायात्रा झन् प्रभावकारी बनाउँदा देउवालाई पनि बुढेसकालमा जनताको समर्थन रहनेछ ।

अन्यथा सत्तायात्रा र प्रतिपक्ष यात्रा देउवाकै लागि संकटकालीन साथी मात्रै बन्न सक्छ । 
 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x