दल

ओली अहंकारले एमालेलाई झन् क्षति

विनोद देवकोटा |
फागुन १५, २०७९ सोमबार १६:३१ बजे

काठमाडौँ- नाटकीय रुपमा सत्तामा उक्लिएको नेकपा एमाले फेरि ‘नौटंकी’ व्यहोर्दै प्रतिपक्षीमा खुम्चिने निश्चित बनेको छ । राष्ट्रपति चुनावको लागि उम्मेदवारी दर्ताकै दिन माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ दलीय पुरानो गठबन्धन ब्युँतिएपछि एमाले प्रतिपक्षमा खुम्चिने निश्चित भएको हो ।

संसदीय चुनावपछि कांग्रेस सभापति तथा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई झुक्याउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमाले नाटकीय रुपमा सत्तामा पुगेको थियो ।


त्यतिबेला ओलीले देउवालाई, देउवाले प्रचण्डलाई झुक्याउँदा माओवादी नेतृत्वमा नयाँ सरकार बनेको थियो । पुरानो गठबन्धन कायम राख्न प्रचण्डले प्रधानमन्त्री बन्नैपर्ने हठ राखेपछि कांग्रेस रातारात प्रतिपक्षमा पुग्दा एमाले सत्तामा पुगेको थियो ।

तर दुई महिनामै दुईपटक संसद् विघटन गरेको एमाले नेतृत्वसँग प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड खुशी रहन नसकेपछि कांग्रेस नेतृत्वको गठबन्धन फेरि ब्युँतिएको हो । सोही अनुसार राष्ट्रपतिमा कांग्रेस उम्मेद्वार रामचन्द्र पौडेल जित्ने पक्कापक्कीजस्तै छ ।

यस किसिमको राजनीतिक उतारचढाव आउनुका पछाडि ओलीको अंहकार जिम्मेवार रहेको माओवादी नेताहरु बताउँछन् । प्रधानमन्त्री प्रचण्डकै शब्दमा ओलीले सत्ता सहकार्यमा अहंकार देखाउँदै अपमान महसुस हुने गतिविधि गरेको आरोप छ ।

प्रचण्डलाई जसरी पनि प्रधानमन्त्री बन्नुपर्ने कारण माओवादी र एमाले गठबन्धन सम्भव भएको थियो । तर त्यो केवल प्रचण्डको उपयोग मात्रै थियो । कांग्रेसले गठबन्धन फर्काउन हर कोसिस र प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि एमाले फेरि प्रतिपक्षी कुर्सीमा बस्नुपर्ने बाध्यता निर्माण भएको हो ।

प्रचण्डकै नेतृत्वमा नयाँ आठ दलीय गठबन्धन बन्दा कांग्रेस सत्तामा उक्लिनेछ । कांग्रेससँगै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जसपा लगायतका दलहरु पनि सत्तामा जाने सम्भावना छ ।

कांग्रेस नेतृत्वले राष्ट्रपतिसहित सरकारमा मन्त्रीहरुको भागबण्डा पाउँदा एमाले केवल सभामुखमा चित्त बुझाउनुपर्ने अवस्थामा पुगेको छ । सुरुमा प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा सभामुख र राष्ट्रपति एमालेले पाउने सहमति बनेको थियो । तर प्रचण्ड सहमतिमा इमान्दार नबन्दा कांग्रेसको राष्ट्रपति बन्ने पक्कापक्की छ ।

यसका लागि माओवादीले निर्णय नै गरिसकेको छ । त्यसबाट एमाले आक्रोशित छ भने प्रचण्ड ‘धोकेबाज’ भएको टिप्पणी गरिरहेको छ । यसले नेपाली राजनीतिमा एकले अर्कोलाई आवश्यकताअनुसार उपयोग गर्ने र सत्ता भोग मात्रै गर्ने प्रवृत्ति हावी रहेको वास्तविकता देखाइरहेको छ ।

दुई महिनाअघि सत्ता र प्रधानमन्त्रीको कुर्सीका लागि रातारात गठबन्धन बन्दा आजित भएका नेपाली फेरि एकपटक सत्ताका लागि नेताहरुको फेरबदल हुँदा त्यसरी नै आजित भएका छन् ।

देशमा अस्थिरताको बीउ रोपिएको भन्दै आम नागरिकमा नैराश्यता छाएको छ । जनताका मुद्दा सम्बोधन गर्नेभन्दा केवल सत्ताभोगका लागि नेताहरुले एक अर्कोलाई उपयोग गर्ने प्रवृत्ति बढ्दा आम नागरिकमा चिन्ता बढेको छ । नेताहरु व्यक्तिकेन्द्रित सत्ता सञ्चालन गर्दा देशको विधि र पद्धति मासिदै गएको नागरिक चिन्तित छन् ।

जबसम्म सत्ता केन्द्रित नेताहरुको सोच जनता र नैतिकतामुखी बन्दैन्, तबसम्म देश विकासको बाटोमा नभई केवल नेताहरुको स्वार्थमा मात्रै सञ्चालित हुने आम सर्वसाधारणको निचोड छ ।

यसले देशभित्र र बाहिर रहेका नागरिकमा खराब सन्देश गएको छ भने देश विदेशी निकायलाई पनि गलत सन्देश प्रवाह भएको छ । देशमा राजनीतिक अस्थिरता बढ्दा विकासको गति र सूचक भने ओरालो लाग्दो छ ।

यसले भविष्यमा स्थिर सरकार र सभ्य समाज तथा गतिशिल सुशासन कायम रहनेमा शंका छ । जसको सुरुवात एमालेकै नेतृत्वमा रहेको सरकारले दुईपटक संसद् विघटन गर्दा उत्कर्षमा पुगेको थियो । जसको निरन्तरता अहिले फेरि देखिएको छ ।

यसले पार्टीगत रुपमा एमालेलाई क्षति भएपनि समग्रमा देशलाई भने नेताको स्वार्थमुखी प्रवृत्तिको ऐना देखाएको छ ।


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x